१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ बैशाख १९ शुक्रबार ११:२५:००
Read Time : < 1 मिनेट
समाचार

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन

Read Time : < 1 मिनेट
२०७७ बैशाख १९ शुक्रबार ११:२५:००

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको शुक्रबार बिहान ८४ वर्षकाे उमेरमा काठमाडाैंमा निधन भएको छ । उनी वीरगन्जमा पौडेल परिवारमा जन्मेर भारतको बनारसमा हुर्केकी थिइन् ।

उनले वि.सं २००६ सालमा विराटनर जुट मिलमा मजदुर आन्दोलनका लागि स्थापना भएको नेपालको पहिलो प्रजातान्त्रिक रेडियोमा ‘आज देशको क्रान्ति भूमिमा यही एउटा नारा छ, लड्दालड्दै यहीँ मरौँला देशको आज यही पुकारा छ’ भन्ने पहिलो  गीत गाएकी थिइन् ।  

गायिका रानुदेवीबारे वृत्तचित्र निर्माण गर्ने र जीवनी लेखेर प्रकाशन गर्ने विराटनगरका पत्रकार शंकर खरेलका अनुसार उनको जन्म २७ नोभेम्बर १९३६ वीरगन्जमा भएको थियो । उनको माइती परिवार वीरगन्जबाट बनारस बसोवास गर्न पुगेको थियो । बनारसमा रहँदा पौडेल परिवारको कोइराला परिवारसँग घनिष्ठ सम्बन्ध बनेको थियो । 

त्यही कारणले रानुकी एकजना दिदीको विवाह कोइराला परिवारका केशवप्रसाद कोइरालासँग भएको थियो ।  २००६ सालमा रानुदेवीको विराटनगरका तीर्थप्रसाद अधिकारीसँग विवाह भएको थियो । विराटनगर आएपछि उनको कोइराला परिवारसँगको सम्बन्ध अझै झाँगिएको थियो । 

सानैदेखि गीत–संगीतमा रुचि राख्ने र सुरिलो स्वरकी धनी रानुदेवीलाई पहिलोपटक तारणीप्रसाद कोइरालाले जुट मिलमा स्थापना गरेको प्रजातान्त्रिक रेडियोमा गीत गाउन लगाएका थिए । त्यही समयमा रानुदेवीले कलकत्ता पुगेर आफ्ना आधा दर्जन गीत रेकर्ड गराएकी थिइन् । जसमध्ये ‘जुनेली रात हजुर गम्किन्छ वास हजुर फागुनको शीतल बतास’ बोलको गीत चर्चित  भएको थियो ।

पत्रकार खरेल र गायक सुमित खड्काले रानुदेवीलाई पहिलो गीत गाएको ५६ वर्षपछि ०६३ मा वृत्तचित्र निर्माण गरेर विराटनगरमा सार्वजनिक गरेका थिए । 

उनका एक छोरा र दुई छोरी छन् ।