मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ बैशाख २० शनिबार ०५:३६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

बेवारिसे बम विस्फोटले गैरीगाउँ शोकमा

Read Time : > 1 मिनेट
२०७७ बैशाख २० शनिबार ०५:३६:००

बेवारिसे बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएपछि त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित मैतीगातिना गाउँ शोकमग्न बनेको छ । एकाघरका दुई दिदीभाइसँगै चारजनाको मृत्यु भएपछि सिंगो गाउँ शोकमग्न भएको स्थानीय मानसिंह डाँगीले बताए । 

‘बम विस्फोट भएलगत्तै म त्यहाँ पुगेको थिएँ, निकै दर्दनाक अवस्था थियो,’ डाँगीले भने, ‘नाबालक बालबालिकाको अकालमा मृत्यु भएपछि गाउँ नै शोकमग्न भएको छ ।’ विस्फोटमा दिदीभाइ ११ वर्षीया विमला खत्री र ५ वर्षीय विजय खत्रीका साथै ओजबहादुर डाँगीका छोरा १४ वर्षीय नोखिराम डाँगी र त्रिवेणी गाउँपालिका ४ छेप घर भई मावल गएका लक्ष्मण नेपालीका छोरा १३ वर्षीय गौरव नेपालीको मृत्यु भएको थियो ।

लालबहादुरले छोराछोरीको मुखै हेर्न पाएनन्

एकाघरका दिदीभाइ विमला र विजयका बुबा हुन् लालबहादुर खत्री । केही दिनअघि मात्र काठमाडौंबाट गाउँ फर्किएका लालबहादुर त्रिवेणी गाउँपालिकाकै झम्लुङ विद्यालयको क्वारेन्टाइनमा बसिरहेका थिए । कोरोना भाइरसको त्रासकैबीच आफ्नै परिवारमा यस्तो बज्रपात आयो जुन लालबहादुरको कल्पनाभन्दा बाहिरको थियो । बिहीबार क्वारेन्टाइन छाड्ने समय भएकै वेला घरमा बज्रपात भएको खबर सुनाउनु पर्दा आफूहरूलाई पनि निकै पीडा महसुस भएको त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताए । 

क्षतिपूर्ति दिने सहमतिपछि शव उठाइयो

बम विस्फोटमा परी मृत्यु भएका बालबालिकाहरूको परिवारलाई द्वन्द्वकालीन घटनासरह क्षतिपूर्ति दिने सहमति भएपछि परिवारले शव उठाएको त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिए । उनका अनुसार चारै बालकालिकाको शव पोस्टमार्टमका लागि शुक्रबार दाङ पठाइएको छ । गाउँपालिकाले सुरुमा पीडित परिवारलाई किरिया खर्च दिने घोषणा गरेको छ भने थप राहतका लागि प्रदेश र संघीय सरकारसँग माग गर्ने योजना रहेको अध्यक्ष वलीले बताए ।

भेटिएको बम सेनाद्वारा निष्क्रिय

विस्फोट भएको बमसँगै भेटिएको अर्को बम नेपाली सेनाद्वारा शुक्रबार दिउँसो निष्क्रिय पारिएको छ । खडगदल गण लिबाङ र दाङको घोराहीस्थित ऋतुमर्दन गणबाट खटिएको डिस्पोजल टोलीले बम निष्क्रिय पारेको रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए । घटना अनुसन्धानका लागि भन्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालसहितको सुरक्षा टोली शुक्रबार बिहानै घटनास्थल पुगेको थियो । घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले गाउँनजिकैको जंगलमा अझै विस्फोटक पदार्थ हुन सक्ने भन्दै स्थानीयले गुनासो गरेको र सोही आधारमा खोजी कार्य जारी रहेको बताए ।

मन्त्री र प्रदेश प्रहरी प्रमुख घटनास्थलमा

बम विस्फोटबाट चार बालबालिकाको मृत्यु भएपछि त्रासपूर्ण अवस्थामा रहेका पीडित परिवार तथा स्थानीयलाई भेट्न शुक्रबार प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी गैरीगाउँको मैतीगातिना पुगेका छन् । मन्त्री केसीसँगै प्रदेश ५ का प्रहरी प्रमुख डिआइजी रवीन्द्र धानुक पनि घटनास्थल पुगेका छन् । सँगै रहेका चारैजना बालबालिकाको मृत्यु भएका कारण अनुसन्धान गर्न कठिन भएको प्रहरीको भनाइ छ ।