Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
लेखनाथ खनाल
२०७७ बैशाख २३ मंगलबार १२:५६:००
Read Time : > 6 मिनेट
दृष्टिकोण

कोभिड-१९ महामारी र औषधि निर्माण प्रक्रिया

चाँडै नै वैज्ञानिक तथा अनुसन्धानकर्ताले प्रभावकारी औषधि र खोपको विकास गरी यस अदृश्य शत्रुले निम्त्याएको विश्व महामारीमाथि विजय प्राप्त गर्ने नै छन्

Read Time : > 6 मिनेट
लेखनाथ खनाल
२०७७ बैशाख २३ मंगलबार १२:५६:००

यतिखेर विश्वव्यापी भाइरल रोग कोभिड–१९ महामारी उत्कर्षमा छ । नयाँ प्रकारको यो रोगको संक्रमणले समग्र विश्वको स्वास्थ्य तथा अर्थव्यवस्थालाई तहस नहस पार्दै मानव सभ्यतामाथि नै धाबा बोलिरहेको छ। 

यो रोग भनेको सार्स–कोभ तथा मर्स–कोभको परिवर्तित रूप सार्सकोभ–२ को परिणाम हो । मानवदेखि मानवमा सजिलै प्रसार हुन सक्ने क्षमताले गर्दा यसले यति विकराल रूप लिएको छ कि आज सम्पूर्ण विश्व नै यसको भयले आक्रान्त छ । बिल्कुलै नयाँ प्रकारको भाइरस भएको तथा प्रभावकारी औषधि र खोप उपलब्ध नभएको परिप्रेक्ष्यमा यसको संक्रमणबाट आफूलाई जोगाएर राख्नु एक मात्र उपाय भएको छ । 

हुन त कोभिड–१९ को आरम्भसँगै वैज्ञानिकहरूले विभिन्न खालका उपचार विधिहरूको अनुसन्धान गरिरहेका छन् । चलिआएका विभिन्न औषधिका सम्मिश्रणहरू प्रयोग गर्दाका सकारात्मक नतिजा पनि सार्वजनिक भइरहेका छन् । 

यस रोगलाई जितेर निको भएका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता अर्थात् एन्टिबडी प्रशस्त हुने हुँदा तिनीहरूको रगतबाट प्लाज्मा निकाली नयाँ बिरामीलाई प्रदान गर्दा सजिलै निको भएका छन् । तर पनि यो ‘प्लाज्मा थेरापी’ महामारीमा उपयोग गर्नलाई प्रभावकारी सिद्ध भइसकेको छैन। 

हालै इजरायलको प्लुरिस्टेम फर्मास्युटिकल्स कम्पनीले मानव सालनालबाट निकालिएका कोषबाट पनि कोभिड–१९ को उपचार भएको दाबी गरेका छन् । त्यस्तै चीन, नेपाल तथा भारतमा विभिन्न प्रकारका वनस्पतिबाट उत्पादित यौगिक यस रोगका लागि उपर्युक्त हुने दाबी पनि गरिँदै छ ।

के संसारभरिका जीव तथा औषधि विज्ञानका संस्था, वैज्ञानिक तथा अनुसन्धाताहरू यस कार्यमा असफल भएकै हुन् त ? कि औषधि निर्माण प्रक्रिया नै जटिल र सुस्तसँग सम्पन्न हुने विषय हो ? यस सम्बन्धमा औषधि विकास र आविष्कार प्रक्रियाबारे समुचित विश्लेषण गर्न सान्दर्भिक हुनेछ ।

औषधि निर्माण भनेको एक विशेष प्रकारको यौगिक आविष्कार गर्नु हो । जुन यौगिकका सूक्ष्म अणुले सजीवमा रहेको जैविक लक्ष्यसँग आवश्यक प्रतिक्रिया गरी संक्रमितलाई चिकित्सकीय फाइदा पु¥याउँछ । कुनैपनि समुचित औषधिले आफ्नो लक्ष्यलाई मात्र आक्रमण गरी रोगीका अन्य कुनैपनि जैविक प्रक्रियालाई हानि नोक्सानी पुर्‍याउँदैन। 

