मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
चन्द्र भण्डारी
२०७७ बैशाख १८ बिहीबार ०९:३३:००
Read Time : > 6 मिनेट
दृष्टिकोण

समृद्धिको बाधक व्यवस्था कि नेतृत्व ?

Read Time : > 6 मिनेट
चन्द्र भण्डारी
२०७७ बैशाख १८ बिहीबार ०९:३३:००

देशको दुर्गतिमा व्यवस्थाभन्दा नेतृत्व जिम्मेवार हुने भएकाले अब नयाँ व्यवस्था होइन, नयाँ नेतृत्व खोज्नुपर्छ 

नेपालको राजनीति, विकास र समृद्धिमाथि वस्तुनिष्ठ बहस गरी मूल्यांकन गर्ने समय आएको छ । नेपालमा लामो समयसम्म राजाले शासन गरे । त्यस्तो शासन एकतन्त्रीय भयो, राजाका कारण देशको विकास र समृद्धि सम्भव भएन भनेर ०४६ सालमा राजालाई संवैधानिक सीमाभित्र राखेर संसदीय व्यवस्था स्थापना गरियो । ०६२/६३ को आन्दोलनपछि राजा सधैँका लागि बिदा भए । सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म पुग्यो । देशमा धर्मनिरपेक्ष संविधान बन्यो । राज्यले धान्नै नसक्ने र नेताहरू बेरोजगार बस्नु नपर्ने खालका राजनीतिक संरचना बने । तैपनि, किन देश अघि बढ्न सकेन ? यतिखेर त्यसको सुरुवातदेखि आजसम्मको ३० वर्षे अवधिको समीक्षा गर्नुपर्ने घडी आएको छ । राजनीतिक, सामाजिक, आर्थिक विकासका निम्ति, हामीले ल्याएको संसदीय प्रणाली कहाँ–कहाँ चुक्यो, त्यसको समीक्षा नगरी हामीले आगामी दिशा निर्धारण गर्न सक्दैनौँ । त्यसका निम्ति विगतदेखि वर्तमानसम्मको वस्तुनिष्ठ मूल्यांकन जरुरी छ ।

नेपालको लोकतन्त्रमाथि प्रश्न : पछिल्लो समयमा हामीले पटक–पटक लडेर ल्याएको लोकतन्त्रमाथि नै प्रश्न उठिरहेको छ । यसरी लोकतन्त्रमाथि किन, कसरी र कसका कारणले प्रश्न उठ्दै छ ? यो नै आजको सर्वाधिक महत्वपूर्ण प्रश्न हो । देशमा लोकतन्त्र ल्याउन जनताले लामो कालखण्डमा पटक–पटक संघर्ष गरे । हजारौँले बलिदान गरे, हजारौँ अंगभंग भए । कैयौँले आफन्त र घरबार गुमाए । यस क्रममा हामीले ०४६ को बलिदानी संघर्षबाट सक्रिय राजालाई पिँजराभित्र राखेर संवैधानिक राजतन्त्रसहितको बहुदलीय लोकतान्त्रिक व्यवस्था ल्यायौँ । देशमा लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन र देशको आगामी शासनसत्ता सञ्चालनका लागि सन्तनेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा एक वर्षभित्र संविधान निर्माण गरी आमनिर्वाचन सम्पन्न गरियो । निर्वाचनपछि स्पष्ट बहुमतसाथ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो । यस चरणमा देशमा ठुल्ठूला विकास आयोजना सुरु भए । जनतासम्म स्वास्थ्य सेवा पुर्‍याउन अस्पताल तथा जनताका छोराछोरीलाई शिक्षा दिन स्कुल, कलेज आदि स्थापना भए । सडक निर्माणको लहर आयो । खानेपानी आयोजनाहरू अघि बढे । उद्योगधन्दा र कलकारखाना स्थापित भए । सञ्चार क्षेत्रमा आमूल सुधार भयो । जिल्ला–जिल्लामा एफएम रेडियो सञ्चालनमा आए । पत्रकारिता क्षेत्र व्यापक फस्टायो । 

