मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७७ बैशाख २२ सोमबार ०४:४८:००
Read Time : > 4 मिनेट
मुख्य समाचार

नेकपा विवाद : दबाबमा परेका  दुवै समूहलाई समझदारीले राहत

Read Time : > 4 मिनेट
२०७७ बैशाख २२ सोमबार ०४:४८:००

प्रधानमन्त्री केपी ओलीले आत्मालोचना गरेर सचिवालय बैठक सुरु गरेपछि नेकपा विवाद समझदारीउन्मुख भयो । तर, ओलीले त्यसो नगरेको भए पनि आफ्नै सहकर्मीहरूका कारण प्रचण्ड–नेपाल समूह सम्झौताका लागि दबाबमा परिसकेको थियो ।  

प्रधानमन्त्री ओलीले संसदीय दलमा बहुमत पुर्‍याउन हस्ताक्षर अभियान चलाए पनि उनले बहुमत पुर्‍याउन सकेका थिएनन् । खासगरी प्रचण्ड–नेपाल समूहनिकट मानिने मन्त्रीहरूले प्रधानमन्त्रीको अभियानमा हस्ताक्षर गरेका थिएनन् । तर, उनीहरूले सरकारको नेतृत्व परिवर्तन गर्ने योजनालाई पनि खुलेर साथ दिएनन् । 

पूर्वमाओवादी समूहका रामबहादुर थापा बादल र लेखराज भट्ट खुलेरै प्रधानमन्त्रीको पक्षमा उभिए । त्यस्तै, वनमन्त्री शक्ति बस्नेत पनि सरकार परिवर्तनको पक्षमा थिएनन् । ऊर्जामन्त्री वर्षमान पुन पनि तटस्थ बसेका थिए । 

उता पूर्वएमाले समूहका घनश्याम भुसाल पनि सरकार परिवर्तनको पक्षमा सक्रिय भएनन् भने अर्का मन्त्री योगेश भट्टराईले त माधव नेपाल समूहको बैठकमा खुलस्त भनेका थिए, ‘हाम्रा असहमति राखौँ, तर प्रधानमन्त्री नै परिवर्तन गर्ने माग अहिले उठाउन उचित हुँदैन भन्ने मलाई लाग्छ ।’

उता भैंसेपाटी भेटघाटपछि पार्टी सचिवालयमा बहुमतमा रहेको गठबन्धन बालुवाटार पुग्दासमेत उल्टो भइसकेको थियो । महासचिव विष्णु पौडेल प्रधानमन्त्रीको पक्षमा उभिएनन् मात्र, उनले उपाध्यक्ष वामदेव गौतमलाई पनि ओलीको पक्षमा पुर्‍याए । गौतमलाई प्रतिनिधिसभामा जिताउने र प्रधानमन्त्री बनाउने ओलीको घोषणाका योजनाकार पौडेल नै हुन् । यसरी सचिवालयमा ओलीको पक्षमा पाँच र विपक्षमा चारजना मात्र हुने अवस्था आयो । 

तैपनि पार्टी स्थायी समिति, संसदीय दल र केन्द्रीय कमिटीबाट ओलीलाई दबाबमा राख्न सक्ने विकल्प प्रचण्ड–ओलीसँग थियो । तर, ओलीले ‘पार्टी नै फुट्छ कि जस्तो भयो, अब तितोपिरो बिर्सौँ, म प्रधानमन्त्री र पार्टी अध्यक्षको रूपमा मैले आत्मालोचना गर्छु, तपाईंहरूले पनि आ–आफ्नोतर्फबाट आत्मालोचना गर्नुस्, अब मिलेर अघि बढौँ, पार्टी बचाऔँ’ भनेपछि प्रचण्ड–नेपाल समूह अगाडि बढ्न सकेन । 

यसबाहेक चिनियाँ पक्षको सक्रियताले पनि प्रचण्ड–नेपाल समूहलाई एक कदम पछाडि हट्न बाध्य पार्‍यो । चिनियाँ राष्ट्रपतिसँग राष्ट्रपति विद्या भण्डारीको फोनवार्ता, दुई देशका विदेशमन्त्रीबीच फोनवार्ता, चिनियाँ राजदूतद्वारा प्रचण्ड र नेपालसँग एकैदिन छुट्टाछुट्टै भेट पनि नेकपामा युद्धविरामका लागि कारक बनेकोे पार्टी नेताहरूको समीक्षा छ । 

