मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ बैशाख १९ शुक्रबार ०८:५६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

मजदुरले मास्क र पन्जासमेत पाएनन् 

Read Time : > 2 मिनेट
२०७७ बैशाख १९ शुक्रबार ०८:५६:००

२५ चैतमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले भनेका थिए, ‘कोरोनाविरुद्ध लड्न स्वास्थ्यकर्मीसँगै अग्रभागमा रहेर काम गर्ने सफाइ कर्मचारीको पनि महत्वपूर्ण भूमिका हुन्छ । सफाइ कर्मचारीलाई पनि सरकारले स्वास्थ्यकर्मीसरह भत्ता, बिमालगायत सुरक्षाको बन्दोबस्त गर्छ ।’ प्रधानमन्त्रीले स्वास्थ्यकर्मीका लागि शतप्रतिशत भत्ता र २५ लाखको जीवनबिमा घोषणा गरेका थिए ।

तर, दैनिक फोहोरको संसर्गमा रहने सफाइ मजदुरले भत्ता र बिमा सुविधा त परको कुरा ज्यानको सुरक्षासमेत पाएका छैनन् । व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सेट होइन, मास्क र पन्जासमेत पाएका छैनन् । 

तनहुँ दमौलीका नरबहादुर मगर पाँच वर्षदेखि देशको राजधानी सफाइमा छन् । झिसमिसेमै सडकमा उत्रिनु र फोहोर उठाएर गाडीमा हाल्नेदेखि संकलन केन्द्रसम्म पुर्‍याउनु उनको काम हो । लकडाउनमा पनि उनको दैनिकी उस्तै छ । तर, पहिला उनी फोहोरसँग खासै डराउँदैनथे, अहिले तर्सिन्छन् । कारण– कोरोनाको महामारी छ, फोहोरबाट संसर्गको खतरा हुन्छ, तर सुरक्षाको प्रबन्ध केही छैन । 

कपडाको असुरक्षित मास्कले मुख र नाक छोपेका छन् । दिनदिनै फोहोरमा लतपतिएको एउटै एप्रोन लगाइरहेका छन् । हातमा थोत्रा पन्जा छन् । भृकुटीमण्डपमा फोहोर उठाउँदै गरेका नरबहादुरले भने, ‘भाइरस आएको छ रे ! यस्तो वेला फोहोर खेलाउने मन त कहाँ छ र ? गरिबका लागि रोगभन्दा भोक ठूलो रै’छ, काम त गर्नैपर्‍यो ।’ 

नुवाकोट ककनीकी कमला राईलाई फोहोर संकलन गर्ने कम्पनी नेप्सेम्याकको गाडीले हरेक दिन बिहानै चाबहिलस्थित फोहोर संकलन केन्द्रमा ल्याइदिन्छ । उनी कागज, कार्टुन, प्लास्टिक र कवाडी छुट्याउने काम गर्छिन् । घर र अस्पतालहरूबाट निस्केका फोहोर केलाइरहेकी उनीसँग न शरीरमा लगाउने एप्रोन छ, न हातमा पन्जा । कोरोना भाइरस फैलिएको सुन्नुभएको छैन ? हाम्रो प्रश्नमा उनको जवाफ थियो, ‘सुनेकी छु नि । मरिएला कि भन्ने डर पनि लाग्छ । तर, भोकै बस्दा पनि बाँचिँदैन, काम त गर्नैपर्‍यो ।’

कमलासँगै फोहोर उठाउने र छुट्याउने काममा खटिरहेका थिए हेटौँडाका सजिन तामाङ । उनले पनि सुरक्षा पोसाक लगाएका थिएनन् । फोहोर संकलन केन्द्रमा काम गर्ने सीमितले मास्क र पन्जा लगाए पनि सुरक्षा पोसाक त कसैको थिएन । संकलन केन्द्रमा काम गर्ने कसैले पनि सुरक्षा पोसाक लगाएका थिएनन् । 

नेप्सेम्याकअन्तर्गत नै काम गर्ने चालक सुदीप स्याङ्तान भन्छन्, ‘सबैतिर कोरोनाको कहर फैलिएको छ, हामी मनमा धेरै डर बोकेर पनि काम गर्न बाध्य छौँ, ज्यानै जोखिममा राखेर पनि काम गरिरहेका छौँ ।’ कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले लकडाउन गरे पनि फोहोर संकलन र व्यवस्थापनकोे काम रोकिएको छैन । 

उपत्यकामा फोहोर व्यवस्थापनको नाइके काठमाडौं महानगरपालिका हो । महानगरकै व्यवस्थापनमा सञ्चालित सिसडोल फोहोर प्रशोधन केन्द्रमा काठमाडौं, ललितपुर र भक्तपुरका १८ नगरपालिकाको फोहोर विसर्जन गरिन्छ । तर, महानगरकै सफाइ मजदुरले सुरक्षा पोसाक र उपकरण पाएका छैनन् । केही कर्मचारीलाई दिए पनि त्यो पर्याप्त छैन ।

