मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
महाप्रसाद अधिकारी, गभर्नर, राष्ट्र बैंक
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २४ बुधबार ०७:१२:००
Read Time : < 1 मिनेट
अर्थ

गभर्नर अधिकारीसँग १ करोड ५७ लाखको सेयर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ बैशाख २४ बुधबार ०७:१२:००

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूसँग विभिन्न बैंक तथा वित्तीय संस्थाको १ करोड ५७ लाख रुपैयाँबराबरको सेयर रहेको सार्वजनिक गरेका छन् ।

मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग विभिन्न वित्तीय संस्था तथा जलविद्युत् कम्पनीको सेयर रहेको छ । अधिकारीसँग नबिल, हिमालयन, सिद्धार्थ, बैंक अफ काठमान्डु, सन्राइज, एभरेस्ट, मेगा, एनएमबी, नेपाल इन्भेस्टमेन्ट, ग्लोबल आइएमई, एनआइसी एसिया, मेरो माइक्रो फाइनान्सलगायतका बैंक तथा वित्तीय संस्थाको सेयर छ । 

जलविद्युत् कम्पनीका सेयरमा पनि अधिकारीको आकर्षण देखिएको छ । उनले मध्य तमोरमा संस्थापक सेयरधनीका रूपमा ५० लाख रुपैयाँ लगानी गरेका छन् । उनीसँग चिलिमे, अपर तामाकोसी, सानिमा माईलगायतका जलविद्युत् कम्पनी र जलविद्युत् लगानी तथा विकास कम्पनीका सेयर स्वामित्व छ । उनले नबिल ब्यालेन्स फन्ड (सामूहिक लगानी कोष)मा समेत लगानी गरेका छन् । 

उनी र श्रीमती सरिता अधिकारीका नाममा ललितपुर सैबु, झापा, मकवानपुर जिल्लामा ११ रोपनी र २ बिघाभन्दा बढी जमिन छ । त्यस्तै, उनीसँग २७ तोला सुन र ५० तोला चाँदी छ । बैंकमा उनको १६ लाख ६३ हजारबराबर बचत छ ।

१४ लाख १० हजारबराबरका घरायसी सरसामान र सोही रकमबराबरको सवारीसाधन उनीसँग छ । उनीसँग नागरिक लगानी कोषबाट लिएको र क्रेडिट कार्डबाट लिएको सुविधाका आधारमा ८ लाख ३७ हजार कर्जा छ । उनले ९ लाख रुपैयाँ व्यक्तिगत ऋण दिएका छन् ।