मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ बैशाख २३ मंगलबार ०६:२९:००
Read Time : > 1 मिनेट
सप्तरंग

अमेरिकन आइडलको टप–१० मा दिवेश

Read Time : > 1 मिनेट
२०७७ बैशाख २३ मंगलबार ०६:२९:००

नेपाली मूलका दिवेश पोखरेल अमेरिकन आइडलको टप–१० मा पुग्न सफल भएका छन् । ‘आर्थर गन’ नामले परिचित उनी अनलाइन भोटिङबाट टप–१० मा परेका हुन् । उनले करिब तीन करोड ६० लाख भोट प्राप्त गरेका छन् । ‘आर्थर गन’ उनलाई स्टेजमा बोलाइने नाम हो ।

सन् २०१८ मा उनले आफ्नो उपनाम ‘आर्थर गन’ राखेका थिए । आइडलको पहिलो अडिसनमा उनले अमेरिकी रक ब्यान्ड ‘क्रिडेन्स क्लियरवाटर रिभाइभल’को गीत ‘ह्याभ यु एभर सिन दी रेन’ तथा अमेरिकी गायकद्वय बब डिलन र जोनी क्यासको ‘गर्ल फ्रम दी नर्थ कन्ट्री’ गाएका थिए । प्रस्तुतिलगत्तै आइडलमा निर्णायक रहेकी गायिका केटी पेरीले उनको नाम सोधिन् । र, भनिन्, ‘दिवेश, यु आर पोसिब्ली दी बेस्ट’ ।

‘आर्थर गन’ नामले परिचित दिवेश पोखरेल अनलाइन भोटिङबाट टप–१० मा परेका हुन् । उनले करिब तीन करोड ६० लाख भोट प्राप्त गरेका छन् ।

उनको प्रस्तुतिबाट प्रभावित अर्का निर्णायक तथा गायक लुक ब्रायनले उनलाई दुई साताभित्र मिचिगनमा हुन लागेको आफ्नो कन्सर्ट उद्घाटनका लागि आमन्त्रण गरेका थिए । अर्का निर्णायक लियोनेल रिचीले त उनीनजिक पुगेर उत्साहित हुँदै भनेका थिए, ‘तिमीलाई थाहा छैन तिम्रा लागि यो यात्रा कस्तो हुनेछ ।’ पहिलो अडिसनको भिडियो क्लिपबाटै पोखरेल सामाजिक सञ्जालमा छाए ।

खासमा, संगीत उनको सोख मात्र थियो । तर, बिस्तारै संगीतमै केही गर्छु भन्ने लागेपछि आफ्नै युट्युब च्यानल खोले । ‘आर्थर गन’ नामको उनको च्यानलले दुई लाख ४९ हजार सब्स्क्राइब पाएको छ । सोही च्यानलबाट उनले आठवटा गीत रहेको एल्बम ‘ग्रहण’ सार्वजनिक गरे । तीमध्ये ‘न्यानो घर’, ‘कर्णाली’, ‘खोज’, ‘प्रलय’ बोलका गीत युवा पुस्तामाझ चर्चित छन् ।

२१ वर्षका उनी पाँच वर्षदेखि परिवारसँगै अमेरिकाको मध्यपश्चिमी राज्य क्यान्जसमा बस्दै आएका छन् । काठमाडौंमा जन्मे÷हुर्केका पोखरेल अमेरिकन आइडलमा पुग्ने पहिलो नेपाली हुन् । काठमाडौंमा हुँदा पनि उनी पब र कफी हाउसतिर प्रस्तुति दिने गर्थे । सुरुमा साथीभाइबीच रमाइलोका लागि मात्र गाउने उनी एल्बम निकालेपछि भने गम्भीर रूपमा गायनतिर ढल्केका हुन् ।