मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
लक्ष्मी विश्व
नवीन प्यासी काठमाडाैं
२०७७ बैशाख २८ आइतबार ०६:२०:००
Read Time : > 2 मिनेट
पालिका अपडेट

कोभिड–१९ विरुद्ध फ्रन्टलाइनका योद्धा : अमेरिकाका प्रेरणादायी महिलाको सूचीमा नेपाली मूलकी भुटानी नर्स

Read Time : > 2 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ बैशाख २८ आइतबार ०६:२०:००

अमेरिकाको कान्सासस्थित एडभेन्ट हेल्थ हस्पिटलको क्रिटिकल केयर युनिटमा कोभिड–१९ का बिरामीको हेरचाह गरिरहेकी नेपाली मुलकी भुटानी नर्स लक्ष्मी विश्वलाई फोनबाट भनियो, ‘तपाईं फ्रन्टलाइनमा काम गरिरहेका साहसी महिलाहरूको शीर्ष चारमा पर्नुभएको छ, बलिउड अभिनेत्री प्रियंका चोपडासँग अन्तर्वार्ताका लागि तयार रहनुहोला ।’ सुरुमा त उनी छक्क परिन् । उनी प्रियंकाकी फ्यान पनि हुन् । उनैसँग अन्तर्वार्ताका लागि आएको कल लक्ष्मीका लागि ‘सप्र्राइज’ थियो । अमेरिकाभरिका ‘चारजना प्रेरणादायी महिला’को सूचीमा पर्नु उनका लागि कम खुसीको कुरा थिएन ।

त्यसपछि मात्र लक्ष्मीले थाहा पाइन्, प्रियंका चोपडासँग सहकार्यमा पेय पदार्थ उत्पादक कम्पनी बनभिवले अभियान चलाएको रहेछ । कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा काम गरिरहेका चिकित्सक, नर्स, महिला प्रहरीमध्ये शीर्ष चारजनासँग प्रियंकाले अन्तर्वार्ता लिने रहिछिन् । उनीहरूलाई प्रोत्साहनस्वरूप जनही पाँच हजार डलर पुरस्कार रहेछ । ‘तर, मैले त यसका लागि आवेदन दिएकी थिइनँ,’ लक्ष्मी भन्छिन् । बहिनी सुनैनाले आफ्नो कथा पठाइदिएको उनले पछि मात्र थाहा पाइन् । उनले पुरस्कारको रकम अभाव र समस्यामा परेका व्यक्तिहरूका लागि हस्तान्तरण गर्ने घोषणा गरेकी छिन् ।

मोरङको पथरीस्थित भुटानी शरणार्थी शिविरबाट पुनर्वासमा अमेरिका पुगेकी लक्ष्मी विश्व कोभिड–१९ विरुद्ध खटिने त्यहाँका चार साहसी र प्रेरणादायी महिलाको सूचीमा परेकी छिन् ।

नर्स भएर कोभिड–१९ विरुद्धको युद्धमा खटिन सक्ने तागत लक्ष्मीलाई कहाँबाट आयो ? यसको जवाफका लागि तीन वर्षपछाडि फर्किनुपर्छ । सन् २०१७ मा कान्सास राज्यभन्दा बाहिर थिइन् लक्ष्मी । उनकी आमा अस्पतालमा अन्तिम सास लिइरहेकी थिइन् । आमालाई भेट्न लक्ष्मीले बिदा मिलाउने अनेक प्रयास गरिन् । तर, छुट्टी पाइरहेकी थिइनन् । त्यसैवेला खबर आयो, ‘आमाले संसार छाडेर जानुभयो ।’

लक्ष्मीलाई अहिले पनि त्यो जीवनकै कालो दिन लाग्छ । भन्छिन्, ‘मैले अन्तिमपटक आमालाई अँगालो हाल्न, अनुहार हेर्न र हात समाउन पाइनँ । मेरो जीवनमा त्यो गुनासो सधैँ रहिरहनेछ ।’ यही कारण अस्पतालभित्र छिरेपछि लक्ष्मीलाई अझै बेडमा आमा छिन्जस्तो लागिरहन्छ । आमाको त्यही न्यास्रो मेटाउन पनि उनलाई अस्पतालमै बढी समय बिताउन मन लाग्छ रे । ‘जब आमालाई सम्झिन्छु, बिरामीको हेरचाह गर्ने जाँगर थपिन्छ,’ उनी भन्छिन् ।

