१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ बैशाख २५ बिहीबार ११:१६:००
Read Time : > 1 मिनेट
अर्थ

सिमेन्टमा कालोबजारी, दुई व्यापारीसहित मिर्चैयाबाट पाँच पक्राउ

Read Time : > 1 मिनेट
२०७७ बैशाख २५ बिहीबार ११:१६:००

सिराहामा लकडाउनका वेला विकास निर्माणको कामका लागि निर्माण सामग्री ढुवानी गर्ने छुटको दुरुपयोग गर्दै सिमेन्टको कालोबजारी गरेको फेला परेको छ । 

सिमेन्ट कालोबजारी गरेको आरोपमा प्रहरीले मिर्चैया क्षेत्रका दुई सिमेन्ट व्यापारीसहित पाँचजनालाई पक्राउ गरेको हो ।

तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरेको र प्रोजेक्टको नाममा कालोबजारीका लागि ल्याइएको ६ सय ५० बोरा सिमेन्टसहित प्रहरीले मंगलबार र बुधबार मिर्चैयाबाट दुई व्यापारी र तीनजना चालकलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयले मिर्चैया बजारमा स.१त ५१३२ नम्बरको ट्रयाक्टरमा लोड गरिएको ९० बोरा सालिमार सिमेन्ट बरामद भएपछि चालक ३५ वर्षीय जगदीश सदासहित भाग्यवान आइरन स्टोर्सका प्रमोद साहलाई पक्राउ गरेको जनाएको छ । 

व्यापारी साहले विजय साहको नाममा प्रतिबोरा सात सय रुपैयाँ लिने गरी प्रतिबोरा पाँच सय ७० रुपैयाँको दरले मात्र बिल बनाएको भेटिएको प्रहरीले जनाएको छ । 

उक्त सिमेन्ट धनुषाको गणेशमान चारनाथ नगरपालिका वीरेन्द्र बजारस्थित सीता ट्रेडर्स हार्डवेयर सञ्चालक अजय साहलाई पठाइएको खुलेपछि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 

प्रहरीले तत्काल ९० बोरा सिमेन्ट लोड भएको ट्रयाक्टर नियन्त्रणमा लिई भाग्यवान स्टोरमा मौज्दात रहेको चार–चार सय बोरा सालिमार र अल्ट्रा सिमेन्ट बेच्न नपाउने गरी त्यहीँ राखेको प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवालले जानकारी दिए । 

जनता आवासको नाममा कालोबजारी 
प्रहरी नायव उपरीक्षक जैसवालका अनुसार ना.५ख ९६६७ नम्बरको ट्रकमा ल्याउँदै गरेको पाँच सय बोरा सालिमार सिमेन्ट नियन्त्रणमा लिइएको छ । 

प्रहरीले मिर्चैया– ४ स्थित सडकमा फेला पारेको ट्रक रोकेर चेकजाँच गर्दा जनता आवासको घर बनाउने नाममा नक्कली बिल बनाएर सिमेन्ट ल्याएको खुलेपछि ट्रकचालकलाई पक्राउ गरिएको जनाएको छ । 

पक्राउ पर्नेमा ट्रकचालक धादिङ थाक्ले गाउँपालिका– १० का ३२ वर्षीय नीराजन लामा रहेको प्रहरीले जनाएको छ । 

१७ वैशाख ०७७ को मितिमा सिराहाको कल्याणपुर नगरपालिका– ४ वडा कार्यालयको सिफारिसमा जनता आवास कार्यक्रमको घर निर्माणका लागि भन्ने व्यहोरासहित  कल्याणपुरस्थित दीपक आइरन स्टोर कल्याणपुरको नाममा सिमेन्टको बिल पाइएको प्रहरीले जनाएको छ । 

प्रहरीले सिमेन्ट बरामद भएसँगै खोजबिन गर्ने क्रममा कल्याणापुर क्षेत्रमा जनता आवाज कार्यक्रम नरहेको तथ्य फेला पारेपछि सिमेन्टसहित चालक र ट्रक नियन्त्रणमा लिइएको जनाएको छ । 

त्यस्तै, मिर्चैया ४ मा स.१ त ६५६८ नम्बरको ट्रयाक्टरमा बिल भर्पाइ बिनाको  इलथि ायच एचयवभअत लेखिएको ६० बोरा सिमेन्ट, शौचालयको प्यानसिट, पिभिसी पाइप, जस्ता, पिभिसि सकेट भेटिएपछि ट्रयाक्टरसहित चालक मिर्चैया ३ का २० वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

मिर्चैया प्रहरीले मंगलबार साँझ स्थानीय भाग्य विधाताका सञ्चालक राजकुमार मगरलाई सात सय ६० रुपैयाँ पर्ने मारुती सिमेन्ट ८ सय रुपैयाँमा बिक्री गरेको पाइएपछि पक्राउ गरेको थियो । 

बढी मूल्यमा सिमेन्ट बिक्री गरेको पाइएपछि स्थानीय जनप्रतिनिधि, व्यापारीको रोहवरमा तीन सय ४० बोरा सिमन्ट रहेको मगरको गोदाम सिल गरिएको प्रहरीले जनाएको छ ।  

प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले समेन्टसहित पक्राउ गरिएका पाँचजनाको बयान बुधबार नसकिएकाले बिहीबार सार्वजनिक बिदा भएपछि फेरि बयान लिनेगरी तारेखमा छोडिएको बताए । 

‘बयान सकिएपछि के गर्ने भन्ने निर्णय गर्छौं,’ प्रजिअ गुरागाईंले भने ।