मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख २६ शुक्रबार ०८:४६:००
Read Time : > 1 मिनेट
सम्पादकीय

प्रधानमन्त्रीको आह्वान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ बैशाख २६ शुक्रबार ०८:४६:००

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धजयन्तीको साँझ कोरोनाविरुद्धको संघर्षमा ऐक्यबद्धता जनाउन भन्दै देशवासीलाई दीप जलाउन अनुरोध गरे । अर्थात् यो महामारी र दुःखका समयमा मानिसहरू आआफ्ना घर–सँघारमा दीप प्रज्ज्वलन गरून् र भविष्यप्रति अशावादी बनून् । उनको आह्वानलाई कतिले स्वीकार गरे, कतिले गरेनन्, त्यसको हिसाब राख्नु स्वयं प्रधानमन्त्रीको चासोको विषय हो । बत्ती बाल्नेहरूले कतिले प्रधानमन्त्रीको आह्वानप्रति सकारात्मक भाव राखेर बाले, कतिले शक्तिप्रतिको भक्तिका लागि अरूलाई देखाउन प्रदर्शनका उद्देश्यले गरे, त्यो पनि फरक विषय होला । तर, प्रधानमन्त्रीले जुन आह्वान गरे, त्यसमा एउटा गजबको असंगति देखापर्छ । सिद्धार्थ गौतमका सन्देशले कमसेकम राज्यका तहमा अहिलेसम्म कसैलाई मार्गदर्शन गरेको छैन । सम्राट् अशोकपछिका कुनै पनि शासक बाहिर देखाउन त बुद्धदर्शन अपनाउँथे । तर, व्यवहारमा चाहिँ शासनका सबै बेथितिका अनुपालक नै हुन्थे । हिजैको चर्चा गरौँ, नेपालमा राज्यका प्रमुख र सरकार प्रमुखसहित मुख्य नेताहरूले बुद्धदर्शनको गीत गाइरहँदा त्योभन्दा चर्को र प्रभावशाली स्वरमा भारतीय प्रधानमन्त्री मोदी बुद्धदर्शनको महिमा गाइरहेका थिए । सबैलाई त्यसको अनुपालन गर्न आह्वान गरिरहेका थिए । गुजरातदेखि दिल्लीसम्मको यात्रामा मोदीको शक्तिका कारण भारतमा फैलिएको धार्मिक अन्धराष्ट्रवाद कोरोना संकटका समयमा पनि पोखिएको छ । 

मध्यमवर्गका मानिसलाई मनोरञ्जन हुने गरी गरिएको दीप प्रज्ज्वलनको आह्वान आफैँमा बुद्धका सन्देशको समेत बर्खिलाप हो

यता आफ्नो सन्देशमा प्रधानमन्त्री ओलीले आफ्नो सरकारका प्रयासले अहिलेसम्म कोरोना महामारीले नेपाललाई खासै असर नपारेको दाबी गरेका छन् । सँगै आफ्ना प्रयासको सीमा सकिन लागेको र महामारी अब एउटा आसन्न खतराका रूपमा रहेको पनि स्वीकार गरेका छन् । यहीँनेर प्रधानमन्त्रीको सन्देशमा रहेका सीमाको पनि उजागर हुन्छ । पहिलो त सरकारले अहिलेसम्म गरेको प्रयासले महामारी रोकिएको भन्ने भनाइ युक्तिसंगत देखिन्न । सरकारले गरेको प्रयास भनेको विदेशबाट नेपालीलाई आउन नदिनुमा सीमित छ । आन्तरिक रूपमा मानिसहरू लकडाउनकै समयमा देशभर यो कुनाबाट ऊ कुनासम्म पुगेका विषादयुक्त दृश्य पुराना भएका छैनन् । सरकारको रोग नियन्त्रणको प्रयासको बिजोग त परीक्षणका सन्दर्भमा देखिएको छ । अहिलेसम्म ८० हजार मानिसको पनि परीक्षण नगरेको र अहिले त परीक्षणको किटसमेत सकिएर परीक्षणको संख्या घटाउन बाध्य भएको प्रधानमन्त्रीकै गलत प्रयासको प्रतिफल हो । लामो समय पाउँदा पनि कोरोनासँग जुध्न आवश्यक पर्ने अत्यावश्यक औषधि, सुरक्षा उपकरणसमेत व्यवस्था गर्न नसक्ने, लकडाउनका नाममा मानिसलाई घरभित्र थुनेर माखो नमार्ने प्रधानमन्त्री र निकम्मा देखिएको स्वास्थ्य मन्त्रालयको नेतृत्वका कारण अब महामारी फैलने डर बढेको स्वतः बुझ्न सकिन्छ । 

यस्तो अवस्थामा मध्यमवर्गका मानिसलाई मनोरञ्जन हुने गरी दीप प्रज्ज्वलनको आह्वान आफैँमा बुद्धका सन्देशहरूको समेत बर्खिलाप हो । सरकारले आफ्नो कर्तव्य मात्र पूरा गर्दा महामारीबाट बच्न सहयोग पुग्नेछ । आममानिसले त सरकारको आह्वानलाई साथ दिइरहेका छन् । खाँचोचाहिँ प्रधानमन्त्रीले यस मामिलामा आफैँभित्र रहेको अहम् र जनतालाई छलछाम गर्ने व्यवहारको अँध्यारोबाट मुक्त हुनु हो । त्यसका लागि प्रधानमन्त्रीले आफ्नै मनमा एउटा दियो बाल्नु जरुरी छ, जसले उनीभित्रको अँध्यारो हटोस् । बालुवाटारका सँघारमा बालेका दीपले प्रधानमन्त्री र उनको सरकारको मनलाई उज्यालो बनाउन सक्दैन भन्ने प्रमाण त प्रधानमन्त्रीका दम्भ, सञ्चार जगत्, प्रतिपक्ष, आफ्नै दलका सहयोगीप्रति लाञ्छित गर्दै प्रदर्शन गरिएका अभिव्यक्ति र सरकारको चौतर्फी असफलताले प्रमाणित गरिरहेकै छन् ।