मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भिडियो कन्फ्रेन्समा संवाद गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल
२०७७ बैशाख १८ बिहीबार ०७:२६:००
Read Time : > 3 मिनेट
राजनीति

नेकपा र चिनियाँ नेताबीच तीन घन्टा भिडियो संवाद : कोरोनामाथि राजनीतीकरण भएको भन्दै चीनले माग्यो समर्थन

Read Time : > 3 मिनेट
२०७७ बैशाख १८ बिहीबार ०७:२६:००

अमेरिका तथा युरोपेली देशहरूले कोरोना महामारी फैलाएको आरोप लगाउँदै गरेको आलोचना मत्थर गर्न चीनले आफ्ना छिमेकसहित तीन दर्जन देशसँग सम्पर्क र संवाद तीव्र पारेको छ । चीनले नेपालमा पनि सरकार र सत्तारुढ पार्टीको स्तरमा संवाद जारी राख्दै पश्चिमा मुलुकहरूको कोरोनामाथिको राजनीतीकरणविरुद्ध ऐक्यबद्धता मागेको हो । बुधबार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओसहतिका प्रतिनिधिमण्डल र नेकपा विदेश विभाग प्रमुख पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका प्रतिनिधिमण्डलबीच तीन घन्टा भिडियो कन्फ्रसेन्समा संवाद भएको छ ।

वैज्ञानिक, मेडिकल चिकित्सकसहितको प्रतिनिधिमण्डलका साथमा चिनियाँ नेता ताओले नेकपाका समकक्षी नेपालसहित डेढ दर्जन नेपाली प्रतिनिधिमण्डलसँग कोरोना महामारी र यसमाथिको राजनीतीकरणबारे छलफल गरेका छन् । राष्ट्रपति सी जिनपिङले समकक्षी विद्यादेवी भण्डारी र विदेशमन्त्री वाङ यीले समकक्षी प्रदीप ज्ञवालीसँग टेलिफोनमा संवाद गरिसकेको पृष्ठभूमिमा पार्टीस्तरीय संवाद बुधबार भएको हो । पश्चिमा मुलुकहरूले महामारीको राजनीतीकरण गर्दै चीनमाथि दोषारोपण गरेको भन्दै चिनियाँ नेताले यसविरुद्ध विश्वव्यापी मत निर्माणको प्रयास थालेका छन् । यही क्रममा नेकपा नेता तथा चिकित्सकहरूसँग उनीहरूले छलफल गरेका हुन् ।  

छलफलका पाँच एजेन्डा

पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार छलफलका पाँच एजेन्डामा कोरोना महामारीबारे विश्वव्यापी राजनीतीकरण एउटा एजेन्डा थियो । यसबाहेक नेपाल–चीन सम्बन्ध, नेकपा र चिनियाँ पार्टीको सम्बन्ध, कोभिड– १९ महामारीको अवस्था, यसविरुद्ध लड्ने साझा प्रयास तथा अनुभवको आदनप्रदान उपशीर्षकमा चिनियाँ नेता र विज्ञले प्रस्तुतीकरण गरेका थिए ।

भिडियो संवादलाई सम्बोधन गर्ने क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले महामारीमाथि चीनलाई जोडेर पश्चिमा मुलुकले राजनीतीकरण गरेको भन्दै यसविरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिएका थिए । उनको भनाइ थियो, 'चीनविरुद्ध कोरोना महामारीबारे राजनीतीकरण भएको छ । यसविरुद्ध हामी एकैठाउँमा उभिनुपर्छ ।' प्रत्युत्तरमा पूर्वप्रधानमन्त्री नेपालले कोरोना भाइरस मानवताविरोधी महामारी भएको भन्दै यसलाई राजनीतीकरण गर्नु नहुने ताओको भनाइमा समर्थन जनाएका थिए । उनको भनाइ थियो, 'यो कुनै देश, जात, धर्म, लिंग, विचारसँग सम्बन्धित छैन । यसमा कहीँ कतैबाट राजनीतीकरण हुनुहुँदैन भन्नेमा हामी स्पष्ट छौँ । हामी राजनीतीकरण गर्ने प्रयासलाई समर्थन गर्दैनौँ ।'

