मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल तस्बिर
२०७७ बैशाख २७ शनिबार ०८:४५:००
Read Time : > 1 मिनेट
सेयर बजार

मंगलबारदेखि दैनिक दुई घन्टा सेयर बजार खुल्ने, ब्रोकरको सिफारिसमा लगानीकर्तालाई पास

Read Time : > 1 मिनेट
२०७७ बैशाख २७ शनिबार ०८:४५:००

कोरोना संक्रमणबाट जोगिन लकडाउन गरिएका कारण बन्द भएको सेयर बजार मंगलबारदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले आइतबारदेखि ब्रोकर, सिडिएस, मर्चेन्ट बैंकर, डिपी र नेप्सेलाई नियमित कार्य थाल्न निर्देशन दिएको छ । तर, नेप्सेले भने आइतबार र सोमबार कार्यालय बन्द गर्ने जनाएको छ । दोस्रो बजारको कारोबार मंगलबारदेखि सञ्चालनमा आउनेछ ।

बोर्डले बिहान ११ बजेदेखि १ बजेसम्म कारोबार खुला गर्न नेप्सेलाई निर्देशन दिएको धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले बताए । उनका अनुसार उपत्यकाबाहिरका लगानीकर्ताले ब्रोकर कार्यालय जान सक्ने अवस्था नभए अनलाइनबाट कारोबार गर्नेछन् । उनले भने, ‘लगानीकर्ताले सेयर कारोबार गर्नका लागि बैंकमा खाता, डिम्याट खाता, मेरो सेयर र अनलाइन पहिले नै लिनुपर्ने हो ।’ 

कारोबारमा नेप्से इन्डेक्स २ प्रतिशत र सेयर मूल्यमा ३ प्रतिशत थपघट भएमा सर्किट लाग्ने व्यवस्था गरेको छ । त्यस्तै, धितोपत्र बिक्रीको भुक्तानी अनिवार्य आइपिएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने तथा खरिदमा हाललाई प्रोत्साहित गर्न आगामी साउनदेखि अनिवार्य विद्युतीय माध्यमबाट गर्नुपर्ने व्यवस्था गरेको छ ।

लगानीकर्ताले मेरो सेयर खाता खोली अनिवार्य इडिआइएसमार्फत सेयर राफसाफ गर्ने व्यवस्था बोर्डले गरेको छ । २०७७ असार मसान्तसम्म मेरो सेयरको नयाँ खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने र सम्पूर्ण निक्षेप सदस्यको केन्द्रीय कार्यालयमार्फत राफसाफको व्यवस्था मिलाउने बोर्डले जनाएको छ । बोर्डले २०७७ असार मसान्तसम्म अनलाइनबाट कारोबार गर्ने लगानीकर्तासँग पासवर्ड र युजर आइडीको शुल्क नलिने व्यवस्था गरेको छ । नेपाल सरकारको निर्णयअनुसार कुल कर्मचारीको एकतिहाइ कर्मचारीबाट आलोपालो गरी ब्रोकर कार्यालय सञ्चालन हुने बोर्डले जनाएको छ ।  

नीति तथा कार्यक्रमका लागि बोर्डद्वारा सुझाब माग
नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष ०७७÷७८ को नीति तथा कार्यक्रम बनाउन सरोकारवालासँग सुझाब मागेको छ । बोर्डले धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमको मस्यौदा बनाउने कार्य भइरहेको जानकारी गराउँदै सुझाब माग गरेको हो । प्राप्त सुझाबलाई नीति तथा कार्यक्रममा पेस गर्नेछ ।