महानगरअन्तर्गत सात सयभन्दा बढी मजदुर फोहोरमैला व्यवस्थापनमा काम गर्छन् । महानगरको वातावरण विभागका निर्देशक हरिकुमार श्रेष्ठ भन्छन्, ‘फोहोरसँग खेल्ने मजदुरलाई सुरक्षा पोसाक दिएका छौँ, अरूलाई पनि मास्क, पन्जा र स्यानिटाइजर दिएका छौँ । सुरक्षा सतर्कता अपनाउन भनेका छौँ ।’ उपत्यकामा महानगर र निजी क्षेत्रका गरी तीन हजार दुई सय सफाइ मजदुर र कर्मचारी छन् । ७१ वटा कम्पनी र संघसंस्थाले फोहोर व्यवस्थापनको काम गर्छन् । काठमाडौं महानगरभित्र मात्रै ३२ कम्पनीले फोहोर उठाउँछन् । 

देशमा कोरोना संक्रमण देखिएपछि सिसडोलका बासिन्दाको मागअनुसार बिहान ८ बजेअघि नै फोहोर विसर्जन भइरहेको छ । महानगरका २० र निजी कम्पनीका सयवटा साना–ठूला गाडीले फोहोर ओसार्छन् । निजी कम्पनीले महानगरपालिकालाई प्रतिटिप साना गाडीको दुई सय ५० र ठूला गाडीको तीन सय ५० रुपैयाँ शुल्क बुझाउँछन् । 

आफ्नै निर्देशिका पालना गर्दैनन् निजी कम्पनी

फोहोरमैला व्यवस्थापनलाई सुरक्षित बनाउन फोहोर व्यवस्थापन संघ, नेपाल (स्वमान)ले स्वनियमन निर्देशिका १ चैतबाट लागू गरेको थियो । निर्देशिकामा मजदुरलाई नीलो वा हरियो रङको ट्र्याकसुट र हरियोमा पहेँलो धर्का भएको क्याप अनिवार्य गर्ने भनिएको छ । तर, आफैँले बनाएको नियम स्वमानका नेताहरूले सञ्चालन गरेका कम्पनीमै लागू भएको छैन । फोहोरबाट लाखौँ कमाइरहेका कम्पनीले मजदुरलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री दिएका छैनन् ।

बरु फोहोर व्यवस्थापनको जिम्मा लिएका निजी कम्पनी व्यक्तिगत सुरक्षा उपकरण (पिपिई)का लागि सरकार र एनजिओसँग हारगुहार गरिरहेका छन् । स्वमानका महासचिव मित्रप्रसाद घिमिरे उपत्यकाको ७० प्रतिशत फोहोर व्यवस्थापनमा निजी क्षेत्रको भूमिका रहेको बताउँछन् । उनी भन्छन्, ‘यस्तो संकटको बेलामा पनि सरकारलाई सहयोग पुर्‍याएका छौं, तर सरकारले चिकित्सकलाई मात्रै सर्बैसर्वा ठानेको छ, सफाई कामदारकालागि सामान्य सुविधासमेत दिन तत्पर छैन ।’ उनले सबै सफाई मजदुरलाई स्वास्थ्यकर्मी सरह पोशाक, बीमा र अन्य सुविधा उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

सरकारले सफाई मजदुरलाई फोहोरकै दर्जामा राखेर व्यवहार गर्ने गरेको उनकाे गुनासाे छ । उनले सबै कम्पनीले मजदुरकालागि स्वास्थ्य सुरक्षा उपकरण उपलब्ध गराएको दाबी गरे । गुथी नामक संस्थाले संघअन्तर्गत रहेका मजदुरलाई तीन सय ९० पीस पीपीई, मास्क र पञ्जा समेत उपलब्ध गराएको र त्यो समेत वितरण भइसकेको उनले बताए । उनले निजी क्षेत्रले सफाईलाई व्यवसायका रुपमा सञ्चालन गरेपनि सेवामुलक व्यवसाय भएकाले सरकारले सघाउनु पर्ने दाबी गरे ।

लकडाउन भएपछि सडक र सहरमा उत्सर्जन हुने फोहोरको मात्रा घटेको छ । होटेल, रेस्टुरेन्ट र सपिङ मल बन्द भएकाले फोहोर निस्केको छैन । उद्योग–कलकारखाना पनि बन्द छन् । सडकमा मानिसको चाप नभएपछि सडकमा पनि फोहोर उत्सर्जन रोकिएको छ । तर, घरभित्र उत्सर्जन हुने फोहोरको मात्रा भने बढेको छ ।