प्रचण्ड–नेपाल संवाद : एकताको सन्देशका लागि ओलीबाटै भरपर्दो ठोस प्रस्ताव आवश्यक

  • फाइल तस्बिर

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले विगतका कमजोरी सच्याउँदै पार्टी र सरकारलाई विधिसम्मत सञ्चालनका लागि प्रधानमन्त्री केपी ओलीबाटै भरपर्दो ठोस प्रस्ताव आउनुपर्ने निष्कर्ष निकालेका छन् । पार्टीभित्र उत्कर्षमा पुगेको विवाद समाधान गर्दै सहमतिका आधारमा अगाडि बढ्ने शनिबारको सचिवालय बैठकको निर्णयपछि बालकुमारीमा आइतबारको भेटवार्तामा दुई नेताले त्यस्तो निष्कर्ष निकालेका हुन् ।

कमी–कमजोरीको आत्मालोचनापछि पार्टीलाई सहमति र एकतासहित अघि बढाउने सैद्धान्तिक हिसाबले सचिवालयले सही निर्णय गरे पनि व्यवहारमा अनुवाद हुने गरी प्रधानमन्त्री ओलीले नै ठोस प्रस्ताव ल्याउनुपर्नेमा दुवै नेताको सहमति छ । २५ वैशाखमा बस्ने स्थायी कमिटीका लागि अघिल्लो दिन सचिवालय बैठक बोलाइएको सन्दर्भमा प्रचण्ड–नेपालले भरपर्दो ठोस प्रस्ताव खोजेका हुन् । विगतमा दम्भ र कठोर रूपमा प्रस्तुत हुँदै आएका ओली शनिबारको बैठकसम्म आउँदा कमजोरी सच्च्याउने ठाउँमा पुगेको र यो पार्टीलाई विधि–पद्धतिमा चलाउन सुरुवाती सकारात्मक कदम भएको दुई नेताको विश्लेषण छ । 

सचिवालय बैठकले पार्टीलाई विधि, पद्धति र कम्युनिस्ट मूल्य–मान्यतामा सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवादउन्मुख आर्थिक–सामाजिक रूपान्तरणको लक्ष्य हासिल गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय गरेको थियो । बुधबारको बैठकमा प्रधानमन्त्री र पार्टीअध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेका प्रचण्ड र नेपाल शनिबारको बैठकमा प्रधानमन्त्रीले आत्मालोचित हुँदै सहमतिमा अगाडि बढ्ने प्रस्ताव अगाडि सारेपछि नेकपा विवाद ‘युद्धविराम’को अवस्थामा टुंगिएको थियो ।

त्यसपछि आगामी बैठकको रणनीतिमा जुटेका प्रचण्ड र नेपालले आइतबार आफूनिटक नेताहरूसँग परामर्श गरेर भेटघाट गरेका थिए । ‘सहमति, संस्थागत निर्णय र एकतासहित पार्टीलाई अघि बढाउने सचिवालयले सही निर्णय गरेको छ, तर विगतका कमजोरी सच्च्याएर विधिका आधारमा विनाभेदभाव नेता–कार्यकर्तालाई जिम्मेवारी दिने सम्बन्धमा कार्यविधि, आचारसंहितासहितको दस्ताबेज आवश्यक छ भन्ने कुरामा उहाँहरूबीच समझदारी भएको छ,’ नेपालनिकट एक स्थायी समिति सदस्यले नयाँ पत्रिकासँग भने, ‘त्यसका लागि प्रधानमन्त्री ओलीले नै प्रतिबद्धताहरू व्यवहारमा अनुवाद हुने गरी स्थायी समितिअघि बस्ने सचिवालय बैठकमा ठोस प्रस्ताव आउनुपर्छ भन्ने निष्कर्ष हो ।’