यसरी देशले विकास, निर्माण र समृद्धिको बाटो समातिरहेको समयमा तत्कालीन सत्तारुढ कांग्रेसभित्र आन्तरिक द्वन्द्व सुरु भयो । सन्तनेता किशुनजी, गणेशमानजी र गिरिजाबाबुबीच मनमुटाब बढ्दै गयो । पार्टीमा आन्तरिक द्वन्द्व बढ्दै गएको अवस्थामा ०५१ सालमा पंक्तिकारले राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा नेतात्रयलाई एउटै मञ्चमा राखेर भनेको थियो– तपाईंहरू यसरी किन आन्तरिक झगडा गर्दै हुनुहुन्छ ? गणेशमानजी, तपाईं प्रजातन्त्रका पिता हुनुहुन्छ । किशुनजी, तपाईं गृहस्थीविहीन नेता हुनुहुन्छ । सबै नेपाली नै तपाईंका सन्तान हुन् । गिरिजाबाबु, तपाईं किन आफ्ना दाजुका मित्रसित द्वन्द्व गरिरहनुभएको छ ? तपाईंका पिता कृष्णप्रसाद कोइरालाले नेपाली जनतालाई रैतीबाट नागरिक बनाउन बीजारोपण गरेको क्रान्ति किन भुल्दै हुनुहुन्छ ? यस्तो गौरवशाली विगत र वर्तमान भएका नेताहरू ससाना विषयमा किन झगडा गर्दै हुनुहुन्छ ? पंक्तिकारले त्यतिवेलै भनेको थियो– तपाईंहरूले जुन–जुन व्यक्तिहरूलाई समाइरहनुभएको छ, तिनले पार्टी पनि फुटाउँछन्, ती जेल पनि जान्छन् र तिनीहरूबाट प्रजातन्त्रको रक्षा पनि हुन सक्दैन । ती भनाइ विभिन्न सञ्चार–माध्यमका सम्पादकीय बने । लेखकका लेख बने तर पंक्तिकारको राजनीतिक यात्राका लागि भने ठूलो पर्खाल बन्यो । गणेशमानजी र किशुनजीजस्ता विश्वनेतासित तुलना गर्न सकिने नेताले पनि तत्कालीन समस्यालाई व्यवस्थापन गर्न सक्नुभएन ।

जसले आफ्नो इतिहास भुल्छ, धर्म र संस्कृतिको अपमान गर्छ, रसिदका आधारमा कार्यकर्तालाई बन्दी बनाउँछ र ठूलो पर्खाल अनि सुरक्षाकर्मीको घेरामा आफूलाई सुरक्षित ठान्छ, ऊ नै नेपालको विकासको बाधक हो

जसका कारण देश अस्थिरतातिर गयो । भ्रष्टाचार मौलाउँदै गयो । पार्टीभित्रको आन्तरिक खिचातानी चर्किंदै गयो । परिणामतः आफूसित स्पष्ट बहुमत हुँदाहुँदै पनि गिरिजाबाबुले देशलाई मध्यावधि निर्वाचनमा होमिदिनुभयो । मध्यावधिपछि कांग्रेस सानो पार्टीमा खुम्चियो । देशमा कम्युनिस्टको अल्पमतको सरकार बन्यो । हिजो पञ्चायत फाल्न एउटै मोर्चामा कुम जुधाएर संघर्ष गरेका कांग्रेस र कम्युनिस्ट पार्टीहरू कहिले सूर्यबहादुर थापाको त कहिले लोकेन्द्रबहादुर चन्दको पुच्छर बनेर आफू सत्तामा उक्लिने अर्कोलाई सत्ताबाट फाल्ने उपक्रममा लागे । लोकतान्त्रिक आन्दोलनका अगुवा राजनीतिक दल र तिनका अगुवा नेताको मतिभ्रम भयो । उनीहरूले एकआपसमा सामान्य संयमसमेत राख्न सकेनन् । त्यस समयका कम्युनिस्टको उद्दण्ड र उग्रचिन्तन तथा कांग्रेस नेताहरूको सत्तामोहका कारण देशमा माओवादी हिंसात्मक आन्दोलनको बीजारोपण भयो । माओवादी द्वन्द्वसँगै देशमा भौतिक, आर्थिक, शैक्षिकलगायत हरेक क्षेत्र तहसनहस भए । विकास निर्माणको गति ठप्प भयो । सामन्तको विरोधका नाममा कैयौँ सर्वसाधारण मारिए, कैयौँको उठिवास लगाइयो । तर, जसले विगतमा देशलाई लुटिरहेका थिए, तिनीहरू भने नेता नै रहिरहे । गरिब जनताले दुःख पाए । १७ हजारभन्दा बढी मानिस माओवादी हिंसाका नाममा मारिए । हजारौँ मानिस अंगभंग भए । हजारौँ विस्थापित भए । मध्यावधि निर्वाचन कांग्रेसका निम्ति दुर्भाग्य बन्यो । हिंसाका निम्ति मलजल बन्यो । नेतृत्वका निम्ति माफिया र नेताहरूलाई कमाउने धन्दा बन्यो । नेपालको भूमि विदेशीको क्रिडास्थल बन्यो । लोकतन्त्रमाथि प्रश्न खडा भयो ।

