१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
जिल्ला ब्युरो
२०७७ बैशाख १९ शुक्रबार ०४:४९:००
Read Time : > 7 मिनेट
मुख्य समाचार

घरभित्र बस्नेलाई कोरोनाको त्रास : तर, घरघरबाट निस्किएको  फोहोर उठाउने मजदुरसँग  न पन्जा छ, न मास्क

कोरोना त्रासबीच ज्यान जोखिममा राखेर कार्यस्थलमा सफाइ मजदुर

Read Time : > 7 मिनेट
जिल्ला ब्युरो
२०७७ बैशाख १९ शुक्रबार ०४:४९:००

वीरगन्जमा फोहोर उठाउने एक मजदुरलाई कोरोना

तिवारी यादव/वीरगन्ज

वीरगन्जमा आइतबार दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भयो । एक संक्रमित वीरगन्ज महानगरपालिकाको एउटा वडाको सरसफाइ मजदुरका नाइके हुन् । यो विषय एक मजदुरको मात्र होइन, वीरगन्ज र देशैभरि फोहोर संकलनमा खटिएका मजदुरको सुरक्षामा कसैले ध्यान दिएको छैन । बाहिर निस्किँदा अनिवार्य मास्क लगाउन, बाहिरी वस्तु छुनुपरे पन्जासमेत लगाउन सूचना फुक्ने सरकारले फोहोर उठाउने मजदुरलाई पञ्जासमेत दिएको छैन । 

‘कोरोना आएको भन्छन्, तर हामी त खाली हातमै काम गर्नुपरेको छ, बुट त झन् कहाँ पाउनु ?’ कपडाको असुरक्षित मास्कमा सडक बढार्दै गर्दा भेटिएकी वीरगन्जकी स्थायी सफाइ मजदुर रेणु देवीले भनिन्, ‘मागे पनि कसैले दिँदैन, के गर्ने ?’ रन्जु देवी र सुमित्रा देवीले पनि महानगरपालिकाले ग्लोब्स, मास्क र बुट केही नदिएको बताए । ‘काम लगाएपछि गर्नैपर्‍यो, हामी त बाँचे भाग्यले बाँच्ने हो,’ सुमित्राले भनिन् । 

वीरगन्ज महानगरपालिकामा स्थायी रूपमा काम गर्ने मात्रै एक सय ५० कुचिकार र २६ नाइके रहेको सरसफाइ व्यवस्थापन शाखाले जनायो । ‘ग्लोब्स र बुट पर्याप्त नभएकाले दिएको छैन,’ व्यवस्थापन शाखा प्रमुख राजीव सिंहले भने, ‘जिन्सी शाखाबाट उपलब्ध भएपछि बाँड्छौँ ।’ त्यस्तै, फोहोर उठाउने ठेक्का पाएको पृथ्वीतारा/एनके इन्टरनेसनल जेभीले दुई सय ५० मजदुर खटाएको छ । उसले पनि मजदुरको सुरक्षामा चासो दिएको छैन । 

कोरोना त्रासबीच ज्यान जोखिममा राखेर कार्यस्थलमा सफाइ मजदुर

हातमा प्लास्टिक बेरेर फोहोर उठाउन बाध्य

तेजराज भट्ट/धनगढी
खुला सीमाबाट असुरक्षित रूपमा फर्किएकाहरूको संख्या धेरै भएकाले सुदूरपश्चिममा बढी जोखिम रहेको सरकारले नै बताउँदै आएको छ । तर, सुदूरपश्चिमको प्रमुख सहर धनगढीका सफाइ मजदुर हातमा प्लास्टिक बेरेर फोहोरसँग खेल्न बाध्य छन् । मास्क पनि सुरक्षित छैन । 

धनगढी उपमहानगरपालिकासँग मास्क माग्दा नपाएको गुनासो मजदुरहरूको छ । ‘भाइरसबाट जोगिन ग्लोब्स र सर्जिकल मास्क लगाउनुपर्छ भन्छन्, तर हामीले साधारण कपडाको मास्क लगाउनुपरेको छ, सर्जिकल ग्लोब्स एक–दुई दिनमै च्यातिन्छ, अनि जोगाउन हातमा प्लास्टिक बेरेर काम गर्नुपरेको छ,’ दशरथ चौधरीले गुनासो गरे, ‘माग्दा दिँदैनन्, कामै छाडिदिऊँ भने जहान–बच्चालाई के खुवाउने ?’ 

