मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
भक्तपुरको इँटाभट्टामा काम गर्दै मजदुर । तस्बिर : दीपेन्द्र ढुंगाना
सागर चन्द काठमाडौं
२०७७ बैशाख १९ शुक्रबार ०८:२९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

‘कोठामा अन्न सकियो, घरबेटीले भाडा माग्न थाले’ 

Read Time : > 1 मिनेट
सागर चन्द, काठमाडौं
२०७७ बैशाख १९ शुक्रबार ०८:२९:००

चारैतिर इँटाको चाङ । इँटा खापेर उभ्याइएको छाप्रोअगाडि उभिएकी छिन्, पुनिकला परियार । कोरोना संक्रमणबाट जोगिन सरकारले लकडाउन गरेदेखि पुनिकलाले इँटा बोक्न पाएकी छैनन् । दैनिक सयौँ इँटा बोक्ने पुनिकलालाई अहिले फुर्सद छ । तर, यो फुर्सदले उनलाई आराम होइन, सास्ती दिएको छ । 

रोल्पा घर्तीगाउँकी ४२ वर्षीया पुनिकला दुई वर्षअघि श्रीमान्को मृत्यु भएपछि काठमाडौं आइन् । भक्तपुरमा इँटाभट्टामा काम थालिन् । ‘बड्डाको उपचार गर्दा लागेको ऋण पखालौँ भनेर आ’को,’ रोल्पाली लवजमा पुनिकला भन्छिन् । तर, लकडाउनले काम रोकियो, आम्दानी पनि रोकियो । अब उनलाई गाँस जुटाउन त मुस्किल परेको छ, श्रीमान्को उपचारमा लागेको ऋण कसरी चुक्ता गरून् ? 

‘नुन–तेल सक्किगो, खाने–पिने सबै सक्किगो । घाममा सुकाएजस्तो हुने भो मान्छे त,’ पुनिकलाले व्यथा पोखिन् । ऋण तिर्न भनेरै काखे छोरो पनि गाउँमै आमाको साथ लगाएर आएकी हुन् । तर, कोरोनाले उनको योजनामा बार लगाइदिएको छ । ‘बुढी आमाको भरोसामा बच्चा छाडेर आ’को,’ पुनिकलाले अगाडि भनिन्, ‘फोनमा बच्चाको स्वर सुनेर डाँको हालेर रुन मन लाग्छ ।’

एकातिर ऋण, अर्कोतिर बच्चाको माया । यता काठमाडौंमा आफैँ भोकसँग जुधिरहेकी छिन् । सरकारले राहत कसलाई बाँड्यो थाहा छैन, तर उनको हातमा परेको छैन । ‘चामल सकियो, नुन मात्रै खाएर भएन । राहत त हामीलाई कसले दिने हो र ?’ कम्मरमा बेरेको पटुकीबाट प्लास्टिकको झोला झिक्दै भनिन्, ‘छेउछाउतिरको खेतमा साग पाइन्छ कि खोज्न जाँदै छु ।’ काम बन्द भएसँगै इँटाभट्टा शान्त छ । पुनिकलाको मन भने अशान्त । भोको पेट देखाएर दुनियाँसामु रुन मन पनि लाग्छ उनलाई । तर, आफ्नै उमेर र पाखुरी हेरेपछि आँखाबाट आँसु खस्न मान्दैन । ‘आँसु बगाउँदै धरधरी रोएको भए पनि कसैले सहयोग गर्थे कि,’ आँसुसँग गुनासो गरिन्, ‘तर, आँसु झर्न मान्दैन ।’ 

पुनिकलाजस्तै भक्तपुरका विभिन्न इँटाभट्टामा काम गर्ने अधिकांश मजदुर भोकभोकै परेका छन् । अधिकांशको काम बन्द भएको छ । दुई बच्चाकी आमा अनु थापामगर पनि फुर्सदका दिन बिताइरहेकी छिन् । जति फुर्सद लम्बियो उति पिर बढ्छ उनको मनमा । ‘काम छैन, अन्न सकिन लाग्यो, अब के खाने ? बच्चाहरूलाई कसरी पाल्ने ?’ उनको गुनासो छ । ज्यामी काम गर्न नसकेपछि चार महिनाअघि मात्रै अनु इँटाभट्टामा आएकी हुन् । ‘राम्रोसँग काम पनि गर्न पाएको थिइनँ । तर, भट्टा नै बन्द भयो,’ एकल महिला अनुले भनिन्, ‘यहाँ काम गर्ने अधिकांश हिँडेर घर गए । आफ्नो त घर भए पो जानु ?’ 

रोल्पा थबाङकी २१ वर्षीया उनी श्रीमान्सँग बस्छिन् । श्रीमान् ज्यामी काम गर्थे, कामना घरमै बच्चा स्याहार्थिन् । तर, लकडाउनसँगै श्रीमान्ले काम नपाएपछि कोठामा अन्न सकियो । घरबेटीले भाडा माग्न थाले । अनि पाँच वर्षको बच्चा कोठामा छाडेर उनी इँटा बोक्न आउन थालेकी छिन् । तर, पैसा कति पाइन्छ पनि थाहा छैन । यो इँटाभट्टामा काम गरिरहेका अधिकांश महिला घरमा खाना सकिएपछि पैसा जोहो गर्न आएका हुन् । दोलखाकी लक्ष्मी ढुंगेल पनि यहीँ आउन थालेकी छिन् । दुई सन्तानकी आमा लक्ष्मी एकल महिला हुन् । ‘पहिला ज्यामी काम गर्थेँ, महिना दिनभन्दा बढी भइसक्यो काम नभएको, बच्चा पाल्नैपर्‍यो,’ उनले भनिन्, ‘खाने माना छैन, कोठाभाडा मागिसके । चार हजार भाडा कसरी तिर्ने ? नतिरे निस्केर जा भने कहाँ जाने ?’

सिन्धुपाल्चोककी रिता तामाङलाई पनि खाने र कोठाभाडा तिर्ने पैसा नभएर फिटिफिटी परेको छ । ज्यामी काम गर्दै आएकी उनी पनि अहिले इँटाभट्टामा आएकी छिन् । यताबाट केही पैसा हात परे गुजारा चलाउन केही सजिलो पर्ने आशा छ । ‘घरबेटीले निस्केर जाऊ भन्ने वेला भइसक्यो, कताबाट भाडा दिनु ?’ लामो सुस्केरा तान्दै भनिन्, ‘यहाँ भात खान नपाएर मरिएलाजस्तो छ ।