मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल तस्बिर
नवीन लोचनमगर रोल्पा
२०७७ बैशाख १९ शुक्रबार २१:१७:००
Read Time : > 1 मिनेट
समाचार

रोल्पा बम विस्फोट : क्षतिपूर्ति दिने सहमतिपछि शव उठाइयो

Read Time : > 1 मिनेट
नवीन लोचनमगर रोल्पा
२०७७ बैशाख १९ शुक्रबार २१:१७:००

रोल्पामा बिहीबार भएको बम विस्फाेटमा परेर मृत्यु भएका बालबालिकाहरूको परिवारलाई द्वन्द्वकालीन घटनासरह क्षतिपूर्ति दिने सहमति भएपछि परिवारले शव उठाएका छन् ।

रोल्पाको त्रिवेणी–७, गैरीगाउँस्थित मैतीगातिना गाउँमा बिहीबार बम विस्फाेट हुँदा एकैघरका दिदी–भाइसहित चार बालबालिकाको मृत्यु भएको थियो । विस्फाेटमा दिदी–भाइ ११ वर्षीया विमला खत्री र पाँच वर्षीय विजय खत्री तथा १४ वर्षीय नोखिराम डाँगी र त्रिवेणी गाउँपालिका–४, छेप घर भई मावल गएका १३ वर्षीय गौरव नेपालीको मृत्यु भएको थियो ।

त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीका अनुसार चारैजना बालकालिकाको शव पोष्टमार्टमका लागि शुक्रबार दाङ पठाइएको छ । गाउँपालिकाले सुरुमा पीडित परिवारलाई किरिया खर्च दिने घोषणा गरेको छ भने थप राहतका लागि प्रदेश र संघीय सरकारसँग माग गर्ने योजना रहेको अध्यक्ष वलीले बताए ।

छोराछोरीको मुखै हेर्न पाएनन् लालबहादुरले
एकैघरका दिदी–भाइ विमला र विजयका बुबा लालबहादुर खत्री केही दिनअघि मात्र काठमाडौंबाट गाउँ फर्किएका छन् । तर, उनी त्रिवेणी गाउँपालिकाको झम्लुङ विद्यालयस्थित क्वारेन्टाइनमा बसिरहेका थिए । बिहीबार क्वारेन्टाइनबाट घर जाने समय भएकै वेला घरमा बज्रपात भएको खबर सुनाउनुपर्दा आफूहरूलाई पनि पीडा महसुस भएको त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताए । 

भेटिएको बम सेनाद्वारा निष्क्रिय
विस्फाेट भएको बमसँगै भेटिएको अर्को बम नेपाली सेनाले शुक्रबार दिउँसो निष्क्रिय पारेको छ । खड्ग दल गण लिबाङ र दाङको घोराहीस्थित ऋतुमर्दन गणबाट खटिएको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए ।

घटना अनुसन्धानका लागि भन्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालसहितको सुरक्षा टोली शुक्रबार बिहानै घटनास्थल पुगेको थियो । घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक गुरुङले गाउँनजिकैको जंगलमा अझै विस्फाेटक पदार्थ हुन सक्ने भन्दै स्थानीयले गुनासो गरेको र सोही आधारमा खोजी कार्य जारी रहेको बताए ।

मन्त्री र प्रदेश प्रहरी प्रमुख घटनास्थलमा
बम विस्फाेटबाट चार बालबालिकाको मृत्यु भएपछि त्रासपूर्ण अवस्थामा रहेका पीडित परिवार तथा स्थानीयलाई भेट्न शुक्रबार प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी गैरीगाउँको मैतीगातिना पुगेका छन् । मन्त्री केसीसँगै प्रदेश ५ का प्रहरी प्रमुख डिआइजी रवीन्द्र धानुक पनि घटनास्थल पुगेका छन् । सँगै रहेका चारैजना बालबालिकाको मृत्यु भएका कारण अनुसन्धान गर्न कठिन भएको प्रहरीको भनाइ छ ।