१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २० शनिबार ११:४८:००
Read Time : > 1 मिनेट
राजनीति

सचिवालय बैठकपूर्व नेकपाका शीर्ष नेताको संवाद 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २० शनिबार ११:४८:००

वारपारको लडाइँमा पुगेका नेकपाका शीर्ष नेता शुक्रबार दिनभर भेटवार्तामा व्यस्त देखिए । शनिबार बस्ने सचिवालय बैठकले लिन सक्ने निर्णयलाई लिएर राष्ट्रिय राजनीतिमै चासो भइरहेका वेला नेकपाका शीर्ष नेताले शुक्रबार अनौपचारिक छलफल गरेका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भेटवार्ता भयाे । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा शनिबार डाकिएको सचिवालय बैठकका एजेन्डामा केन्द्रित रहेर छलफल भएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । 

प्रधानमन्त्री ओलीसँगको भेटलगत्तै प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँग उनको निजी निवास कोटेश्वरमा छुट्टै भेटवार्ता गरेका थिए । स्थायी समिति सदस्य रघुजी पन्तले सचिवालय बैठकको छलफलको एजेन्डामै केन्द्रित रहेर नेताहरूबीच अनौपचारिक छलफल भएकाे बताए । 

‘नेताहरूबीच भेटघाट र छलफल चलिरहेको छ,’ पन्तले भने, ‘प्रधानमन्त्रीसँगको भेटमा वरिष्ठ नेता माधव नेपालले तेस्रो अध्यक्षको प्रस्ताव अस्वीकार गरिसक्नुभएको छ, वामदेव कमरेडलाई पनि अलमल्याउनका लागि हो कि, समस्या समाधानका लागि प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको हो, अबको सचिवालय बैठकमा कार्यान्वयनका लागि समयसीमासहितको स्पष्ट कार्ययोजना मागिएपछि स्पष्ट हुनेछ ।’ 

प्रधानमन्त्री ओली र नेपालबीच बिहीबार भेटवार्ता भएको थियो । बिहीबार नै प्रचण्ड र नेपालबीच पनि भेट भएको थियो । थप गृहकार्य गरेर शनिबार पुनः बस्ने गरी बुधबारको सचिवालय बैठक कुनै निर्णय नलिई टुंगिएको थियो । 

बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डसहित नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले अहिलेको समस्या समाधानका लागि प्रधानमन्त्रीको राजीनामा मागेका थिए । तर, प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई भावी प्रधानमन्त्री र वरिष्ठ नेता नेपाललाई तेस्रो अध्यक्षका रूपमा प्रस्ताव गरेपछि बैठक विनानिष्कर्ष टुंगिएको थियो । प्रधानमन्त्रीको प्रस्तावलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले समर्थन गरेका थिए । तर, गृहमन्त्री रामबहादुर थापाले भने प्रधानमन्त्रीको राजीनामा माग र गौतम र नेपालको प्रस्ताव दुवैको विरोध गरेका थिए । 

यसैगरी शुक्रबार नै शीर्ष नेताहरूले दोस्रो तहका नेतासँग पनि छलफल गरेका छन् । शुक्रबार दिउँसो युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, बेदुराम भुसाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, मुकुन्द न्यौपाने, गोकर्ण विष्टलगायत नेतासँग प्रचण्ड र नेपालले छलफल गरेका थिए । स्थायी कमिटी सदस्यहरू प्रधानमन्त्रीको पछिल्लो प्रस्तावबारे धारणा बुझ्न नेपालनिवास कोटेश्वर पुगेका थिए । 

उता आफ्नो निवास खुमलटारमा प्रचण्डले पनि पूर्वमाओवादी समूहका मणि थापा, देव गुरुङ, मातृका यादव, गणेश शाह, लीलामणि पोखरेललगायत नेतासँग छलफल गरेका थिए । 

स्थायी कमिटी सदस्यहरूले स्थायी कमिटी बैठकबाटै सबै निर्णय लिने गरी बैठक बोलाउन नेताहरूलाई दबाब दिएका छन् । सचिवालयबाटै निर्णय हुन सक्ने उनीहरूको आशंका छ । २० स्थायी कमिटी सदस्यले लिखित पत्र लेखेर नै बैठक बोलाउन माग गरेका थिए ।