विकासको बाधक नेतृत्व : देश माओवादी हिंसात्मक द्वन्द्वको चपेटामा परिरहेको समयमा विकास, निर्माण र राजनीतिक स्थिरताको मुख्य शत्रु राजतन्त्र या राजसंस्था नै हो भन्ने सोचाइ बन्यो । केन्द्रीकृत राज्य प्रणाली नै यसको मुख्य समस्या हो भन्ने निष्कर्ष रह्यो । हिन्दू धर्मसापेक्षता नै सबै समस्याको मूल जड हो भन्ने बिउमा रासायनिक मल हालियो । त्यसैले हामीले ०६२/६३ मा अर्को आन्दोलन गरेर राजतन्त्रलाई देशबाट बिदा गर्‍यौँ । सिंहदरबारबाट सञ्चालन हुने शासन व्यवस्थालाई प्रदेश, गाउँ हुँदै वडासम्म पुर्‍यायौँ । हिन्दूधर्म सापेक्षता हटाएर देशलाई धर्मनिरपेक्ष बनायौँ । नेतृत्वको विकास समानुपातिक प्रणालीबाट हुन सक्छ भनेर हामीले त्यसलाई पनि अपनायौँ । हामीले देशको आर्थिक समृद्धि, सामाजिक न्याय, समतामूलक शासन व्यवस्था, विकास निर्माण आदिका लागि जे–जेलाई बाधक ठानेका थियौँ, ती सबैलाई फाल्यौँ, परिवर्तन गर्‍यौँ र प्रजातन्त्र शब्द पनि विकासको बाधक ठानी लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान निर्माण गर्‍यौँ । नयाँ संविधान निर्माणसँगै हामीले घोषणा गर्‍यौँ– अब यो देशको शासन जनताले गर्नेछन्, सिंहदरबार गाउँ–गाउँ पुगेर जनतालाई सेवा दिनेछ र समृद्धिको यात्रा गाउँ–गाउँबाट सुरु हुनेछ । २४० वर्ष पुरानो राजतन्त्रले अन्तिममा पत्रकार बोलाएर राजदण्ड र श्रीपेचको सुरक्षा होस् भन्दै जनतालाई बुझाएर राजा आफैँ गाडी हाँकेर दरबारबाट बाहिरिए । विश्वमा यस्तो इतिहास बिरलै पढ्न पाइन्छ । आज प्रश्न उठेको छ– नेपालको विकासको बाधक के हो त ? राजतन्त्र हो कि ? हिन्दूधर्म हो कि ? लोकतन्त्र हो कि ? कि ३० वर्षसम्म शासन गर्ने नेताहरू पो हुन् ? यी प्रश्नको निचोड ननिकाली अघि बढ्ने हो भने नेपालको विकास अब हुन सक्दैन । सीमित सत्ताधारी, उनैका आसेपासे, उनैको परिवारको विकास हुने, तर नेपाली युवाले जहिल्यै अरूको देशमा पसिना बगाउन बाध्य भइरहने हो भने यहाँ विकासको सधैँ अपव्याख्या भइरहनेछ । जसले आफ्नो इतिहास भुल्छ, धर्म र संस्कृतिको अपमान गर्छ, रसिदका आधारमा कार्यकर्तालाई बन्दी बनाउँछ र ठूलो पर्खाल र सुरक्षाकर्मीको घेरामा बसेपछि आफू सुरक्षित हुने ठान्छ, ऊ नै नेपालको विकासको बाधक हो ।

