मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ बैशाख २७ शनिबार १२:३४:००
Read Time : < 1 मिनेट
समाचार

भारतले नेपाली भूमिमा सडक निर्माण गरेकोमा साझा पार्टीको आपत्ति

Read Time : < 1 मिनेट
२०७७ बैशाख २७ शनिबार १२:३४:००

भारतले नेपालीभूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेकोप्रति साझा पार्टीले आपत्ति प्रकट गरेको छ। 

पार्टीका सहप्रवक्ता शरदराज पाठकले शनिबार प्रेस विज्ञप्ति प्रकाशित गरी नेपालीभूमि अतिक्रमण गरी भारतले सडक निर्माण गरेकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। 

‘धेरै ठाउँमा नेपालको सीमा अतिक्रमण गरेको भारतले ६ महिना पहिले नयाँ नक्सा जारी गरी नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो दाबी गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘अहिले थप हस्तक्षेप गर्दै सो सडकमार्ग निर्माण गरेको हो। त्यसको साझा पार्टी कडा भर्त्सना गर्दछ।’

भारत सरकारले अन्तर्राष्ट्रिय कानुनविपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप गरेको भन्दै विज्ञप्तिमा सडक निर्माण कार्यलाई नेपालप्रति भारतले बारम्बार देखाउँदै आएको हेपाहा प्रवृत्तिको अर्को नमुना भएको ठहर गरिएको छ।

साझाले भारतले गरेको सीमा अतिक्रमण र नयाँ नक्सामा नेपालीभूमि समेटिएको विषय सुल्झाउन नेपालको तर्फबाट भारत सरकारसँग परिणाममुखी कूटनीतिक संवाद हुन नसक्नुलाई दुःखद भनेको छ।

‘भारतबाट बारम्बार सीमा अतिक्रमणका घटना हुनुमा हाम्रो ‍कूटनीतिक कमजोरी पनि उत्तिकै जिम्मेवार छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो भूभागमा छिमेकी मुलुकले सडक निर्माण गरेर उद्घाटन गर्दासम्म नेपाल सरकार बेखबर रहेको देखिनु अत्यन्तै विडम्बनापूर्ण स्थिति हो।’

साझा पार्टीले भारतले सबै अतिक्रमित भूमि छोड्नुपर्ने ठहर गरेको छ। ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय उसले जारी गरेको नयाँ नक्सा सच्याउनुपर्छ र नेपाली भूमिमा सडक निर्माण गरेकोमा क्षमायाचना गर्नुपर्छ।’