मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ बैशाख २४ बुधबार ०४:५७:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

अग्रिम बधाई सर्वेन्द्र खनालजी !

सर्वेन्द्रजी ! तपाईंको भविष्य उज्ज्वल छ, अख्तियारको आयुक्तका रूपमा तपाईंलाई अग्रिम बधाई छ

Read Time : > 3 मिनेट
२०७७ बैशाख २४ बुधबार ०४:५७:००

उहाँकै शब्दमा ‘अब राजनीति र समाजसेवामा आउने मनस्थिति’ बनाएका, समाजसेवा त महोत्तरीबाटै सुरु गरिसकेका सर्वेन्द्र खनाललाई राष्ट्रिय मानव अधिकार आयोगमा देख्दा नरमाइलो लाग्यो । मुलुकको पूर्वआइजिपीमाथि सांसद अपहरणको गम्भीर अभियोग पक्कै सामान्य होइन । यो अभियोगको उहाँ आफैं सामना गर्नुहोला । तर, एउटा औसत लोभीका महत्वाकांक्षामाथि खेलेर उहाँलाई जति पनि गिराउन सक्ने हाम्रो ‘सिस्टम’ र हाम्रा नेताहरूले आफूमाथिको प्रश्नको कसरी सामना गर्लान् ?

खनालले प्रस्ट भन्नुभएको छ, ‘मैले संवैधानिक नियुक्ति पनि पाउन सक्छु ।’ अर्थात्, उहाँ त्यस्तो नियुक्तिको खोजीमा हुनुहुन्थ्यो । आइजिपीका रूपमा यो लोक सुधारेका उहाँ आयुक्तका रूपमा परलोक पनि सुधार्न चाहनुहुन्थ्यो । तर, नियुक्ति त सजिलो छैन । सजिलो हुन्थ्यो भने खनालले समाजसेवा काठमाडौं वा तनहुँबाटै सुरु गर्नुहुन्थ्यो, महोत्तरी पुग्नै पर्दैनथ्यो । 

संवैधानिक वा जुनसुकै नियुक्तिमा पनि यो देशमा बौद्धिक वा व्यावसायिक रचनाशीलतालाई कुनै ठाउँ छैन । आजको नेपालमा योग्यताले कसैलाई नियुक्ति दिलाउँदैन । व्यावसायिक सीमाभित्रको बफादारी पनि धेरै काम छैन । नेताहरूलाई चाहिन्छ, नांगो दलाली । बालुवाटारमा मात्र होइन, बूढानीलकण्ठ र खुमलटारमा पनि नियुक्तिहरू या पैसामा बेचिन्छन्, या नातेदार र दासहरूलाई बकस दिइन्छन् । यस्तो देशमा थोरै पौरख गरेर शासकहरूका नजरमा पर्न खोज्नु सर्वेन्द्र खनालको कुन ठूलो अपराध हो र ?

खनालले एक न एकपटक पानी नपिएको यो देशको कुनै राजनीतिक घाट छैन । खनाल ओत नलागेको झन्डा पनि कुनै छैन । खनालले एक न एकपटक कृपा नहत्याएको ठूलो नेता पनि कोही छैन । यही सीपले उहाँलाई आइजिपी बनायो । नेताहरूले यो देश नै यस्तो बनाइसकेका छन् कि यति सीपविना कोही आइजिपी बन्दैन पनि । यो देशका नेता, सत्ता र सत्ताको चरित्रको महाभारतका हरेक पंक्ति खनाललाई कण्ठ छन् । त्यो ज्ञान र सीप अलिकति उहाँले महोत्तरीमा लगाउनुभयो त त्यसको सबै दोष उहाँ एक्लैले बोक्नुपर्ने ? नेता र सत्ताले जवाफ दिनु नपर्ने ?

सबैलाई थाहा छ, नेता कस्ता छन् र ती कसरी खुसी हुन्छन् ? कसको स्वार्थ कहाँ जुध्छ, नेताहरूलाई केही मलतब छैन, केवल आफ्नो स्वार्थ पूरा भए हुन्छ । सिस्टम भनेको विधि होइन, हामी हौँ भनेर नेताहरूले घोषणा गरिसकेको देश हो यो । समाजवाद छिटो ल्याउन नेताहरूले बैंकका कानुन बनाउने ठाउँमा बैंकरलाई नै पुर्‍याएका छन् । विद्यालयका कानुन बनाउने ठाउँमा विद्यालयकै सञ्चालक छन् । उपभोक्ता हितबारे कानुनचाहिँ उद्योगीले बनाइरहेको छ । नेताहरूले बेसर्मीका साथ दोकान खोलेर बसेको देशमा सर्वेन्द्र खनालको गौरवशाली महोत्तरी यात्रालाई मात्र के गाली गर्नु ?

विश्व बैंक र आइएमएफजस्ता व्यावसायिक संस्थामा समेत परामर्शदाता हुन ६ महिनाको ‘कुलिङ पेरियड’ चाहिन्छ । तर, संवैधानिक नियुक्ति पाउन यो देशमा कहीँ केही पार गर्नुपर्दैन । नेताहरूको कृपा प्राप्त भयो भने बिहान पदबाट राजीनामा ठोकेर साँझ नियुक्ति पत्र बुझ्न र माननीय हुन पाइन्छ । त्यसैले उच्च पदस्थहरूले कुर्सीमै बसेर नेताका जुत्ता टल्काएका दृश्यमा अन्यथा मान्नुपर्दैन । कुनै योग्य प्रोफेसर कहिल्यै नियुक्तिको दौडमा नदेखिनु पनि आश्चर्य होइन । आश्चर्य त यस्तो राज्यका निकायबाट निष्पक्षता र व्यावसायिकताको अपेक्षा गर्नु हो ।

बालुवाटार मात्र होइन, बूढानीलकण्ठ र खुमलटारमा पनि नियुक्तिहरू या पैसामा बेचिन्छन् या नातेदार र दासहरूलाई बकस दिइन्छन् । यस्तो देशमा थोरै पौरख गरेर शासकहरूका नजरमा पर्न खोज्नु सर्वेन्द्र खनालको खासै ठूलो अपराध हो र ?

