मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ बैशाख २५ बिहीबार १३:३०:००
Read Time : < 1 मिनेट
समाचार

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा, शुक्रबारदेखि मौसममा सुधार हुने

Read Time : < 1 मिनेट
२०७७ बैशाख २५ बिहीबार १३:३०:००

पश्चिमी वायुको प्रभावले यतिवेला काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। बिहीबार बिहानदेखि नेपालको पश्चिम क्षेत्रबाट विकास भएको मौसमी प्रणाली र स्थानीय वायुको प्रभावले अहिले काठमाडौं उपत्यकासहित नेपालको मध्यक्षेत्रको भूभागमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

‘पानी पार्ने प्रणाली पश्चिमबाट क्रमशः पूर्वतिर सर्दै गएको छ,’ नयाँ पत्रिकासँग उनले भने, ‘पश्चिमी वायुकै कारण अहिले काठमाडौंमा वर्षा भइरहेको छ, यो क्रमशः पूर्वतिर सर्दै गएको छ।’

यतिवेला देशमा पश्चिमी न्यूनचापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भूभागनजिक बनेको न्यूनचापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेकाले देशैभरि मौसम बदली भएको अर्यालले बताए।

उनले यो प्रणाली बिहीबार दिनभर सक्रिय हुने जानकारी दिए। ‘अझै तीन–चार घन्टा मौसममा सुधार हुँदैन,’ अर्यालले भने, ‘शुक्रबारबाट भने मौसममा सुधार हुन्छ।’

अहिले प्रिमनसुनको सिजन भएकाले चट्याङकोसमेत जोखिम रहने महाशाखाले जनाएको छ। 

देशका विभिन्न भूभागमा  मेघगर्जनसहित चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।