मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ बैशाख २३ मंगलबार ११:२९:००
Read Time : > 1 मिनेट
विश्व

कस्मिरका फोटो पत्रकारलाई पुलित्जर पुरस्कार 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ बैशाख २३ मंगलबार ११:२९:००

भारतका तीनजना फोटो पत्रकार विश्वकै प्रतिष्ठित पुलित्जर पुरस्कारबाट सम्मानित भएका छन् । उनीहरू जम्मु–कस्मिरका हुन् । फोटो पत्रकार यासिन डार, मुख्तार खान र चन्नी आनन्दलाई पुलित्जर फोटोग्राफी पुरस्कार प्रदान गरिएको हो । 

यी पत्रकार समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) मा आबद्ध छन् ।  

भारत सरकारको गत वर्ष ५ अगस्टमा जम्मु–कस्मिरको विशेषाधिकारसँग सम्बन्धित संविधानको धारा ३७० खारेज गर्ने निर्णयपछि कस्मिरमा बढेको तनावको अवस्थामा आधारित तस्बिरका लागि उनीहरूलाई पुरस्कृत गरिएको हो । 

भारत सरकारले जम्मु–कस्मिरको सम्पूर्ण राज्य दुईवटा केन्द्र शासित प्रदेश जम्मु–कस्मिर र लद्दाखमा विभाजित गर्ने निर्णय गऱ्यो । यसभन्दा अघि कस्मिरका प्रमुख नेताहरूलाई नजरबन्दमा राखिएको थियो । त्यहाँ कर्फ्यु महिनौँसम्म लागेको थियो र टेलिफोन, इन्टरनेट सेवा पनि प्रतिबन्धित थियो । 

यस्तै, अमेरिकी लेखक कोल्सन ह्वाइटेड फिक्सनतर्फ दोस्रोपटक पुलित्जर पुरस्कार जितेका छन् । फ्लोरिडाको बालसुधार विद्यालयमा अश्वेत बालकमाथि हुने गरेको दुर्व्यवहारबारे लेखिएको निकल बोइजका लागि उनले यस वर्षको पुलित्जर पुरस्कार जितेका हुन् । उनी अश्वेत अमेरिकी हुन् । 

ह्वाइटेडले यसभन्दा अगाडि सन् २०१७ मा अन्डरग्राउन्ड रेलरोडका लागि पुलित्जर पुरस्कार जितेका थिए । यसभन्दा अगाडि बुथ तार्किङटन, विलियम फाउलकनर र जोन अपडाइके फिक्सनका लागि दुई–दुईपटक यो पुरस्कार जितेका थिए । 

न्युयोर्क टाइम्स, एन्करेज डेली न्युज, प्रो पब्लिकाले यस पुरस्कार जितेका छन् । यी तीन पत्रिकालाई अमेरिकामा भ्रष्टाचार, ल इन्फोर्समेन्ट, यौन हिंसा र नश्लभेदजस्ता विषयमा अनुसन्धानत्मक रिपोटिङ गरेका आधारमा पुरस्कार प्रदान गरिएको हो । न्युयोर्क टाइम्सले तीनवटा विधामा पुरस्कार जितेको छ । 

योबाहेक ‘द न्यु योर्कर’, ‘द वासिंगटन पोस्ट’, ‘द एसोसिएटेड प्रेस’, ‘द लस एन्जलस टाइम्स’, ‘द बाल्टिमोर सन’, ‘द प्यालेस्टाइन हेराल्ड प्रेस’ले पनि विभिन्न समाचारका लागि पुरस्कार जितेका छन् । 

कोरोना भाइरसको महामारीका कारण यसको घोषणा केही समय पछाडि धकेलिएको थियो । सोमबार राति पुलित्जरकी व्यवस्थापक डाना केनेडीले आफ्नो घरबाट यो वर्षको पुरस्कार विजेताको घोषणा गरेकी हुन् । यो पुरस्कार सन् १९१७ देखि प्रदान गर्दै आइएको छ । यो पुरस्कार संगीत, साहित्य, रचना एवं पत्रकारिता क्षेत्रमा दिइने एक प्रतिष्ठित पुरस्कार हो ।