१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख २० शनिबार २०:४४:००
Read Time : > 2 मिनेट
राजनीति

नेकपा सचिवालय बैठक सकियो, वामदेवलाई चुनाव लडाउने निर्णय

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख २० शनिबार २०:४४:००

नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभाको चुनावमा लडाउने निर्णय गरेको छ । उपयुक्त समयमा उम्मेदवार बनाउन पहल गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । वैशाख २५ मा स्थायी कमिटी बैठक बोलाइएको छ ।

माधव नेपाललाई अध्यक्ष बनाउने विषय भने टुंगिएको छ । नेपाल अध्यक्ष बन्ने ओलीको प्रस्तावमा आज थप छलफल भएन । नेकपाका वरिष्ठ नेता नेपाल आफैले तेस्रो वरीयताको अध्यक्ष बन्न अस्वीकार गरेका थिए ।

सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले भने–

केन्द्रीय सचिवालयको आजको बैठकले हाम्रो पार्टीको आन्तरिक जीवनमा देखापरेको संकटलाई समाधान गर्ने गरी एकताबद्ध भएर पार्टी एकताको पक्षमा दृढ रहने संकल्प गरेको छ । पार्टी एकतालाई रक्षा गर्ने र त्यसलाई सुदृढ बनाउने तथा पार्टी एकतालाई कमजोर पार्ने, पार्टीलाई फुटउन्मुख गर्ने कुनै पनि क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिने निर्णय भएको छ । पार्टीलाई एकताबद्ध राख्ने, पार्टीलाई विधि, पद्धति र कम्युनिस्ट मूल्यमान्यताअन्तर्गत सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशन, नीति–निर्देशनमा सरकार सञ्चालन गर्ने, सरकारले देश र जनताको पक्षमा समाजवादउन्मुख समृद्धि वा सामाजिक–आर्थिक रूपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय पनि लिएको छ । 

यसक्रममा पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरूमा जे–जति कमी–कमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क. केपी ओलीले समेत आत्मालोचना गर्नुभएको छ । आफ्नो हकको जिम्मेवारीका निम्ति त्यसैगरी अध्यक्ष क. प्रचण्ड र अरू कमरेडहरूले पनि त्यहीअनुसार आत्मालोचित हुँदै अघि बढ्ने संकल्प बैठकले गरेको छ ।  अहिलेको एकता, सहमति र समाधानको निष्कर्षअनुरूप पार्टीलाई दिशानिर्देशित गर्ने गरी र त्यसको निम्ति आवश्यक छलफल गर्ने गरी स्थायी कमिटीको बैठक यही वैशाख २५ गते ११ बजे काठमाडौंमा बस्ने निर्णय पनि भएको छ । यसको तयारीका लागि पार्टी सचिवालयको बैठक २४ गते ३ बजे बस्नेछ । 

पार्टी केन्द्रीय सचिवालयले पार्टी उपाध्यक्ष क. वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने र प्रतिनिधिसभामा ल्याउन पहल गर्ने निर्णय पनि लिएको छ । र, सिंगो पार्टीलाई अहिलेको सन्दर्भमा, सिंगो देश एकताबद्ध भइरहेको सन्दर्भमा अझ बढी एकताबद्ध भएर कोरोना भाइरस संक्रमणलाई पराजित गर्न र त्यसमाथि विजयी हुन लाग्न पनि सम्पूर्ण राजनीतिक पार्टीहरू, नागरिक समाज र पार्टीपंक्तिलाई आह्वान गरेको छ । 

अब सरकारले छिट्टै संसद्को अधिवेशन बोलाउने तयारी गरेको पनि प्रधानमन्त्री एवं पार्टीअध्यक्षले बैठकलाई जानकारी गराउनुभयो । पार्टीमा पनि सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेटबारेसमेत छलफल अगाडि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक–आर्थिक रूपान्तरणको कार्यक्रमलाई अगाडि बढाउने गरी र अहिलेको कोरोना संक्रमणले पैदा गरेको आर्थिक संकटलाई समेत सम्बोधन गर्ने गरी अगाडि बढ्ने पनि निष्कर्ष निकालेको छ । 


प्रतिनिधिसभामा आएपछि प्रधानमन्त्री बन्ने बाटो खुल्छ 

प्रतिनिधिसभाको उम्मेदवार बनाएर उहाँ (वामदेव) लाई प्रतिनिधिसभामा ल्याउन पहल गर्ने निर्णयभित्र स्वाभाविक रूपमा प्रधानमन्त्री बनाउने विषय पनि अन्तरनिहित हुने नै छ । उहाँ प्रतिनिधिसभामा आउनुभएपछि प्रधानमन्त्री बन्ने ढोका त्यतिखेर खुल्छ । 
तीनवटा अध्यक्ष राख्ने प्रस्तावका रूपमा नभएर सामान्य छलफल भएको थियो । तीनवटा अध्यक्ष राखेर, त्यसरी अध्यक्ष बन्नेमा क. माधव नेपाल स्वयं पनि सहमत हुनुहुन्थेन । तीनवटा अध्यक्ष राख्ने प्रस्ताव अब अगाडि बढेन । 

स्थायी समितिमा सचिवालयको प्रस्ताव
अहिलेको बैठकले निकालेको निष्कर्षलाई केन्द्रबिन्दुमा राखेर २४ गते बस्ने सचिवालयको बैठकले पार्टीको अहिलेको अवस्था, आगामी कार्ययोजना प्रस्तुत गर्नेछ । त्यो प्रस्तावलाई सचिवालयको प्रस्तावको रूपमा स्थायी कमिटीको बैठकमा प्रस्तुत गरिनेछ । र, स्थायी कमिटीका सदस्यहरूले गम्भीरतापूर्वक सबै पाटा–पक्षबाट पार्टी जीवनका सदस्य र सचिवालयको निष्कर्ष तथा प्रस्तावबारे पनि छलफल गरेर आवश्यक निर्णय लिन्छ ।