सफाइ मजदुरले सामाजिक दूरी कायम गर्न पनि सम्भव छैन । उनीहरू समूहमै काम गर्नुपर्छ । दैनिक ४० मजदुर धनगढी सफाइमा खटिन्छन् । ‘हामी सबैका घर चहार्नुपर्छ, खाली हातले जे पनि उठाउनुपर्छ,’ पुष्पा भण्डारीले पीडा पोखिन्, ‘ठीक छ अरू वेला त घिन लागे पनि पेसा नै यस्तो पर्‍यो भनेर सहँदै आयौँ । अहिले त महामारीको वेला छ, हामीलाई संक्रमण भयो भने घरमा सबै सिद्धिन्छन् । हामीमाथि किन जानाजान अपराध गरिँदैछ  ?’ उपमहानगरले वर्षमा एउटा मात्रै मास्क दिने गरेको उनीहरूले बताए । ‘हामीलाई प्राथमिकतामा राखेर सुरक्षा सामग्री दिनुपर्ने हो, तर बजारमै नपाइएको भन्दै उपमहानगरले मास्क दिएको छैन,’ पुष्पाले थपिन् । 

चप्पल पड्काउँदै सहरका गल्ली–गल्लीमा कुचिकार

 विश्वराज पछल्डङ्ग्या/नेपालगन्ज

हरेक दिन बिहान ५ बजे नै नेपालगन्जको गल्ली–गल्लीमा पुग्छन्, राजीव बाल्मिकी । नाली सफाइ गर्नेदेखि, पशुचौपाया उठाएर ट्र्याक्टरमा हाल्ने उनको दैनिकी हो । तर, यो महामारीमा फोहोरसँग खेल्ने उनका हातले न ग्लोब्स पाएको छ, न खुट्टाले गमबुट, मास्क पनि छैन । 

अर्का कुचिकार लवकुश बाल्मिकीले पनि मास्क, ग्लोब्स र बुट केही पाएका छैनन् । सामान्य मास्क आफैँ किनेर लगाएका छन् । ‘उपमहानगरले भनेपछि नाली सफा गर्नुपर्छ, मरेको सिनो उठाउनुपर्छ, तर ती फोहोर नांगै हातले उठाउनुपर्छ,’ लवकुशले भने, ‘के गर्ने, जागिर यस्तै छ भनेर मन बाँध्नुपर्छ ।’

उनीहरूले उपमहानगरसँग सुरक्षा सामग्री उपलब्ध गराउन माग गरेको धेरै भयो । तर, निमुखाको आवाज सरकारले सुनेको छैन । ‘हामीले स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने सामग्री मागेको धेरै भइसक्यो, तर निर्णय भएको छैन भन्दै उपमहानगरका जनप्रतिनिधि र कर्मचारी पन्छिने गरेका छन्,’ कुचीकार अर्जुन पासीले भने । 

नेपालगन्जमा ८० कुचिकार, ट्र्याक्टर, ट्रक र अटोरिक्सामा फोहोर लोड गर्ने सफाइकर्मी र सुपरभाइजर गरी ३५ जना कार्यरत छन् । तर, बजारमा मास्क अभाव भएको भन्दै कुचिकारलाई दिन नसकेको गैरजिम्मेवारी जवाफ दिन्छन् महानगरका सरसफाइ शाखा प्रमख अशोक केसी । 

