मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २३ मंगलबार १४:०६:००
Read Time : > 1 मिनेट
अर्थ

राष्ट्र बैंकका गभर्नर अधिकारी भन्छन्– नेपाली अर्थतन्त्रका लागि कोरोनाको प्रभाव निकै चुनौतीपूर्ण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ बैशाख २३ मंगलबार १४:०६:००

नेपाल  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आउँदो आर्थिक वर्ष अर्थतन्त्रका लागि निकै चुनौतीपूर्ण रहेको बताएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट विश्व अर्थतन्त्रमा पर्ने प्रभावसँगै नेपालको अर्थतन्त्र पनि निकै चुनौतीपूर्ण रहने गभर्नर अधिकारीले बताए । 

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सहभागी भएका गभर्नर अधिकारीले विप्रेषण आप्रवाह कम हुने, पर्यटनमा आय शून्य हुने, वैदेशिक लगानीमा संकुचन आउने भएकाले अर्थतन्त्रमा चुनौती थपिएको बताए । 

उनले विप्रेशणमा २० प्रतिशतभन्दा बढी संकुचन आउन सक्ने बताए । 

उनले भने, ‘अर्काे वर्षमा हामीलाई विप्रेषण आप्रवाहमा ठूलो प्रेसर पर्नेछ, पर्यटन आम्दानी हामीले आस गर्न सक्दैनौँ, त्यसैगरी वैदेशिक थप लगानी हामी आस गर्न सक्दैनौँ, सँगसँगै नेपालबाट बाहिर निर्यात भन्ने कुरा पनि आउने वर्ष एकदमै नोमिनल हुन्छ । जसले गर्दा हामीलाई वैदेशिक मुद्राको सञ्चिति मुद्राको परिचालनमा भने केही ठूलो प्रेसरमा काम गर्नुपर्ने हाम्रो अनुमान छ । ’

चालू आर्थिक वर्षको मौद्रिक नीतिले लिएका अधिकांश लक्ष्यहरू पूरा नहुने स्थिति आइसकेको गभर्नर अधिकारीले बताए । उनले कोरोना सुरु भएयता वित्तीय क्षेत्रको ऋण र निक्षेप बढ्न नसकेको बताए । 

यस्तै अन्तरिक आपूर्ति प्रणालीलाई सुदृढ बनाउन नसकेमा मूल्यमा समेत दबाब पर्ने उनले बताए । 

उनले वित्तीय क्षेत्रको स्थायित्वका लागि अर्थतन्त्रमा आउने संकुचनलाई ध्यान दिएर वित्तीय स्रोतहरूलाई परिचालन गर्ने र उत्पादनको क्षेत्रमा लगानी बढाउने र रोजगारी प्रवर्द्धन हुने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने सम्बन्धमा तयारी थालिएकोसमेत जानकारी दिए । 

पाँच करोडभन्दा बढी कर्जा लिने ग्राहकको अवस्था अध्ययन गरी विवरण तयार गर्न बैंकहरुलाई निर्देशन दिइएकोसमेत गभर्नर अधिकारीले बताए । 

उनले कोरोनाका कारण वित्तीय क्षेत्रमा ठूलो असर नपरोस् भन्नका लागि गहिरो गरी अध्ययन पनि भइरहेको जानकारी दिए । समग्र अर्थतन्त्रमा परेको असर, बैंक तथा वित्तीय क्षेत्रमा परेको असरलगायतका विषयमा छुट्टाछुट्टै अध्ययन गरी राष्ट्र बैंकले दिने सुविधा तयार गर्न खोजिएको गभर्नर अधिकारीले बताए ।