मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २२ सोमबार ०७:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पौने दुई करोड धरौटी रकम बुझाएर साहुकार रामबाबु यादव रिहा 

अदालतले १५ लाख धरौटीमा छाडेपछि सम्पत्ति शुद्धीकरणमा छानविन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २२ सोमबार ०७:३१:००

सर्लाही बरहथवा–१० सीतापुरका साहुकार रामबाबु राय यादव रिहा भएका छन् । अदालतमा एक करोड ७५ लाख रुपैयाँ धरौटी रकम बुझाएपछि उनी आइतबार हिरासतमुक्त भएका हुन् । अनुसन्धानका क्रममा यादवले २८ जनाबाट २० करोड ४० लाख रुपैयाँभन्दा धेरै रकम ठगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गरेको थियो । तर, अदालतले १५ लाख रुपैयाँ मात्रै धरौटी बुझाएर उनलाई थुनामुक्त गर्न जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको थियो । 

अदालतले आदेश दिएलगत्तै उनलाई सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत ५ फागुनमा सर्लाही जिल्ला अदालत परिसरबाट पक्राउ गरेको थियो । यसअघि उनी ठगी मुद्दाअन्तर्गत २३ पुसमा जिल्ला प्रहरी कार्यालयबाट पक्राउ परेका थिए । १५ लाख रुपैयाँ धरौटी रकम तिरेर अदालतबाट निस्कँदै गरेका उनलाई सिआइबीले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न भन्दै पुनः पक्राउ गरेको थियो ।

सिआइबी प्रमुख डिआइजी सहकुल थापाले एक करोड ७५ लाख रुपैयाँ धरौटीबापतको रकम बुझाएपछि यादव हिरासतमुक्त भएको बताए । ‘सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत पक्राउ परेका उनीविरुद्ध गम्भीर अनुसन्धान हुँदै थियो । यही क्रममा उनले धरौटीबापतको रकम बुझाएपछि हिरासतमुक्त भएका छन्,’ उनले भने ।

ऋण दिँदा दृष्टिबन्धक मात्र होइन, रजिस्ट्रेसन नै पास गरी सर्वसाधारणको जग्गा हडप्ने धन्दामा संलग्न भएको अभियोगमा जिल्ला प्रहरी कार्यालयले यादवलाई गत २३ पुसमा पक्राउ गरेको थियो । उनीविरुद्ध सर्लाहीका २८ जनाले ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीपछि प्रहरीले यादवविरुद्ध २५ दिनसम्म गहन अनुसन्धान गरेको थियो ।