यसका लागि औषधि र ग्रहणकर्ताबीचको तालमेल मिल्नु अति आवश्यक हुन्छ । यौगिकहरूका यति धेरै विविधताहरू हुन्छन् कि उपयुक्त औषधि र निसान मिलाउनु भनेको ‘सिंगो जंगलमा हराएको तिलको दाना खोजेजस्तै’ हो । अणुहरूको रासायनिक संरचना, त्रिआयामिक बनोट, प्रतिक्रिया गर्ने क्षमता आदिको सही संयोजन मिलाउन सकेमा मात्र रोगको कारकलाई निस्तेज पारी चिकित्सकीय फाइदा पु¥याउन सकिन्छ। 

जसको रोग प्रतिरोध क्षमता सबल छ, उसले भाइरसलाई परास्त गर्छ र निको हुन्छ, प्रतिरोध क्षमता कमजोर भएका संक्रमितको मृत्यु हुन्छ ।

बिरुवा, जनावर, माटो, पानी आदिलाई औषधिका रूपमा मानव तथा वन्यजन्तुले आदिम कालदेखि नै प्रयोग गर्दै आएका हुन् । सुरु–सुरुमा विनाकुनै वैज्ञानिक परीक्षण ‘प्रयोग र गल्ती’का आधारमा उपचार हुन्थ्यो भने आजभोलि यस क्षेत्रमा धेरै अध्ययन अनुसन्धान भइसकेको छ । औषधि विकासका निश्चित प्रोटोकल तथा वैज्ञानिक, कानुनी र आधिकारिक मान्यता स्थापित भइसकेका छन् । 

कुनै पनि औषधि निर्माणका लागि सर्वप्रथम वैज्ञानिकहरू जैविक प्रणालीमा उत्पन्न भएको के–कस्तो गडबडीले रोग आएको हो भनी खोजी गर्छन् । त्यहाँ रासायनिक प्रतिक्रिया गर्न सक्ने कार्यात्मक समूहको गतिविधिको विश्लेषण गरी त्यसमा भएको खराबी यकिन गरिन्छ । 

त्यसैगरी बाहिरबाट आक्रमण गर्ने जीवाणु र विषाणुले कुन भाग अथवा कार्यप्रणालीलाई अवरुद्ध गरेको छ, त्यसको पहिचान गरिन्छ । अनि मात्र औषधीय अणुको खोजी सुरु हुन्छ।

रोगको कारक जैविक अणुसूत्रीय विचलन पहिचान गरेपछि त्यस ठाउँमा प्रतिक्रिया गर्न सक्ने खालका सम्भाव्य अणुहरूको भण्डार निर्माण गरिन्छ र तिनीहरूको क्रियात्मक समूह र ग्रहणकर्ताबीचको तालमेलको सम्भाव्यता अध्ययन गरिन्छ । यसका लागि व्यापक प्रचलनमा रहेको विधि भनेको ‘मोलिक्युलर डकिङ’ हो। 

यस पद्धतिमा धेरै प्रकारका सम्भावित अणुहरूको भण्डारबाट एक–आपसमा संयोजन गराई जटिल र स्थिर अणु बन्न सक्ने जोडी पहिल्याइन्छ । यसका लागि कम्प्युटरका विभिन्न अत्याधुनिक सफ्टवेयरहरू प्रयोग गरिन्छन् । डकिङ प्रविधिबाट विभिन्न प्रकारका प्रोटिन, न्युक्लिक एसिड, लिपिड, कार्बोहाइड्रेड आदि तत्वहरूको सुहाउँदो संयोजनबाट उत्पन्न हुने संकेत, प्रकार र जडता आदिको विश्लेषण गर्न सकिन्छ। 

जब तालामा सही चाबी घुसेर घुम्छ अनि मात्र ताला खुल्छ, त्यसरी नै डकिङ विधिबाट प्रोटिन र लिगन्ड (समाउन सक्ने अणु)को सही जोडा पत्ता लगाइसकेपछि मात्र उक्त यौगिकको औषधि हुन आवश्यक अन्य मापदण्डबारे अध्ययन गरिन्छ। 

संक्रमितको फोक्सो तथा श्वास–प्रश्वास प्रणाली युद्धमैदानमा परिणत हुन्छ । फोक्सोको कार्यक्षमता घट्छ, अक्सिजन परिपूर्ति गर्न सक्दैन । फोक्सोमा उत्पन्न भएका बिग्रे–भत्केका कोषको पुनर्निर्माण र फोहोर व्यवस्थापन पनि प्रतिरोध प्रणालीले गर्नुपर्ने हुन्छ । अन्त्यमा शरीरले सम्पूर्ण प्रतिरोध शक्ति लगाएर फोक्सोको बचावट गर्ने प्रयास गर्छ । यस अन्तिम लडाइँ यति भयानक हुन्छ कि यसमा बिरामीको मृत्यु पनि हुन सक्छ ।

