मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ बैशाख २७ शनिबार १०:३६:००
Read Time : > 2 मिनेट
खेलकुद

विदेशमा  नेपाली खेलाडीको लकडाउन दैनिकी

Read Time : > 2 मिनेट
२०७७ बैशाख २७ शनिबार १०:३६:००

नेपाली फुटबलर रोहित चन्द इन्डोनेसियामा लकडाउन छन् । त्यहाँ लिग खेल्न गएका उनी खेल स्थगित भएको मौकामा स्वदेश आउने योजनामा थिए । नेपाल आउने योजना बनाउँदा–बनाउँदै यता पनि सरकारले कोभिड–१९ को महामारी फैलिन नदिन देशव्यापी लकडाउन घोषणा ग¥यो । नेपालमा आउने सबै अन्तर्राष्ट्रिय उडान बन्द भए । र, उनी उतै रोकिए ।

‘यसपालि धेरै समय परिवारसँग बिताउन पाउँथेँ, एक दशकदेखि यति लामो अवधि परिवारसँग बिताउन पाएको थिइनँ,’ उनी भन्छन्, ‘तर, यसपटक पनि त्यो मौका गुम्यो ।’ उनी इन्डोनेसियाको माथिल्लो लिगमा आबद्ध भएको आठ वर्ष बित्यो । पछिल्लो पाँच वर्षदेखि उनी पर्सिजा क्लबमा आबद्ध छन् । अहिले अपार्टमेन्टबाहिर कमै निस्किन पाउँछन् । ‘यहाँ पनि लकडाउन चलिरहेको छ । जाकार्ताको अपार्टमेन्टमै बसिरहेको छु । अत्यावश्यक सामान किन्न मात्र छोटो समय बाहिर निस्किन्छु,’ उनी आफ्नो दैनिकी बताउँछन्, ‘अरू समय घरमै हुन्छु ।’

फुटबलर रोहित चन्द इन्डोनेसिया, पौडीबाज गौरिका सिंह बेलायतमा तथा तेक्वान्दोकी सबिता राजभण्डारी र गल्फकी प्रतिमा शेर्पा अमेरिकामा लकडाउन दैनिकी बिताइरहेका छन् ।

अर्पाटमेन्टमा एक्लै खाना पकाउने, व्यायाम गर्ने र मुभी हेर्ने दैनिकी छ उनको । ‘एक्लै बस्न गाह्रो छ, तर दैनिक सेड्युल बनाएको छु, त्यही तालिकाअनुसार चलेको छु,’ उनी भन्छन् । व्यावसायिक खेलाडीहरू सधैँ फिट रहनुपर्ने उनको भनाइ छ । विपत्को घडीमा आफूलाई शारीरिक र मानसिक रूपमा फिट राख्नुपर्ने उनले बुझेका छन् ।

यस्तै, नेपालकी एक नम्बर महिला पौडीबाज गौरिका सिंह बाबु–आमासँगै बेलायतमा छिन् । लकडाउनको समयमा आफ्नो फिटनेसमा ध्यान दिइरहेको उनी बताउँछिन् । घरमै शारीरिक व्यायाम गर्छिन् । केही समयअघि नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको भिडियो कन्फरेन्समा पनि उनी सहभागी भइन् । कोभिड–१९ को महामारीले प्रशिक्षणमा भने असर पारेको उनी बताउँछिन् ।

मंसिर ०७६ मा काठमाडौंमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा उनले नेपाललाई पौडीतर्फ ऐतिहासिक चार स्वर्ण पदक दिलाएकी थिइन् । त्यसलगत्तै बेलायत फर्केकी उनले लकडाउन सुरु भएसँगै अनलाइन कक्षा लिँदै आएकी छिन् ।

‘दुःखको घडीमा खेलाडी अझ बलियो हुनुपर्छ । यो समयलाई त्यत्तिकै खेर फाल्नु हुँदैन । नजानेका कुरा अध्ययन गर्दै खेलको स्तर उकास्नेतर्फ केन्द्रित हुनुपर्छ ।’

सन् १९९८ को बैंकक एसियाडमा नेपाललाई तेक्वान्दोबाट रजत पदक दिलाएकी सबिता राजभण्डारी पनि अमेरिकाको वासिङ्टनमा बस्छिन् । अमेरिकामा कोभिड–१९ को महामारी संसारमै सबैभन्दा बढी फैलिएका कारण उनी सतर्क छिन् । ‘सुरक्षित रहने सबै विधि अपनाइरहेकी छु,’ उनी भन्छिन्, ‘काम सकेर घर फर्किनासाथ नुहाउँछु । अनि मात्र बच्चाहरूसँग बस्छु ।’ स्वस्थ रहन उनले बेसार, अदुवा, ज्वानो र जिम्बो उमालेर पिउने गरेकी छिन् ।

नेपालकी नम्बर एक महिला गल्फर प्रतिमा शेर्पा पनि अमेरिकामै छिन् । उनले आफ्नो दैनिकीको एक अंग बनाएकी छिन् डायरी लेखनलाई । दुई महिनाअघिसम्म डायरी लेखनमा रुचि थिएन । ‘यो सबै लकडाउनकै कारणले सिकाएको हो,’ उनी भन्छिन् । बिस्तारै लेख्ने बानी परेको छ, उनलाई । सान्ता बार्बरा सिटी कलेजमा बिबिए दोस्रो वर्षमा अध्ययनरत छिन् शेर्पा ।

क्यालिफोर्नियामा कोरोना भाइरसको संक्रमण घट्दै गए पनि उनी घरबाहिर निस्केकी छैनन् । शरीरलाई फिट राख्न दैनिक एक घन्टा आँगनमै वर्कआउट गर्छिन् । यसबीचमा उनी अमेरिकाबाट प्रकाशित हुने फोर्ब्स म्यागेजिनमा एसियाकै ३० उत्कृष्ट युवा खेलाडीको सूचीमा पनि परिन् । लकडाउनको समयमा सकारात्मक सोचको विकास अत्यावश्यक भएको उनी बताउँछिन् । ‘दुःखको घडीमा हामी खेलाडी अझ बलियो हुनुपर्छ,’ उनी भन्छिन्, ‘यो समयलाई त्यत्तिकै खेर फाल्नु हुँदैन । नजानेका कुरा अध्ययन गर्दै खेलको स्तर उकास्नेतर्फ केन्द्रित हुनुपर्छ ।’