१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २५ बिहीबार ०७:३१:००
Read Time : > 1 मिनेट
समाचार

श्रमिकको दैनिकी कठोर बन्दै गयाे, लकडाउनकाे विकल्प खाेजाैँ : देउवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ बैशाख २५ बिहीबार ०७:३१:००

कोरोना संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनका कारण उद्योग–व्यवसाय बन्द हुँदा श्रमिकको दैनिकी कठोर बन्दै गएका कारण विकल्प खोज्नुपर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । संक्रमण रोक्न लकडाउन उचित भए पनि निरन्तर उद्योगधन्दा बन्द गर्दा सबै क्षेत्र प्रभावित भएको उनको भनाइ छ ।

कांग्रेसको छाया अर्थ मन्त्रालयको संयोजनमा भएको कार्यक्रममा सभापति देउवाले विदेशमा नेपाली नागरिकहरू अलपत्र रहेको भन्दै उनीहरूको उद्धार गर्नेबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।

छाया सरकारमा अर्थ मन्त्रालयका संयोजक डा. मीनेन्द्र रिजालले उद्योगधन्दालाई नियमित गरेर व्यवसायीहरूबाट ब्याजदरमा सहुलियत, छरितो र नछरिएको बजेट ल्याउनुपर्ने गरी आएका सुझाब राम्रा रहेको बताए । 

तस्बिर : रासस

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले लकडाउनले सबै क्षेत्र प्रभावित भएको भन्दै प्रभावकारी नीति बनाउन सरकारसँग माग गरिन् । ‘निजी क्षेत्रले ब्याज लिएर काम गरिरहेका हुन्छौँ,’ राणाले भनिन्, ‘रोजगारी बढाउन, उत्पादन बढाउन सहुलियतमा ऋण आवश्यक हुन्छ । पर्यटन विशेष रूपले हेर्नुपर्छ । कृषि क्षेत्रलाई उस्तै प्राथमिकता राखेर सरकारले बजेट ल्याउनुपर्छ ।’

कोरोनाले विश्व अर्थतन्त्रमाथि नै प्रभाव परेका वेला नेपालजस्तो सानो अर्थतन्त्र भएको देशको अवस्था गम्भीर बन्दै गएको उनले बताइन् । अहिले व्यवसायीहरूले दैनिक २ अर्बको नोक्सान व्यहोरिरहेको भन्दै अल्पकालीन र दीर्घकालीन हिसाबमा नीति तय गर्न राज्य तत्पर हुनुपर्ने उनले सुझाब दिइन् ।

त्यस्तै, महासंघका उपाध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको उत्थान हुने गरी बजेट ल्याउन माग गरे । नेपालमा बढी भएको ऊर्जा भारतमा बेच्नुभन्दा उद्योगलाई सहुलियत दरमा दिन, बिजुलीमा छुटसहितका रिकभरी प्याकेज ल्याउन पनि उनले माग गरे । उद्योगहरू बन्द भएका वेलामा ‘डिमान्ड चार्ज’ र उद्योगलाई सहुलियत दिनुपर्ने माग उनको थियो । कृषि उत्पादनमा परनिर्भरता रहेको भन्दै उनले कृषि क्षेत्रको उत्पादन बढाउन नीतिगत व्यवस्था गर्न र वन क्षेत्रलाई व्यवसायीकरण गर्न माग गरे । 

नाटाका अध्यक्ष अच्युत गुरागाईंले कोरोनाका कारण विश्वमै सबैभन्दा प्रभाव पर्यटन क्षेत्रमा परेको बताए । बैंकिङ क्षेत्रमा ७ प्रतिशतसम्म ब्याज झर्दा पनि नाफा हुने गरेको भन्दै पर्यटन क्षेत्रका लागि २ प्रतिशतमा ब्याज उपलब्ध गराउन उनले माग गरे । 

कांग्रेसले गठन ग-यो, ‘अर्थतन्त्रकेन्द्रित विशेष समिति’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशमा कोरोनाले पारेको असरबारे विश्लेषण एवं आवश्यक दृष्टिकोण निर्माण गर्न ‘अर्थतन्त्रकेन्द्रित विशेष समिति’ गठन गरेको छ । १४ सदस्यीय समितिको संयोजन पूर्वअर्थमन्त्री डा. रामशरण महतले गर्नेछन् ।

सदस्यहरूमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, डा. मीनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दीपकुमार उपाध्याय, भरत शाह, उदयशमशेर राणा छन् । त्यस्तै, डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. गोविन्द पोखरेल र डा. स्वर्णिम वाग्ले सदस्य छन् ।