प्रस्तावित औषधीय उमेद्वारको लिगन्डसँगको गठजोड, जैविक, चिकित्सकीय, स्थिरता, प्राप्यता एवं अल्पकालीन र दीर्घकालीन दुष्प्रभाव (साइड इफेक्ट)को विस्तृत अध्ययन र अनुसन्धानका नतिजाका आधारमा मात्रै उक्त पदार्थलाई औषधि निर्माण प्रक्रियामा अघि बढाउन सकिन्छ।

औषधीय पदार्थको निक्र्योल गरिसकेपछि निश्चित प्रोटोकलअनुसार शरीरबाहिर (इन–विट्रो), जनावर मोडेल (इन–विवो)वा मानव स्वयंसेवक तथा बिरामीमा विभिन्न चरणका क्लिनिकल ट्रायल गरी त्यसका सकारात्मक र नकारात्मक नतिजाहरूको बृहत्तर मूल्यांकन गरिन्छ । सम्बन्धित नियामक संस्थाहरूद्वारा स्थापित परीक्षण, कानुनी, व्यावहारिक, आचारसंहिताजन्य मानक पूरा गरेपछि उक्त पदार्थले ‘औषधि हुनयोग्य यौगिक’को मान्यता प्राप्त गर्छ।

यसपछि मात्र उत्पादन र प्रयोगको लागि अनुमतिको प्रक्रिया अगाडि बढ्छ । यसरी हेर्दा औषधि र भ्याक्सिन निर्माण प्रक्रिया हतार र रातारात गर्नै हुँदैन । स्थापित वैज्ञानिक र स्वास्थ्य अनुसन्धानका सम्पूर्ण मापदण्ड पूरा नगरी औषधीय मान्यता प्राप्त हुने कुरै आउँदैन। 

संक्रमितको फोक्सो तथा श्वास–प्रश्वास प्रणाली युद्धमैदानमा परिणत हुन्छ । फोक्सोको कार्यक्षमता घट्छ, अक्सिजन परिपूर्ति गर्न सक्दैन । फोक्सोमा उत्पन्न भएका बिग्रे–भत्केका कोषको पुनर्निर्माण र फोहोर व्यवस्थापन पनि प्रतिरोध प्रणालीले गर्नुपर्ने हुन्छ । अन्त्यमा शरीरले सम्पूर्ण प्रतिरोध शक्ति लगाएर फोक्सोको बचावट गर्ने प्रयास गर्छ । यस अन्तिम लडाइँ यति भयानक हुन्छ कि यसमा बिरामीको मृत्यु पनि हुन सक्छ ।

कोरोना भाइरसविरुद्ध औषधि अथवा भ्याक्सिन विकासका लागि यसको बनावट तथा संक्रमणको मेकानिज्म स्पष्ट गरी उसको जीवन–चक्रको सबैभन्दा कमजोर र महत्वपूर्ण अवस्थामा आक्रमण गरी यसले उत्पन्न गर्ने रोगबाट बचाउन सकिन्छ।

सार्सकोभ–२ भनेको अत्यन्त सूक्ष्म करिब ०.१२० माइक्रोन साइजको गोलाकार वस्तु हो । यसको केन्द्रमा आनुवंशिक गुण वहन गर्ने खोलसहितको राइबोन्युक्लिक एसिडको त्यान्द्रो हुन्छ, त्यसैले यसलाई ‘आरएनए भाइरस’ पनि भनिन्छ । यसको बाहिरी घेरा लिपिड (बोसो जस्तै)को दोहोरो पत्रले बनेको हुन्छ । बाहिरी सतह स–साना काँडाजस्ता स्पाइक प्रोटिन तथा खोल बनाउने प्रोटिन आदिले बनेको हुन्छ।

सार्सकोभ–२ को काँडेदार स्पाइक प्रोटिन संक्रमित कोषमा ग्रहणकर्ता, इन्डोसम, ए/सि/इ–२, टि/एम/पि/आर/एस/एस–२ आदि इन्जाइमको सहायताले टाँसिन्छ र आफ्नो आरएनएभित्र पठाइदिन्छ । त्यसपछि विभिन्न रासायनिक तथा जैविक इन्जाइमहरूको सहसंयोजनमा संक्रमित कोषभित्र आफ्ना आरएनएका प्रतिलिपिहरू बनाउँछ। 

