मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ बैशाख २१ आइतबार १९:५९:००
Read Time : > 1 मिनेट
समाचार

मापदण्डअनुसारको क्वारेन्टाइन नभएको भन्दै अदालतमा रिट दायर

Read Time : > 1 मिनेट
२०७७ बैशाख २१ आइतबार १९:५९:००

भारत तथा तेस्रो मुलुक र जिल्लाबाहिरबाट जुम्ला भित्रिने नागरिकलाई यहाँका स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरे पनि मापदण्डअनुसार क्वारेन्टाइन नभएको भन्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासमा आइतबार रिट दायर गरिएको छ ।

नेपालको संविधान धारा १४४ (१) (२) बमोजिम विशेष तथा उपयुक्त अन्तरिम आदेशसहितको परमादेशको आदेश जारी गरिपाउँ भनी अधिवक्ता पदमबहादुर शाहीले रिट दायर गरेका हुन् ।
  
मुख्यमन्त्री, मन्त्रिपरिषद्को कार्यालय, मन्त्री तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयसहित जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाविरुद्ध रिट दायर गरिएको हो । त्यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी, संयोजक, क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन समिति जुम्लालाई पनि दायर रिटमा विपक्षी बनाइएको छ ।

कानुन व्यवसायी अधिवक्ता शाहीले मापदण्डअनुसार क्वारेन्टाइन नभएको, बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा नराखेको, क्वारेन्टाइनमा राखे पनि निमुखा सर्वसाधारणलाई राखिएको बताए । 

क्वारेन्टाइनमा बसेका व्यक्तिले पनि आवश्यक व्यवस्थापन नभएको गुनासो गर्न थालेपछि रिट दायर गर्नुपरेको उनले बताए । त्यसैगरी क्वारेन्टाइनमा राखिएका व्यक्तिको पनि समयमा कोरोना परीक्षण गरिएको छैन । कोरोना परीक्षणका लागि समयमा किट पनि ल्याउन नसकिएकाले अदालतमा रिट दायर गर्नुपरेको उनको भनाइ छ ।
 
क्वारेन्टाइन स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड ०७६ विपरीत लकडाउनबीच स्थानीय प्रशासनलाई समेत प्रभावमा पारी हजारौँ मानिसलाई जिल्ला भित्र्याएकाले कोरोना भाइरस फैलने त्रास बढेको दायर गरिएको रिटमा उल्लेख छ । 

लकडाउन अवधिभरि जुम्लामा १० हजार तीन सय ४९ जना जिल्ला भित्रिएका छन् । बाहिरबाट आएकामध्ये ६ सय २६ जना क्वारेन्टाइनमा बसेका छन् भने चार सय ५३ जना १४ दिनपछि क्वारेन्टाइनबाट घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले तथ्यांक सार्वजनिक गरेको छ । 

त्यसैगरी पाँच सय ५८ जना होम क्वारेन्टाइनमा बसेका छन् । पाँच सय एकको कोरोना परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाभर सात सय ३४ बेडको क्वारेन्टाइन र एक सय २० बेडको आइसोलेसन अस्पताल रहेको छ ।
 
कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर एक सय ३८ जना स्वास्थ्यकर्मी परिचालित छन् ।