काठमाडौं प्रहरी कार्यालयमा युवा संघ र अखिलको ब्यानरमा सर्वेन्द्रहरूका लागि नारा लगाइरहेका युवा कमरेडहरू यो देशका राजनीतिक भविष्य हुन् भन्ने बुझेर नेपालीको छाती गर्वले ढक्क हुन्छ । त्यसै पनि नेकपामा ढिलोछिटो यदुवंशी मल्लयुद्ध निश्चित छ । नेकपाले सगरमाथाको शिखर भेटिसकेको थियो र ओर्लनु नै थियो । यो नाँच्दै, गाउँदै, देउरालीमा बिसाउँदै सम्मानपूर्वक ओर्लन सक्थ्यो । तर, गतिमा विश्वास राख्ने स्वघोषित मार्क्सवादी भएर होला, हिमपहिरोतिर अग्रसर छ । अबको मल्लयुद्धमा केपी ओली, प्रचण्ड, माधव नेपाल र वामदेव गौतमहरूका कसका कति दाँत झर्छन्, हामी मिडियाकर्मी गन्दै गरौँला । तर, नेकपाका भने अब दाँत बाँकी रहनेछैनन् । मरेका सपनाहरू नजन्मेका सपनाभन्दा खतरनाक हुन्छन् । ती कुहिँदैनन् र गन्हाउँदैनन्, शूल भएर दुख्छन् । 

संवैधानिक नियुक्तिको हड्डीसम्म पुग्न नेताहरूका दरबारमा दिनुपर्ने परीक्षा कस्तो हो, सर्वेन्द्रलाई थाहा छ । काठमाडौंमा परीक्षार्थी धेरै थिए, त्यसैले उहाँ महोत्तरीसम्म पुग्नुभयो । त्यसै पनि अहिले सत्ताका तर्क गजब–गजबका छन् । हिजो बाबुराम भट्टराईले रेडियो नेपालमा स्पष्टीकरण सोध्न हुने, अहिले नहुने ? हिजो सांसद बटुलेर समिट होटलमा थुन्न हुने, आज मेरियटमा लैजान नहुने ? यस्ता तर्कले देश चलेका वेला अख्तियारमा आउन तपाईंभन्दा उपयुक्त पात्र को छ सर्वेन्द्रजी ?

राजनीतिमै पनि सर्वेन्द्रसँग फराकिलो ‘स्पेस’ छ । कमरेड दीपक मनाङेले पार्टी प्रवेशको पहिलो सातामै योगेश भट्टराईलाई चुनौती दिनुभएको थियो । कमरेड सर्वेन्द्र खनाल त महोत्तरीबाटै घनश्याम भुसाललाई ललकार्न सक्नुहुन्छ । नेपालमा आन्दोलनहरूले अन्तिममा आन्दोलनहरूकै हत्या गरेका छन् । प्रजातन्त्रको झन्डा गणेश लामा र वामपन्थको झन्डा दीपक मनाङेले थामेको राजनीतिमा सर्वेन्द्रलाई कसरी ठाउँ हुँदैन ? कमरेड दीपक मनाङे र कमरेड सर्वेन्द्र एउटै गौरवशाली संसद्मा हुनुपर्छ । आखिर दुईजनामा ठूलो अन्तर पनि के नै छ र ?

पछिल्ला विवादका कारण नियुक्तिमा तलमाथि हुन्छ कि भन्ने लागेको भए सर्वेन्द्रलाई म ढुक्क हुन आग्रह गर्छु । जसले समस्या खडा गर्न सक्छ, जसले विवाद निम्त्याउन सक्छ, जो नयाँ–नयाँ शत्रु जन्माउन सक्छ, अहिलेको शासनमा त्यो नै योग्य मानिन्छ । महोत्तरी पुगेर तपाईंले छोराछोरीसँग आँखा जुधाउन सक्नुभएको छैन होला, तर त्यसले नियुक्तिका हकमा असीम निष्ठा र साहसको प्रमाणपत्र जुटाएको छ ।

सर्वेन्द्रजी, प्रधानमन्त्रीलाई विश्वास गर्न सक्नुहुन्छ । उहाँ असामान्य राजनीतिज्ञ हो । जहाँ समस्या नै हुँदैन, आफैँ समस्या जन्माउनुहुन्छ । त्यसलाई अत्यन्त जतनका साथ हुर्काउनुहुन्छ र त्यसैसँग दृढतापूर्वक लड्नुहुन्छ । यतिखेर उहाँको झोंक मिडियासँग छ । मानौँ, उत्तरी सीमाबाट हुइँकिँदै आएको चुच्चे रेलका लिक मिडियाले बिगारिरहेको छ । मानौँ, दक्षिणतिरबाट बत्तिँदै आएको पानीजहाजको इन्जिनलाई मिडियाले बिगारिरहेको छ । मानौँ, यती, ओम्नी र अध्यादेश मिडियाका उपज हुन् । प्रधानमन्त्री समस्यासँग होइन, ऐनासँग लडिरहनुभएको छ । त्यो ऐनामा अहिले तपाईं पनि धेरै थोरै देखिनुभएको छ सर्वेन्द्रजी ! त्यसैले तपाईंको भविष्य उज्ज्वल छ । अख्तियारको आयुक्तका रूपमा तपाईंलाई अग्रिम बधाई छ ।