चीनका राष्ट्रपति सी जिनपिङले २५ असोजमा राजकीय भ्रमणमा नेपाल आउँदा चीनलाई फुटाउन खोज्ने तत्वहरूलाई धुलोपिठो पार्ने चेतावनी दिएका थिए । चिनियाँ नेताहरूले अहिले कोरोना महामारीका विषयमा पश्चिमा मुलुकले लगाएको आक्षेपका विरुद्ध छिमेकीहरूको ऐक्यबद्धता खोजिरहेका छन् । नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले नयाँ पत्रिकासँग भने, ‘चीनले विभिन्न देशहरूसँग कूटनीतिक सम्पर्क बढाइरहेको छ । राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीस्तरमा कुराकानी भइरहेको पृष्ठभूमिमा पार्टीको तहमा छलफल भएको हो । छलफलको निरन्तरताका रूपमा यसलाई बुझ्नुपर्छ ।’

भिडियो कन्फ्रेन्सलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले कोरोनाविरुद्ध लडाइँमा चीनले सफलता पाएको भन्दै बधाई दिएका छन् । नेपाललाई कोभिड– १९को नियन्त्रण र रोकथामका लागि चीनले निरन्तर सहयोग गरेकोमा उनले धन्यवादसमेत दिएका थिए । नेपालको भनाइ थियो, ‘चीनले खोप विकास गर्ने प्रयास गरिरहेको छ । हामी यसको सफलताको कामना गर्छौँ । र, चीनको सफलताबाट नजिकको छिमेकीका रूपमा नेपाल लाभान्वित हुन्छ भन्नेमा विश्वस्त छौँ ।’

एक साताअघि तय भएको सम्मेलन

चिनियाँ पहलमा एक साताअघि तय भएअनुसार बुधबार भिडियो कन्फ्रेन्समा संवाद भएको थियो । नेपालका तर्फबाट नेकपा विदेश विभाग प्रमुख एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा नेता राम कार्की, नेकपाका ६ वटा प्रदेशका इन्चार्ज र गण्डकीका सचिव, स्वास्थ्य मन्त्रालयका विज्ञ डा. खेम कार्की, सातै प्रदेशका जनस्वास्थ्य अधिकारीसहित १८ जना सहभागी थिए । चीनका तर्फबाट कोरोना नियन्त्रण तथा रोकथामसम्बन्धी उस्चस्तरीय समितिका संयोजक प्रोफेसर झोङ नान सान, चिकित्सक, वैज्ञानिकसहितको टोली सहभागी थियो । प्रोफेसर झोङ चिनियाँ कम्युनिस्ट पार्टीका नेता ताओभन्दा पनि वरीयतामा माथिल्ला व्यक्ति हुन् ।