चीनबाट सुरु भएको कोभिड–१९ बाट अमेरिका सबैभन्दा प्रभावित छ । १३ लाख २२ हजार जनाभन्दा बढी संक्रमित छन्, ७८ हजार दुई सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । लक्ष्मीजस्ता नर्स र चिकित्सकहरू बिरामीको उपचारमा दिनरात सक्रिय छन् । उनी दैनिक १२ घन्टा बिरामीको हेरचाहमा बिताउँछिन् । उनको विभाग नै क्रिटिकल केयर परेको छ अनि कोभिड–१९का जटिल अवस्थाका बिरामीको उपचारमा खटिनु उनको जिम्मेवारी ।

उनी दैनिक १२ घन्टा बिरामीको हेरचाहमा बिताउँछिन् । उनको विभाग नै क्रिटिकल केयर परेको छ अनि कोभिड–१९का जटिल अवस्थाका बिरामीको उपचारमा खटिनु उनको जिम्मेवारी ।

कोभिड–१९ का जटिल प्रकारका बिरामीहरूलाई भेन्टिलेटरमा राखिएको हुन्छ । कतिपय आइसियूमा हुन्छन् । भेन्टिलेटर र आइसियूमा राखिएका बिरामीसम्म आफन्तजनले पुग्न पाउँदैनन् । बिरामीका लागि डाक्टर र नर्स नै सहारा हुन्छन् । अझ, निरन्तर लक्ष्मी नै उनीहरूको सेवामा खटिइरहेकी हुन्छिन् । ‘बिरामीको पीडादेखि अन्तिम पलसम्म पनि साथमा हुने म एकजना मात्र हुँ,’ उनी भन्छिन्, ‘यतिवेला भावनात्मक रूपमा निकै भत्किएकी छु ।’ हो, मृत्युको साक्षी बन्न धेरै गाह्रो हुन्छ, मानिसलाई । उनी मृत्युको साक्षी बनेकी छिन् यतिवेला ।

१२ घन्टाको ड्युटी सकेर उनी घर फिर्छिन् । घरमा तीन वर्षीया छोरी र ७६ वर्षका बुबा छन् । घरको गेटबाट छिर्दै गर्दा उनी कामना गरिरहेकी हुन्छिन्– नानी र बुबालाईचाहिँ मेरो कारणले केही नहोस् । ‘मेरा लागि त यो पेसा र धर्म हो, तर संक्रमण घरमा लिएर आएँ भने के हुन सक्छ भन्न सक्दिनँ,’ लक्ष्मी भन्छिन्, ‘घरमा संक्रमण नआइपुगोस् भनेर सजग छु ।’ महामारीका वेला बिरामीको सेवामा खटिन पाउने अवसर भाग्यले नै जुराइदिएको उनलाई अनुभूति हुन्छ ।

उनी जुन १९९२ मा भुटानको फुन्सोलिङबाट लखेटिएर परिवारसँग मोरङको पथरीस्थित शरणार्थी शिविर आइपुगेकी थिइन् । त्यतिवेला उनी केवल पाँच वर्षकी थिइन् । धेरैपछि मात्र उनले आफूहरू नेपालमा शरणार्थी रहेको थाहा पाइन् ।

मातृभूमिको धमिलो स्मृति बोकेर लक्ष्मीले पथरी शिविरमै स्कुल पढिन्, कलेजको पढाइ सकिन् । शरणार्थी शिविरमा १६ वर्ष कष्ट सहेर सन् २००८ मा परिवारसहित अमेरिका पुनर्वासमा गइन् । चार वर्षअघि मात्र उनले नर्सको पढाइ सकिन् । त्यसयता उनी निरन्तर बिरामीको सेवामा खटिएकी छिन् ।