मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डा. विजयचन्द्र आचार्य, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर
२०७७ बैशाख २५ बिहीबार ०८:५९:००
Read Time : > 1 मिनेट
नयाँCity

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नयाँ अनुहार

Read Time : > 1 मिनेट
२०७७ बैशाख २५ बिहीबार ०८:५९:००

तीन वर्षअघि डा. विजयचन्द्र आचार्यले जागिरे जीवनबाट भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका रूपमा यात्रा मोडे । अस्पतालमा पहिलोपटक खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक बनेका थिए उनी । मंगलबार कार्यकाल पूरा गरेर बिदाइ हुँदै गर्दा उनको अनुहारमा सन्तुष्टिको भाव झल्किन्थ्यो ।

उनले पद बहाली गर्दा अस्पताल एक सय ९४ शय्या क्षमताको थियो । अहिले चार सय ५० शय्या पुगेका छन् । सर्जरीतर्फ आठवटा मोडुलर शल्यक्रिया कक्ष सञ्चालनमा आएका छन् । पुराना मेसिनको मर्मत गरिएको छ र नयाँ खरिद गरी सञ्चालनमा ल्याइएको छ । अस्पतालमा आपत्कालीन ल्याब स्थापना भएको छ । रेडियोलोजी, प्याथोलोजी, सर्जरी र केमोथेरापीको रिपोर्ट दुई–दुई घन्टामा उपलब्ध हुन थालेको छ । ‘प्रशासनिक अनुभव र ज्ञान मसँग थिएन । तर, कामले काम सिकाउँदै गयो,’ उनी भन्छन् ।

डा. विजयचन्द्र आचार्यको कार्यकालमा अस्पताललाई प्रतिष्ठानमा स्तरोन्नति गर्ने खाका तयार भएको छ । नयाँ नेतृत्वले लक्ष्य पूरा गर्ने उनमा आशा देखिन्छ।

उनकै कार्यकालमा अस्पताल परिसरमै फार्मेसी स्थापना भयो । अस्पताल परिसरमा कृषि विकास बैंकको काउन्टर स्थापना गरेर सोहीमार्फत सेवाशुल्क बुझ्ने व्यवस्था मिलाए । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट निर्माणाधीन छ । बिरामी संख्या बढ्दै जाँदा दैनिक राजस्व तीन लाखबाट १२ लाख रुपैयाँ पुगेको छ । नारायणी डेभलपमेन्ट बैंकमा फसेकोे १० करोड रुपैयाँ उनकै कार्यकालमा असुल भएको छ

अस्पतालका कर्मचारीलाई विनाधितो १५ लाखसम्मको ऋण सुविधा दिइन थालेको छ । कर्मचारी कल्याण कोषलाई व्यवस्थित बनाइएपछि खातामा १८ करोड रुपैयाँ जम्मा भइसकेको उनी बताउँछन् । उनकै कार्यकालमा अस्पतालमा अंकोलोजी विषयका जनशक्ति उत्पादन गर्ने उद्देश्यले कलेज स्थापना भएको छ । ‘बोनम्यारो प्रत्यारोपण सेवाका लागि बजेट तथा कार्यक्रम समावेश गरी अर्थ मन्त्रालय पेस गरेका छौँ,’ उनी भन्छन् । 

२४ वैशाख ०७४ मा उनी अस्पतालको कार्यकारी निर्देशक नियुक्त भएका थिए । आफ्नो कार्यकालमा प्रचारभन्दा सुधारका कामलाई प्राथमिकता दिएको उनी बताउँछन् । सञ्चालक समितिप्रतिको जवाफदेहिता, अस्पतालको भौतिक संरचनाको पूर्णता, मेसिन औजारलाई चुस्तदुरुस्त राख्ने, उपचार प्रविधिमा स्तरोन्नति, सेवाग्राहीको मागअनुसार सेवा प्रवाहको संयोजन, शैक्षिक कार्यक्रमको प्रारम्भ र नयाँ योजनाको प्रक्षेपण नै आफ्नो कार्यकालका उपलब्धि भएको उनको भनाइ छ ।

अस्पतालमा बढ्दो बेथिति नियन्त्रणका लागि सरकारले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त गरेको थियो । त्यसअघि बेथिति नियन्त्रणका लागि स्थानीय प्रशासनले हस्तक्षेपसमेत गर्नु परेको थियो । बिग्रिएका उपकरण मर्मत नहुँदा सेवा ठप्प थियो । चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी कार्यालय समयमै अस्पतालबाहिर काम गर्न जान्थे । समस्याकाबीच डा. आचार्यको कार्यकालमा सुधारका धेरै काम भएको कर्मचारीहरू बताउँछन् ।

डा. आचार्यको कार्यकालमा अस्पताललाई प्रतिष्ठानमा स्तरोन्नति गर्ने खाका तयार भएको छ । त्यसका लागि आधारशिला तयार भएको उनको भनाइ छ । आगामी नेतृत्वले आफ्नो सपना साकार बनाउने उनको आशा छ । भन्छन्, ‘अस्पताललाई प्रतिष्ठान बनाउन पूर्वाधार विकासमा धेरै समय खर्चिएँ, नयाँ नेतृत्वले लक्ष्य पूरा गर्ने आशा लिएको छु ।’