बिस्तारै सबै आरएनए त्यान्द्राहरूमा बाहिरी पत्र बन्न थाल्छ र ठूलो संख्यामा भाइरसका नयाँ पुस्ताका कण बन्छन् । अब उक्त होस्ट कोष फुट्छ र नयाँ भाइरसबाहिर आई तुरुन्तै अरू स्वस्थ कोषमाथि आक्रमणको चक्र चलाउँछन्। 

यो भाइरस श्वास–प्रश्वास प्रणालीमा आक्रमण गर्ने खालको भएकाले संक्रमणको केन्द्र फोक्सो नै हुन्छ । तुरुन्तै उक्त आक्रमणविरुद्ध शरीरले विभिन्न किसिमका एन्टीबडी र लड्ने खालका कोषद्वारा प्रतिरोध सुरु गर्छ । संक्रमितको फोक्सो तथा श्वास–प्रश्वास प्रणाली अब एउटा अणुतहको युद्ध–मैदानमा परिणत हुन्छ। 

यो युद्ध यति भयानक हुन्छ कि यसले संक्रमितलाई ज्वरो आउने तथा हाच्छ्युँ र रुघाखोकी लाग्ने गर्छ । फोक्सोको कार्यक्षमता घट्न जान्छ र यसले शरीरलाई आवश्यक अक्सिजन परिपूर्ति गर्न पनि सक्दैन । बिरामीको छाती घ्यारघ्यार गर्न थाल्छ । बिरामी शिथिल र कमजोर भएकाले जिउ तथा जोर्नी दुख्न थाल्छ। 

अब त रणमैदानजस्तै भएको फोक्सोमा उत्पन्न भएका बिग्रे–भत्केका कोष र तन्तुको पुनर्निर्माण र फोहोर व्यवस्थापन पनि प्रतिरोध प्रणालीले गर्नुपर्ने हुन्छ । फोक्सोमा चिप्लो र तरल पदार्थ भरिन सुरु गर्छ । फोक्सो यति कमजोर भइसकेको हुन्छ कि यसले सास पुर्‍याउनै सक्दैन। 

बिरामीलाई सास लिन भेन्टिलेटरमा राख्नुपर्छ । भनौँ, कडा खालको निमोनिया विकास भइसकेको हुन्छ र बिरामी हलचल गर्न नसक्ने अवस्थामा पुग्छ । अबको चरणमा शरीरले आफ्नो सम्पूर्ण प्रतिरोध शक्ति लगाएर फोक्सोको बचावट गर्ने प्रयास गर्छ। 

यस अन्तिम लडाइँ यति भयानक हुन्छ कि यसमा बिरामीको मृत्यु पनि हुन सक्छ तथा निको भएमा फोक्सोमा स्थायी घाउसमेत देखिन सक्छन् । जसको प्रतिरोध क्षमता सबल छ, उसले भाइरसलाई परास्त गर्छ र निको हुन्छ । प्रतिरोध क्षमता कमजोर भएका, डाइबिटिज, मुटु, ब्लडप्रेसर, क्यान्सर, मिर्गौला आदिका बिरामीको सम्पूर्ण श्वास–प्रश्वास प्रणाली नै निष्क्रिय भइदिन्छ र संक्रमितको मृत्यु हुन्छ।

यस भाइरसविरुद्ध प्रयुक्त हुने औषधिले बिरामीका नियमित जैविक प्रक्रियालाई हानि नपुर्‍याई भाइरसको प्रवेश, पुनरुत्पादन तथा मानव कोषमाथिको आक्रमणलाई निस्तेज पारी बिरामीलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने हुन्छ। 

सबै औषधिका केही न केही दुष्परिणाम (साइड–इफेक्ट) त हुन्छन् नै तथापि ‘नाफा–घाटाको’ हिसाब–किताब र मूल्यांकन गरेर ‘न्यूनतम क्षतिमा अधिकतम फाइदा’ प्रदान गर्ने यौगिक नै औषधिको रूपमा प्रयोग हुन सक्छ। 

मलेरिया, लुपस तथा आर्थराइटिस उपचारमा प्रभावकारी क्लोरोक्विन तथा हाइड्रोक्सिक्लोरोक्विनलाई कोभिड–१९ विरुद्ध विभिन्न चरणमा परीक्षण गरी सकारात्मक नतिजा प्राप्त भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त हाइड्रोक्सिक्लोरोक्विनलाई ‘गेमचेन्जर’ नै हुन सक्ने भनी भारतसँग निर्यात गर्न अनुरोध नै गरेका थिए। 