बुधबार अपराह्न २ बजेदेखि सुरु भएको भिडियो संवाद करिब तीन घन्टा चलेको थियो । चिनियाँ प्रोफेसर झोङले पाँच विषयमा प्रस्तुतीकरण गरेका थिए । नेपाल–चीन सम्बन्ध, नेकपा र चिनियाँ पार्टीको सम्बन्ध, कोभिड- १९ महामारीको अवस्था, महामारीबारे भएको विश्वव्यापी राजनीतीकरण, यसविरुद्ध लड्ने साझा प्रयास तथा अनुभवको आदान–प्रदान उपशीर्षकमा प्रस्तुतीकरण भएको थियो । उनले वुहानमा सुरुमा कोरोना भाइरस देखापरेदेखि हुबेई प्रान्त लडकाउन गरिएको पृष्ठभूमि, बेइजिङ हुँदै पूरै चीनले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको विस्तृत विवरण प्रस्तुत गरेका थिए । उनको भनाइ थियो, ‘चीनमा पार्टी, सरकार र जनताको समन्वयमा कोरोना महामारीविरुद्ध हामीले विजय हासिल गरेका छौँ । जनजीवन सामान्य हुँदै गएको छ । नेपालले पनि रोकथामका लागि गरेको प्रयत्न सकारात्मक छ । हामी नेपाललाई सहयोग गर्न तयार छौँ ।’ उनीपछि मेडिकल डाक्टर, वैज्ञानिकहरूले चीनले खोप पत्ता लगाउन गरेका प्रयासबारे चर्चा गरेका थिए । चिनियाँ नेता सङ ताओले नेपाल र चीनबीच मित्रताको सम्बन्ध प्राचीन भएको पृष्ठभूमि बाँधेर नेपाललाई कोभिड– १९को रोकथाम र नियन्त्रणका लागि चीनले खुलेर सहयोग गर्ने आश्वासन दिएका छन् ।

नेकपा विदेश विभाग उपप्रमुख राम कार्कीले राजनीतिक विषयमा छलफल नभएको, तर कोरोनाविरुद्धको लडाइँमा सहयोग आदान–प्रदानबारे छलफल केन्द्रित भएको जानकारी दिए । बैठकको सहजीकरण उनले गरेका थिए । बैठकबारे कार्कीले नयाँ पत्रिकासँग भने, 'चीनले कोरोनामाथि विजय हासिल गर्दै गरेको अनुभवबाट हामी सिक्न चाहन्छौँ । अनि कोरोनापछि नेपालको स्वास्थ्य प्रणालीको पुनर्संरचनाका लागि सहयोग गर्नुस् भन्ने प्रस्ताव गरेका छौँ। उहाँहरू सकारात्मक हुनुहुन्छ ।'

चीनबाट स्वास्थ्य सामग्री ल्याउने सम्झौता
नेपाली सेना र फ्ल्यास फ्रेट नेपाल कार्गो कम्पनीबीच बुधबार ग्वान्जाओबाट स्वास्थ्य सामग्री आपूर्ति गर्ने सम्झौता भएको छ । चीनको साइनो फर्म इन्टरनेसनल कर्पोरेसनसँग नेपाली सेनाले किनेका स्वास्थ्य सामग्री ग्वान्जाओबाट काठमाडौंसम्म ढुवानीका लागि सम्झौता भएको हो । सम्झौताअनुसार पहिलो लटमा करिब २० टन स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज २३ वैशाखमा जाने तय भएको छ । दुई उडानमा जम्मा ४० टन सामान ल्याउने र बाँकी सामान स्थलमार्गबाट ल्याउने सम्झौता भएको छ ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार २३ वैशाखमा सामान आपूर्तिका लागि पहिलो उडान हुन लागेको हो । एक उडानमा सिट र बेसमेन्टमा समेत गरेर करिब २० टन सामान ल्याउन सकिनेछ । सेनाले मागे गरेअनुसार आवेदन दिएका ११ आपूर्तिकर्ता कम्पनीमध्ये सस्तो र चाँडो ल्याउने प्रस्तावका आधारमा फ्ल्यास फ्रेटलाई जिम्मा दिइएको सेनाले जनाएको छ । चीनबाट तीन सय ४२ टन स्वास्थ्य सामग्री खरिदका लागि सेनाले एक करोड ८४ लाख ४१ हजार सात सय ६ अमेरिकी डलर (करिब सवा दुई अर्ब रुपैयाँ) भुक्तानी दिइसकेको छ । पिपिई, एन–९५ मास्क, पिसिआर टेस्टिङ किट्स, मेसिन, कीटाणुनाशक स्प्रेलगायत सामग्री जहाजबाट ल्याउने तयारी छ ।