मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २२ सोमबार ०६:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

शर्मा रथीमा बढुवा, एक वर्षपछि प्रधानसेनापति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २२ सोमबार ०६:४४:००

सरकारले सेनाका उपरथी प्रभुराम शर्मालाई रथी (तीनतारे जर्नेल) मा पदोन्नति गरेको छ । सेनाको २० बेसिकका अफिसर शर्माले आइतबारदेखि बलाध्यक्ष विभागको कार्यभार सम्हालेका छन् । रथी गौरव तण्डुलको पदावधि सकिएपछि शर्माको पदोन्नति भएको हो ।

शर्माले प्रधानसेनापति पूर्णचन्द्र थापाबाट दर्ज्यानी चिह्न लगाएका छन् । अहिलेको वरीयताक्रम र सेनाको कार्यप्रणालीअनुसार शर्मा भावी प्रधानसेनापति हुन् । सैनिक स्रोतका अनुसार परिस्थितिमा आकस्मिक फेरबदल नआएमा २०७८ भदौ अन्तिम साता प्रधानसेनापति थापाको पदावधि सकिएपछि शर्माले सेनाको नेतृत्व गर्नेछन् ।

असारमा अहिलेका बलाधिकृत रथी शरद गिरीको पदावधि सकिएपछि शर्मा बलाधिकृत रथी हुनेछन् । त्यसवेला अहिलेका उपरथी ईश्वर हमाल वरीयताक्रममा माथि रहेका कारण तीनतारे जर्नेल (रथी)मा बढुवा भएर बलाध्यक्ष हुनेछन् ।

अहिले नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजका प्रमुख रहेका हमाल संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत सिरियाको गोलानहाइटका फोर्स कमान्डरमा छनोट भइसकेका छन् । बलाधिकृत रथी प्रधानसेनापतिपछिको वरीयताक्रम हो  । शर्मालाई १४ वैशाखमा मन्त्रिपरिषद्ले रथी पदमा बढुवा गरी बलाध्यक्ष रथीको जिम्मेवारी तोकेको हो ।

यसैबीच, सेनाका दुई सहायक रथी आनन्दकुमार अधिकारी र सञ्जय थापा उपरथीमा बढुवा भएका छन् । अधिकारीलाई उपत्यका पृतनाका पृतनापति तथा थापालाई मध्यपश्चिम पृतनाका पृतनापति तोकिएको छ  ।