मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फोटोः रासस
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २४ बुधबार १८:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

अवधारणा परिवर्तन गरेर एसइई खारेज गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २४ बुधबार १८:५२:००

सांसदहरूले कोरोना भाइरसका कारण प्रभावित माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्न माग गरेका छन् ।

नयाँ शिक्षा नीति बनिसकेपछि पनि एसइईलाई एसएलसीजस्तै महत्व दिएर परम्परागत ढंगबाट सञ्चालन गर्न नहुने भन्दै उनीहरूले अवधारणा परिवर्तन गरेर एसइई खारेज गर्न माग गरेका हुन् । संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरूले अहिले एसईई परीक्षाको अवधारणा परिवर्तन गर्ने अवसर मिलेको बताए ।

सांसद गगन थापाले एसइई परीक्षा खारेज गर्न कोरोना संक्रमणले मौका दिएको भन्दै यसको सदुपयोग गर्नुपर्ने बताए । उनले भने, ‘आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीलाई कक्षा ११ सम्म लिएर जाऔँ । बोर्ड परीक्षा भनेको १२ को हो ।’

सांसद जीवनराम श्रेष्ठले नयाँ शिक्षा नीति र ऐनअनुसार यसलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताए । सरकारले निर्णय गरेर नीतिगत रूपमै यसलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

सांसद भैरवबहादुर सिंहले एसइई पहिलेको एसएलसीजस्तो बोर्ड परीक्षा नभएर माध्यमिक परीक्षा मात्रै भएको भन्दै कक्षा ९ कै मोडलमा लैजानुपर्ने धारणा राखे ।

सांसद अञ्जना विशंखेले यो वर्ष मात्रै परीक्षा नगर्दा विद्यार्थी र अभिभावकमा नकारात्मक असर पर्ने भन्दै योजना नै बनाएर एसइईको स्वरूप परिवर्तन गर्नुपर्ने बताइन् ।

समितिले विद्यालयहरूलाई शुल्क नलिने र औपचारिक रूपमा पठनपाठन नगर्ने–नगराउने व्यवस्था मिलाउन सरकारलाई निर्देशनसमेत दिएको छ । महामारीको समयमा परीक्षा, विद्यार्थी भर्ना र औपचारिक पठनपाठन नगराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।