पन्जा छैन, मास्क छैन, खुट्टामा बुट पनि छैन

विवेक पोख्रेल/भरतपुर

भरतपुर महानगरपालिकाका सफाइ मजदुर हरेक दिन बिहानैदेखि घरघरमा सिठी फुक्दै पुग्छन् । महानगरपालिकाले सहरी क्षेत्रमा फोहोर उठाउने जिम्मा निजी कम्पनीलाई दिएको छ भने ग्रामीण भेगमा आफ्नै मजदुर खटाएर फोहोर संकलन गरिरहेको छ । सबै गरी महानगर क्षेत्रमा एक सय ३० सफाइ मजदुर छन् । 

तर, उनीहरूको सुरक्षा जोखिम उच्च छ । हातमा पन्जा छैन, मुख–नाक छोप्न मास्क छैन, खुट्टामा बुट पनि छैन । न कम्पनी मालिकले सुरक्षा सामग्री दिएका छन्, न महानगरले । ‘बिहानदेखि बेलुकासम्म नै फोहोर उठाउने र ट्र्याक्टर चलाउने हो । फोहोरमा अझ बढी त दुईजना केटाहरू (श्याम गुरुङ र नविन मगर) खेल्नुपर्छ । ६ वर्षदेखि फोहोर उठाउँदै आएका मुना मल्लिकले भने, ‘डर त लाग्छ नि, तर के गर्ने काम नगरी खान पुग्दैन ।’

महानगरको फोहोर उठाउने ठेक्का पाएको वेष्ट म्यानेजमेन्ट ग्रुपका परियोजना प्रमुख देवीप्रसाद घिमिरे भने मजदुरलाई ग्लोब्स, मास्क, पन्जा, स्यानिटाइजर सबै उपलब्ध गराएको दाबी गर्छन् । ‘सबै व्यवस्था गरिदियो, तर कतिले प्रयोग गर्छन्, कतिले गर्दैनन्,’ घिमिरेले भने । 

तर, मजदुर मल्लिक भने आफूहरूलाई दिएको पन्जा फोहोरको बोरा बोक्नेबित्तिकै च्यातिने र कपडाको मास्क लगाउँदा फोहोरको गन्धले मुख डम्म भएर सास नै फेर्न गाह्रो हुने भएकाले नलगाएको बताउँछन् । ‘सुरक्षित र काम गर्न सजिलो हुने सुरक्षा सामग्री दिए किन लगाउँदैनौँ, हामीलाई आफ्नो ज्यानको माया छैन र,’ मल्लिकले बाध्यता सुनाए । 

मास्क र पन्जा माग्दा कामबाटै निकालिए
श्रवण थापा/सर्लाही 

सर्लाहीमा सफाइ मजदुरले कोरोनाको डर भयो भन्दै मास्क र पन्जा माग्दा कामबाटै हात धुनुपरेको छ । मलंगवा नगरपालिकाका मेयर निरसल साहले सुरक्षाको बन्दोबस्त गर्नुको सट्टा ४३ मजदुरलाई कामबाटै निकालेका हुन् । कोरोना महामारीका वेला सुरक्षा र थप सुविधा नभएको भन्दै मजदुरले गुनासो गरेका थिए । सुरक्षा नभएसम्म काम नगर्ने भन्दै उनीहरूले १ वैशाखदेखि काम नै रोकेका थिए । तर, मेयर साह उनीहरूको सुरक्षामा गम्भीर बन्नुभन्दा थप धम्क्याउन आफैँ अरू जनप्रतिनिधि बटुलेर एक दिन सफाइमा उत्रिए । ४ वैशाखमा नगर कार्यसमिति बैठक डाकेर पुराना सबै मजदुर हटाएर नयाँ मजदुर भर्ना गर्ने निर्णय गरे । नयाँ मजदुर भर्ना गरेर काममै खटाए ।

सुरक्षा माग्दा कामबाट निकालिएका मजदुर जागिर नै गुमेपछि आत्तिए । मजदुर निकालेपछि नगरभित्र मेयरको चौतर्फी विरोध भयो । अन्ततः मेयरले पुराना मजदुरलाई पनि काममा फर्काए । पन्जा, मास्क र बुट दिएर काममा लगाएका छन् । 

