१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७७ बैशाख २८ आइतबार १०:२८:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना भाइरस : अमेरिकी तरिका अराजक भएको भन्दै ओबामाद्वारा ट्रम्पको कडा आलोचना 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ बैशाख २८ आइतबार १०:२८:००

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरेका छन् । 

एक निजी कन्फ्रेन्स कलमा कोरोना भाइरस महामारीको नियन्त्रण सम्बन्धमा ट्रम्पले लागू गरेका नीति तथा नियमको आलोचना गरेका हुन् । एक अन्तर्वार्ताका क्रममा उनले अमेरिकाले यस महामारीको सामना गरिरहेको तरिका पूर्ण रूपमा ‘अराजक–आपत्तिजनक’ भनेका छन् ।

ओबामाले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लाइनविरुद्धको आपराधिक आरोपहरू खारेज गर्ने निर्णयको पनि कडा आलोचना गरे । 

ह्वाइटहाउसले पूर्वराष्ट्रपति ओबामाको भनाइलाई लक्षित गर्दै ट्रम्पको ‘अभूतपूर्व कार्यले’ अमेरिकीहरूको जीवन बचाएको प्रतिक्रिया दिएको छ । 

पूर्वराष्ट्रपति ओबामा नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्रयाटिक पार्टीका जो बाइडेनकाे समर्थनमा ठूलो भूमिका खेल्न चाहन्छन् । उनले आफ्ना पूर्वकर्मचारीलाई पनि बाइडेनलाई समर्थन गर्न भनेको सिएनएनले जनाएको छ । 

अमेरिकामा हालसम्म ७७ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने १२ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

मार्चदेखि लकडाउन गरेका धेरै राज्यले बिस्तारै प्रतिबन्धहरू हटाएर मानिसलाई काममा फर्किन अनुमति दिएका छन् । तर, स्वास्थ्य अधिकारीहरूले भाइरसको जोखिम कम नभइसकेकाले अझै पनि सतर्कता अपनाउन आवश्यक रहेको भन्दै चेतावनी दिएका छन् । 

ट्रम्पले कोरोना भाइरसको महामारीलाई मध्य मार्चदेखि मात्रै गम्भीरतापूर्वक लिएर काम अगाडि बढाएका थिए । त्यसअगाडि पटकपटक दिइएको चेतावनीलाई बेवास्ता गर्दै भाइरसको प्रकोप नबढ्ने जनाएका थिए । 

गत साता ह्वाइटहाउसको कोरोना भाइरस रोकथामसम्बन्धी टास्क फोर्स खारेज गर्ने निर्णय गरेका थिए, तर पछि अर्थतन्त्र खोल्नेतर्फ केन्द्रित रहने र टास्क फोर्स जारी रहने बताए ।