मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २० शनिबार १४:२५:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

अमेरिकामा कोरोना भाइरसविरुद्ध ‘रेम्डेसिभिर’ औषधि प्रयोग गर्न अनुमति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २० शनिबार १४:२५:००

अमेरिकामा कोरोना भाइरसविरुद्ध रेम्डेसिभिर औषधि प्रयोग गर्न अनुमति दिइएको छ । शुक्रबार सार्वजनिक भएको एक परीक्षणले सकारात्मक नतिजा देखाएसँगै अमेरिकामा कोरोना भाइरसविरुद्ध रेम्डेसिभिर प्रयोग गरिने भएको हो ।

कोरोना भाइरसविरुद्ध प्रयोग थालिएको यो नै पहिलो औषधि भएको छ । शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा पत्रकार सम्मेलनमा रेम्डेसिभिर बिरामीका लागि प्रयोग गर्न छिट्टै अस्पालमा पुग्ने बतएका छन् ।

अमेरिकामा केही संक्रमितमा परीक्षण गरिएपछि डा. फौंसीले शुक्रबार रेम्डेसिभिरले कोरोनाबाट संक्रमितहरूको निको हुने समय घटाएको र लक्षणमा समेत कमी ल्याएकाले यो प्रभावकारी रहेको जनाएका थिए ।एक हजार ६३ जनामा रेम्डेसिभिर औषधि प्रयोग गरिएको थियो । औषधि दिइएका बिरामी निको हुन ३१ प्रतिशत कम समय लागेको थियो । उनीहरू ११ दिनमै निको भएर घर फर्किएका थिए । औषधि नदिइएकाहरू भने १५ दिनमा निको भएका थिए । त्यस्तै, रेम्डेसिभिर दिइएकामा मृत्युदर आठ प्रतिशत थियो भने नदिइएकामा ११ प्रतिशत थियो ।

केही स्वास्थ्यविद्हरूले भने परीक्षणले प्रयोगका लागि पूर्ण प्रमाण नदेखाएको टिप्पणी गरेका छन् । अमेरिकी खाद्य एवं औषधि विभागलाई आपतकालीन रूपमा जुनसुकै किसिमको औषधि पनि प्रयोग गर्न अनुमति दिन सक्ने नियमाक शक्ति रहेको छ । आपतकालीनबाहेकका अवस्थामा भने कुनै पनि नयाँ औषधिको प्रयोगका लागि पर्याप्त प्रमाण चाहिन्छ ।

कोरोना भाइरसबाट विश्वभर दुई लाख ३९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या ६५ हजार नाघेको छ । कोरोना भाइरसविरुद्ध अहिलेसम्म कुनै औषधि या खोप प्रयोग योग्य भइसकेका छैनन् । 

सर्वसाधारण बिरामीको हकमा प्रयोग हुन भने रेम्डेसिभिरले अझै पनि केही चरणहरू पार गर्नुपर्नेछ । ‘कम उमेर समूहका, स्वस्थ र निकै गम्भीर अवस्थाका बिरामीलाई अहिले रेम्डेसिभिरको प्रयोग गरिनेछ, कोरोना भाइरसविरुद्ध अन्य कुनै खौषधि र खोप नभएका कारण परीक्षणबाट सकारात्मक देखिएका कारण रेम्डेसिभिरको प्रयोग गरिने’ खाद्य विभागले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यद्यपि रेम्डेसिभिरले साइडइफेक्टका कलेजोमा एन्जाइमको मात्रा बढाउन सक्ने अनुमान गरिएको छ । त्यसरकाण रेम्डेसिभिर प्रयोग गरिएको बिरामीको कलेजोमा  एन्जाइमको मात्रा दैनिक रूपमा जाँच गरिने भएको  छ । गिलियड साइन्सेसले इबोलाविरुद्धका लागि बनाएको यो औषधिले भाइरसलाई संख्या दोब्बर गर्न आवश्यक पर्ने एन्जाइमलाई नष्ट गर्छ । 

गिलियड साइन्सेसका सिइओ डानियल ओडेले ठूलो मात्रामा औषधि उत्पादन थालिसकेको बताएका छन् ।
(एजेन्सी)