‘मास्क लगाउनू, फोहोर या कुनै वस्तु छुँदा पन्जा लगाउनू, बारम्बार हात धुनु भनेर सरकार नै बारम्बार भन्छ, तर फोहोरसँग खेल्नुपर्ने हामी मजदुरले केही नपाएपछि काम रोक्यौँ । तर, जागिरबाटै हटाएर धम्काइयो,’ सफाइ मजदुर मुकेश रामले भने, ‘कामअनुसार हामीलाई पनि त स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको जस्तै सुरक्षा सामग्री हुनुपर्ने हो नि ।’ 

आफूहरूले सुरक्षाको माग गर्दा कामबाट निकालेको अर्का मजदुर रूपन मलीले बताए । ‘नगरपालिकाले काम लगाएको छ, नियुक्ति छैन,’ मलीले भने, ‘भोलि हामीलाई केही भए को जिम्मेवारी ? हाम्रा परिवार कहाँ जाने ? कोरोनाको महामारीमा सुरक्षा सामग्री छैन ।’ मलंगवा नगर क्षेत्रमा दैनिक ज्यालादारी र करारका गरी ४३ सरसफाइ मजदुर छन् । 

मेयर साह भने डाक्टरलाई नै पिपिई नभएको वेला मजदुरलाई दिन नसक्ने बताउँछन् । ‘डाक्टरलाई लगाउन त बल्लतल्ल पाँचवटा पिपिई सेट जुटाएको छु,’ उनले भने, ‘मजदुरलाई दिन मैले पिपिई सेट कहाँबाट ल्याउनु भन्नु त ?’ 

मजदुरले नियुक्ति पाउनुपर्ने, प्रत्येकको २०/२० लाखको बिमा हुनुपर्ने, सरकारले कट्टा गरेको करार कर्मचारीको तीन दिनको तलब नगरले भुक्तानी गर्नुपर्ने र राहत माग गरेका थिए । तर, आफूले अहिले नयाँ र पुराना सबै मजदुरलाई दुई लाखबराबरको बिमाको व्यवस्था गरेको उनले बताए । सुरक्षाका लागि जुत्ता, पन्जा र मास्क दिएको पनि बताए । 

सर्लाहीकै बरहथवा नगरपालिकाका सफाइ मजदुरलाई पनि सुरक्षा सामग्री छैन । नगर क्षेत्रमा टिम नयाँ पत्रिका पुग्दा मजदुर सुरज मेस्तर एउटा रिफ्लेक्टेड ज्याकेट लगाएर विनापन्जा र मास्क, खुट्टामा सामान्य चप्पल लगाएको भरमा फोहोर संकलन गरिरहेका भेटिए । जिल्लाभर एक सय ५० सफाइ मजदुर छन् । तर, हात धुने साबुन पानी र स्यानिटाइजरसमेत नभएको उनीहरूको गुनासो छ । गाउँगाउँमा स्यानिटाइटर र साबुन बाँड्दै हिँड्ने जनप्रतिनिधिको ध्यान सफाइ मजदुरको जोखिमतर्फ भने देखिँदैन ।

फोहोर खेलाएका हात टकटकाउँदै खान्छन् खाजा
नवीन गुरुङ/संखुवासभा

सदरमुकाम खाँदबारीदेखि लिभिङ हिलसम्म पाँच किलोमिटर सडक सफाइ गर्ने जिम्मा खाँदबारी–७ का गंगाबहादुर कुँवर मगरलाई छ । उनी दैनिक बिहान ९ बजेदेखि काममा खटिन्छन् । कामका लागि चाहिने ठेला गाडी, हँसिया र बेल्चा पाएका छन्, तर व्यक्तिगत सुरक्षाका सामग्री सर्जिकल मास्क, बुट, पन्जा पाएका छैनन् । 