शनिबारको सचिवालय बैठकमा पनि नेपालले विधि, मूल्य–मान्यताका आधारमा पार्टी सञ्चालन गर्ने कुरामा आफ्नो सहमति रहने भन्दै त्यसका लागि दुई अध्यक्षको मात्र ‘चोचोमोचो’ मिलाउने कुरा मान्य नहुने कुरा राखेका थिए । पार्टी एकतापछि दुईपटकसम्म लिखित ‘नोट अफ डिसेन्ट’ राखेका नेपालले विधि र प्रक्रियाअनुसार पार्टी सञ्चालन गर्ने मात्र आफ्नो माग रहेको भन्दै ओलीले राखेको तेस्रो अध्यक्षको प्रस्ताव पनि अस्वीकार गरेका थिए ।

भेटमा नेपालले सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीसँग भएको छुट्टै छलफलबारे प्रचण्डसँग जिज्ञासा राखेका थिए । स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्रीले आफूलाई मिलेर अघि बढ्न प्रस्ताव गरेको जानकारी गराउँदै त्यसबाहेकका थप कुराकानी नभएकाले आशंका नपाल्न आग्रह गरेका थिए । ‘ओलीजीले तपाईंले पार्टी सञ्चालन गर्नुस्, बरु कार्यकारी अधिकारलाई पनि थप परिभाषित गरौँला, म सरकार सञ्चालन गर्छु, अबदेखि सरकार पार्टीको निर्णय र मार्गनिर्देशनमै सञ्चालन हुन्छ, सबैको भूमिकाको सम्बोधन गरिन्छ भन्ने प्रस्ताव गर्नुभएको हो,’ नेपालको जिज्ञासामा प्रचण्डको भनाइ थियो, ‘त्यसबाहेक अरू कुनै नयाँ कुरा केही सहमति भएको छैन, कुनै भ्रम नपाल्दा हुन्छ, पार्टीलाई एकताबद्ध बनाएर लैजाने सन्दर्भमा अहिलेसम्मका कमजोरी सच्च्याएर अघि बढ्नका लागि आत्मालोचना गरेर एकतासहित अघि बढ्ने सहमति बनेको हो ।’ 

ओली र प्रचण्डले ४० मिनेट लामो बेग्लै छलफल गरेर बैठक सुरु गरेका कारण नेपालले छुट्टै समझदारीबारे आशंका गरेका थिए । प्रचण्ड र नेपालले उपाध्यक्ष वामदेव गौतमको भूमिकाबारे पनि समीक्षा गरेका थिए । प्रचण्ड–नेपाल समूहले एक व्यक्ति : एक मुख्य जिम्मेवारीको सिद्धान्त लागू गर्नुपर्ने, पार्टी र सरकार सञ्चालनका समस्याबारे खुलस्त छलफल हुनुपर्ने माग गर्दै आएका छन् । तीलगायत सबै विषयमा अब निर्णय गर्ने गरी नै छलफल गरेर जान सकिने प्रचण्डले बताएका थिए । स्थायी समिति सदस्य जनार्दन शर्माले पनि पार्टीलाई एकताबद्ध रूपमा विधिसम्मत ढंगले सञ्चालन गर्ने सचिवालयले सही निर्णय गरेकाले बाँकी कुरा स्थायी समिति बैठकमै विस्तृतमा छलफल हुने बताए । ‘२० जना स्थायी समिति सदस्यहरूले सामूहिक रूपमै माग गरेअनुसार बैठक डाकिएको छ, हामीले ध्यानाकर्षणपत्रमा प्रस्तुत गरिएका मागहरूमै आधारित भएर स्थायी समिति बैठकमा छलफल हुन्छ र त्यही निष्कर्षका आधारमा पार्टीलाई अघि बढाउनुपर्छ,’ शर्माले भने ।

आन्तरिक भेलामा नेपालको ब्रिफिङ– प्रचण्ड सहजै ‘कन्भिन्स’, वामदेव गौतमको भूमिका भने अस्थिर

वरिष्ठ नेता नेपालले सचिवालयको निर्णयबारे समूहका स्थायी समिति र केन्द्रीय कमिटी सदस्य तथा निकट सांसदहरूलाई ‘ब्रिफिङ’ गरेका छन् । कोटेश्वरस्थित वन पैदावारको कार्यालयमा नेता नेपालले भावी रणनीतिमा केन्द्रित रहेर स्थायी समिति सदस्यहरूबाट सुझाबसमेत लिएका थिए । 