कुनै पनि औषधि निर्माणका लागि सर्वप्रथम वैज्ञानिकहरू जैविक प्रणालीमा उत्पन्न रोग निम्त्याउने गडबडीको खोजी गर्छन् । त्यहाँ रासायनिक प्रतिक्रिया गर्न सक्ने कार्यात्मक समूहको गतिविधि विश्लेषण गरी त्यसमा भएको खराबी यकिन गर्छन् । अब बाहिरबाट आक्रमण गर्ने जीवाणु र विषाणुले कुन भाग अथवा कार्यप्रणालीलाई अवरुद्ध गरेको छ, त्यसको पहिचान गरिन्छ । अनि मात्र औषधीय अणुको खोजी सुरु हुन्छ।

क्लोरोक्विन तथा हाइड्रोक्सिक्लोरोक्विनले भाइरसको कोषभित्र प्रवेश गर्ने सिस्टमलाई लाइसोसोमल तथा होस्टको ग्रहण क्षमतामा विचलन ल्याई अवरुद्ध पारिदिन्छ । भाइरस कोषभित्र प्रवेश गर्न नसकेपछि शरीरको प्रतिरोध क्षमताद्वारा नष्ट हुन्छ र रोग बढ्न पाउँदैन । तथापि खतरनाक खालका दुष्परिणाम, जस्तै– पखाला, मुटु र नशाजन्य समस्या, डाइबेटिज, आँखा, केन्द्रीय स्नायुप्रणाली, पाचनतन्त्रमा आघातहरू देखिन सक्छन् । यसकारण यसको प्रयोगमा वैज्ञानिकहरूबीच मतैक्य छैन।

त्यस्तै लोपिनाभिर (रिटोनाभिर) एड्स तथा इन्फ्लुएन्जाविरुद्धको प्रभावकारी औषधि हो । यसले भाइरसको सन्तति उत्पादन प्रक्रियालाई निस्तेज पारिदिन्छ । यसलाई चिनियाँहरूले सार्स तथा मर्सका विरुद्द परीक्षण गर्दा प्राप्त सकारात्मक नतिजाका आधारमा कोभिड–१९ विरुद्ध पनि परीक्षण गरिरहेका छन्। 

तर, यसबाट हेमोफेलिया, पेन्क्रियाज, कार्डियोभस्कुलर समस्या, कलेजो संक्रमण, पखाला आदिजस्ता दुष्परिणाम पैदा गर्न सक्ने भएकाले यसलाई औषधिको मान्यता दिइएको छैन । हालै मात्र पनि अमेरिकाको खाद्य तथा औषधि प्रशासनले गिलियड कम्पनीको रेमडेसिविर भन्ने औषधिलाई कोभिड–१९का सख्त बिरामीमा ‘इमर्जेन्सी प्रयोग’को अनुमति प्रदान गरेको छ। 

इबोलाको उपचारमा असफल रहेको यो औषधिले अमेरिकामा कोभिड–१९ महामारीमा प्रयोग गर्दा सकारात्मक नतिजा दिएको छ । यसले मानव नाक तथा श्वासनलीका बाहिरी कोषभित्र प्रवेश गरेका भाइरसको ‘प्रतिलिपि बनाउने प्रक्रिया’लाई अवरुद्ध पारी रोगीलाई निको गराउँछ । गर्भस्थ शिशु, मिर्गौला तथा कलेजोमा घातक दुष्परिणाम गर्न सक्ने यस यौगिकले पनि पूर्ण औषधिको मान्यता प्राप्त गर्न सकेको छैन ।

हालसम्म कुनै पनि औषधिलाई आधिकारिक मान्यता नभएकाले यो संक्रामक रोगको महामारीबाट बच्ने उचित उपाय भनेको यसको आक्रमणबाट जोगिनु नै हो ।

यसका लागि अवलम्बन गरिएको लकडाउन, परीक्षण, एकान्तवास र सामान्य उपचार नै प्रभावकारी उपाय हुन् । आशा गरौँ, चाँडै नै वैज्ञानिक तथा अनुसन्धानकर्ताले प्रभावकारी औषधि र खोपको विकास गरी यस अदृश्य शत्रुले निम्त्याएको विश्व महामारीमाथि विजय प्राप्त गर्ने नै छन्।
(खनाल पृथ्वीनारायण क्याम्पसका रसायनशास्त्रका उपप्राध्यापक हुन्)