‘हामीलाई वर्षमा एकपटक मात्रै यस्ता सामान दिनुहुन्छ । कहिलेकाहीँ काम गर्दागर्दै फाट्छ, च्यातिन्छ, तर माग्यो भने काम गर्दै गर आउँछ मात्रै भन्नुहुन्छ,’ गंगाबहादुरले भने, ‘अरूझैँ काम छाडेर घरभित्रै बसौँ भने पनि चुल्होमा आगो बल्दैन ।’ उनी काममा जाँदा घरबाटै खाजा लैजान्छन् । तर, दिनभर फोहोरमा खेलेका हात धुन न साबुन हुन्छ, न स्यानिटाइजर । हात टकटकाएर खाजा खानुपर्ने बाध्यता छ । 

गंगाबहादुर मात्रै होइन, सभाखोला–खाँदबारी सडकखण्डमै काम गर्ने बुद्धबहादुर लिम्बू, कुलचन्द्र बराल, वीरेन्द्र थापामगर, चित्रबहादुर कटुवाल, हेमबहादुर कुँवर मगरको अवस्था पनि उस्तै छ । 

‘असुरक्षित काम गर्दा हामीलाई रोग लागे नगरका सबैलाई सर्दैन र ?’ 

चिरञ्जीवी घिमिरे/झापा

‘रेडियोले भनिरहेको छ, कोरोनाबाट बच्न फोहोरसँग जोगिनुस् । तर, के गर्नु कामै यही छ, छाडौँ भने घर चलाउन सकिँदैन’, दमकमा फोहोर संकलन गरिरहेका सुरज मल्लिकले भने, ‘नगरपालिकाले न पन्जा दिएको छ, न त मास्क । पैसा भए आफैँ पनि किनेर लगाउँथेँ । यही कपडाको एउटै मास्क धुँदै लगाउनुपरेको छ ।’ नगरभित्रका अस्पताल र मेडिकलबाट निस्किएका फोहोर पनि सोहोरेर गाडीमा हाल्नुपर्छ । ‘अस्पतालबाट निस्केका फोहोर त रोगीकै पो हो कि भन्ने डर पनि हुन्छ,’ अर्का सफाइ मजदुर आकाश मल्लिक भन्छन्, ‘हामीलाई रोग लाग्यो भने हामी र हाम्रो परिवारलाई मात्रै जोखिम हो र, नगरभित्रका सबैलाई खतरा छ नि !’ 

  • भरतपुर महानगरपालिकामा फोहोर संकलन गर्दै सफाइ मजदुर

नगरपालिकाले काममा खटाउँछ, प्रहरीले  बाहिर नआऊ भन्दै धपाउँछ

 रञ्जन भण्डारी/महोत्तरी 
जलेश्वर नगरपालिकाले फोहोर संकलन गर्न १० स्थायी र ६ दैनिक ज्यालादारीमा १६ सफाइ मजदुर खटाएको छ । मजदुर सुरेश मल्लिक दैनिक नगरपालिकाले आफूहरूको सुरक्षाको कुनै चिन्ता नै नदिएको दुःखेसो पोख्छन् । 

‘विश्वमै यत्रो महामारी छ । हाम्रो देशमा पनि कहाँ कति संक्रमित भए भन्दै समाचार आएको सुनिन्छ, तर हामीलाई हेर्नुस् त यस्तो असुरक्षा छ,’ सुरेशले भने । आफूहरूले माग्दा एक–दुई दिन प्रयोग गर्न मिल्ने ग्लोब्स र कपडाका मास्क दिने गरेको र त्यो काम नलाग्ने भएपछि फेरि खाली नै फोहोरसँग खेल्नुपर्ने बाध्यता रहेको सुनाए । नगर सरसफाइ संयोजक चन्दे मेस्तरले कैयौँपटक नगरपालिकाको ध्यानाकर्षण गराउँदा पनि मजदुरको सुरक्षामा खेलाँची गरेको गुनासो गरे । गत असारमा पाएको गमबुट फुटेपछि अधिकांश सफाइ मजदुरले चप्पल लगाएर काम गरिरहेको बताए । 

‘संकटमा पनि काम गर्छौँ, तर उचित सुरक्षा र सुविधा हुनुपर्छ’
 खगेन्द्र भट्टराई/सुर्खेत 