‘पहिले भएको अधिकार बाँडफाँडअनुसार कार्यकारी अध्यक्षका रूपमा तपाईंले पार्टी चलाउनुस्, म सरकार चलाउँछु भन्ने केपीजीको प्रस्तावमा प्रचण्डजी सहजै विश्वस्त हुनुभएको देखियो, पार्टीलाई मिलाएर चलाऊँ, एकतासहित अघि बढौँ भन्ने राम्रै प्रस्ताव पनि हो,’ नेपालको ब्रिफिङ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘बाहिरबाट हेर्दा प्रचण्डजीलाई फकाएको र उहाँ फकिएजस्तो देखिए पनि पार्टीलाई विधिसम्मत सञ्चालन गर्ने सन्दर्भमा प्रधानमन्त्रीसहित सबैको सहमति रहेकाले त्यसरी धेरै आशंका गर्नुपर्ने स्थिति छैन ।’

यद्यपि, उपाध्यक्ष वामदेव गौतमको भूमिका भने अस्थिर पात्रका रूपमा देखिएको नेपालको भनाइ थियो । ‘उहाँले त बालुवाटारमा सहमति भइसकेपछि प्रचण्डजीलाई पनि भेटेर माधव नेपालको कुनै भर नगर्नुस्, धोका दिन सक्छन्, मिलेर अघि बढ्ने गरी कुनै योजना नबनाउनुस् भन्दै कान फुक्नसमेत भ्याइसक्नुभएछ,’ नेपालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने । गौतमले आफूलाई विधि, मूल्य–मान्यताबाट विचलित भएर ‘अवसरवादी’ चरित्र देखाएको भेलामा चर्चा पनि भएको थियो । ‘वामदेव कमरेडको पछिल्ला गतिविधि राजनीतिक अवसानको पन्जापत्रमा गरिएको हस्ताक्षर नै हो,’ केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने । 

पहिलो चरणमा नेपालनिकट केन्द्रीय सदस्यहरू जगन्नाथ खतिवडा, नीरज आचार्य, कल्याणी खड्का, विष्णु रिजाल तथा निकट सांसदहरूसहित करिब तीन दर्जन सहभागी थिए । उनीहरूसँगको छलफललगत्तै नेपालले निकट स्थायी समिति सदस्यहरूसँग बेग्लै छलफल गरेका थिए । स्थायी समिति सदस्य युवराज ज्ञवालीले नेता नेपालले सचिवालयको निर्णयको ब्रिफिङ गरेपछि आफूहरूले पनि सुझाब दिएको बताए ।

दिनभर निकट नेता र सांसदहरूसँग छलफल गरेका नेपालले आगामी दिनको रणनीतिमै केन्द्रित रहेर अझै केही दिन निकटस्थहरूसँगको छलफललाई निरन्तरता दिने उनको सचिवालयले जनाएको छ । नेपालनिकट अर्का स्थायी समिति सदस्य बेदुराम भुसालले सचिवालयले राम्रो निर्णय गरे पनि अहिल्यै जस्ताको–तस्तै पूर्ण रूपमा विश्वस्त हुने आधार नबनिसकेको बताए । ‘सचिवालयले राम्रो निर्णय गरेको छ, तर अहिल्यै पूर्ण समर्थन वा विश्वास गरिहाल्ने अवस्था बनिसकेको छैन, सचिवालय र स्थायी समिति बैठक पनि बस्दै छ,’ भुसालले भने ।

आफूनिकट नेताहरूसँग माधव नेपालले भने– वामदेव कमरेडको भूमिका अस्थिर पात्रका रूपमा देखियो । उहाँले त बालुवाटारमा सहमति भइसकेपछि प्रचण्डजीलाई पनि भेटेर माधव नेपालको कुनै भर नगर्नुस्, धोका दिन सक्छन्, मिलेर अघि बढ्ने गरी कुनै योजना नबनाउनुस् भन्दै कान फुक्नसमेत भ्याइसक्नुभएछ ।