मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रोहितराज पराजुली कास्की
२०७७ बैशाख १८ बिहीबार १९:३९:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउनका कारण पोखरामा फसेका ७२ पर्यटकको उद्धार

Read Time : < 1 मिनेट
रोहितराज पराजुली कास्की
२०७७ बैशाख १८ बिहीबार १९:३९:००

लकडाउनका कारण पोखरामा रोकिएका तथा अलपत्र परेका विभिन्न देशका ७२ जना पर्यटकलाई उद्धार गरेर बिहीबार काठमाडौं पठाइएको छ ।

पोखरामा रोकिएका र अलपत्र परेका उनीहरूलाई स्वीस दूतावासको पहलमा सडकमार्गबाट काठमाडौं पठाइएको हो । उद्धार गरिएका पर्यटकहरूमा स्वीडेन, फ्रान्स, नर्वे, जर्मनी, नेदरल्यान्ड, पोल्यान्ड, रोमानिया, अष्ट्रेलिया, इटाली, पोर्चुगललगायत देशका रहेका पर्यटन प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए । उनीहरूलाई तीनवटा पर्यटक बसमा राखेर काठमाडौं पठाइएको हो ।

उनीहरू लकडाउनअघि पोखरासँगै छिमेकी जिल्ला र अन्नपूर्ण, धौलागिरि तथा मनास्लु क्षेत्रवरिपरिको पदयात्राका लागि आएका थिए । पोखराबाट उद्धार गरिएका तथा अन्य विभिन्न स्थानबाट काठमाडौं आएका करिब तीन सय पर्यटकलाई चार्टर्ड प्लेनमार्फत फ्रेन्च दूतावासले शनिबार उद्धार गर्ने बताइएको छ ।

बिहीबार उद्धार गरिएका पर्यटकहरूसमेत गरी हालसम्म पोखराबाट हवाई र सडकमार्ग हुँदै नौ सय ५० पर्यटकको उद्धार गरी काठमाडौं पठाइसकिएको खनालले जानकारी दिए । काठमाडौं पठाइनुअघि सबै पर्यटकको स्वास्थ्य परीक्षण गरी उनीहरूलाई मास्क र स्यानिटाइजर प्रदान गरिएको थियो ।

अझै पनि पोखरामा अमेरिका, फ्रान्स, जर्मनी, नर्वे, चीनलगायत विभिन्न देशका तीन सय ५० को हाराहारीमा पर्यटक रहेको अनुमान गरिएको छ । ती पर्यटकले आफ्नो देशमा भन्दा नेपालमै सुरक्षित रहेको ठानेर पोखरामै बस्न चाहेको बताइएको छ ।