वीरेन्द्रगर–६ बस्ने बाँसगढी बर्दियाका मिठ्ठु चौधरीलाई एकबिहानै फोहोरको बोरा उचाल्न नगई धरै छैन । पेसा हो, त्यही कामले जहान छोराछोरी पाल्नुपर्छ, त्यसैले संकटकै अवस्थामा भए पनि काम गर्नुपर्दा उनलाई मनदुखाइ छैन । 

मनदुखाइ त यसकारण छ, काम गर्दा कुनै सुरक्षा व्यवस्था छैन । नगरपालिकाले मास्क, बुट, पन्जा र साबुन उपलब्ध गराएको छ, तर हाम्रो कामअनुसार सुरक्षित र पर्याप्त छैनन्,’ उनले भने, ‘विशेष सुरक्षा ड्रेस र थप भत्ताको माग गरेका छौँ, खोइ के गर्नुहुन्छ ।’ 

अर्का मजदुर सुरज गुरुङको गुनासो पनि उस्तै छ । ‘हामीले वर्षौंदेखि गर्दै आएको काम लकडाउनको वेला पनि गर्नु परिहाल्यो, तर यस्तो वेला सुरक्षा सामग्री र थप भत्ता त दिनुपर्ने हो ।’ मिठ्ठु र सुरजजस्तै वीरेन्द्रनगर नगरपालिका र सेवाप्रदायक संस्थाका ३२ कर्मचारी नगरको सफाइमा खटिन्छन् । सहर सफा गर्न हिँड्ने उनीहरूले आफ्नै सुरक्षा र सफाइमा भने सम्झौता गर्नुपरेको छ, दुई छाकका लागि । 

नगरपालिकाका सरसफाइ शाखाका यामलाल गिरी भने सबै सुरक्षा प्रबन्ध गरेर सफाइ कर्मचारीलाई काममा खटाएको बताउँछन् । वीरेन्द्रनगरमा सफाइ व्यवस्थापनमा खटिएका कर्मचारी बिरामी भए उपचार गर्ने र कोरोनाकै कारण मत्यु भए १० लाख राहत उपलब्ध गराउने निर्णय भएको गिरीले बताए । तर, मजदुरहरू भन्छन्, ‘हामीलाई परिवारका लागि बाँच्नु छ, १० लाखको लोभ देखाएर आजको सुरक्षामा खेलाँची गर्न पाइँदैन ।’

मास्क नपाएपछि रुमालले मुख छोपेर फोहोर उठाउँदै 
यज्ञप्रसाद सापकोटा/बर्दिया 

बर्दियाको गुलरिया नगरपालिकाअन्तर्गत गुलरिया बजारमा खटिएका सफाइ कर्मचारी पनि असुरक्षित रूपमा काम गरिरहेको भेटिए । अधिकांश मजदुरलाई न बुट छ, न पन्जा । नाङ्गै हात, चप्पल लगाएर, रुमालको फेरोले नाकमुख छोपेर काम गर्दै आएका छन् । 

नगरपालिकाले दैनिक १५ जना मजदुरलाई ज्यालादारीमा खटाएको छ । फोहोर संकलन गर्ने र मरेका पशु चौपाया गाड्ने जिम्मा १० जनालाई छ । त्यस्तै, जम्मा भएको फोहोर कुहिने र नकुहिने छुट्याउने जिम्मा पाँच मजदुरलाई छ । 

‘स्यानिटाइजर माग्दा साँझ दुई बोतल रक्सी दिए भइहाल्छ नि किन स्यानिटाइजर चाहियो भन्छन्,’ नाम नखुलाइदिन आग्रह गर्दै एक मजदुरले गुनासो गरे । अर्का मजदुर गरुबचन विकले बुट, पन्जा, स्यानिटाइजर नपाउँदा जोखिममा रहेर काम गरिरहेको बताए । तर, गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव भने पन्जा, मास्क र स्यानिटाइजर मागअनुसार उपलब्ध गराएको दाबी गर्छन् ।