कम्युनिस्टको दुईतिहाइको सरकार : यिनै पृष्ठभूमिबीच देशमा नयाँ संविधान कार्यान्वयनसँगै नयाँ निर्वाचन भयो । कम्युनिस्ट पार्टीहरूले लगभग दुईतिहाइ मत पाए र देशमा सत्ता सम्हाले । देशमा आवश्यक सबैजसो संरचना बनिसकेका छन् । काम गरेर देखाउन कुनै बाधा, व्यवधान छैन । सधैँ टुटफुटको राजनीतिमा रमाइरहने कम्युनिस्ट पार्टीहरू एकजुट भइसकेका छन् । समाजवाद नै आफ्नो अन्तिम लक्ष्य मानेको कम्युनिस्ट पार्टीको हातमा देशको बागडोर पुगेको छ । देशको संविधान र संवैधानिक निकाय पनि उनीहरूकै हातमा छ । वडादेखि केन्द्रसम्म जताततै कम्युनिस्टकै बहुसंख्यक सरकार छ । यस्तो सुगम अवसर यो ३० वर्षमा कसैले पाएको थिएन । एकछत्र विनाचुनौती देश विकास, निर्माण र समृद्धिको यात्रामा अघि लम्किनुपर्ने समयमा सरकार बनेको दुई वर्षमै सत्तारुढ पार्टीभित्र आपसी झगडा चर्केको छ । देश कोरोना महाव्याधिसित एकजुट भएर लड्नुपर्ने समयमा सरकारले बेमौसी अध्यादेश ल्याएर रोमकालीन निरोको नयाँ ‘भर्सन’मा आफूलाई स्थापित गराएको छ । देश लकडाउनमा भएको समयमा सरकारले अर्काको पार्टी फुटाएर देखाइदिने मुडमा अध्यादेश ल्यायो । र, भ्रष्टाचारलाई संस्थागत विकास र संरक्षण गर्दै आफैँ विज्ञ, आफैँ डाक्टर बन्दा नयाँ समस्या सिर्जना भएको छ । सरकारका यस्ता अक्षम्य क्रियाकलापबाट आज फेरि केही प्रश्न खडा भएका छन्– के यो देशमा हिजो व्यवस्था बाधक थियो ? के धर्म बाधक थियो ? के राजतन्त्र बाधक थियो ? आखिर यी सबैलाई पन्छाएर जनताले एउटै दललाई दुईतिहाइ दिँदा पनि किन देशले विकासको गति समात्न सकेन ? किन जनताले समृद्धि अनुभूत गर्न सकेनन् ? आखिर जनताले लडेर ल्याएको लोकतन्त्र भ्रष्टतन्त्रमा परिणत हुनुमा को जिम्मेवार छ ? आज देशमा सशक्त सञ्चार माध्यम नभइदिएको भए लोकतन्त्रका आडमा मौलाइरहेका यस्ता विकृति र विसंगति उजागर हुने थिएनन् । जनताले आफ्ना नेता र आफूले ल्याएको शासन व्यवस्थाको अनुहार छर्लंग देख्न पाउने थिएनन् । विगतमा बुर्जुवा शिक्षा पढ्नु हुन्न भनी ‘नेस्नालिस्टिक आइसोलेसन’मा राख्ने कम्युनिस्टले शासन सञ्चालन गर्दा शिक्षाको कति महत्व हुन्छ भन्ने बुझ्न सकेनन् । अनुशासनका बन्धनमा बाँधिएका कार्यकर्ता प्रजातान्त्रिक पद्धतिमा नेताको मनपरीतन्त्रमा मुख बन्द गरेर बसिरहन्नन् भन्ने यथार्थ नेतृत्वले बुझ्न सकेन । प्रजातान्त्रिक परिपाटीअनुसार नेता पारदर्शी हुन नसक्नु र कम्युनिस्ट आचरणलाई भ्रष्टाचारीतन्त्रमा ‘डाइल्युट’ गरिदिँदा कम्युनिस्ट नेतृत्वप्रति नै प्रश्न खडा भएको छ ।

अबको नेपाल कता जाला : यस प्रश्नमाथि समीक्षा गर्ने समय आएको छ । झन्डै दुईतिहाइ मत च्यापेर रमाइरहेको सरकारले देश र जनताका लागि के गर्दै छ ? यो सरकारले फेरि पनि विगतकै विकृतिको भारी बोकिरहने हो कि विगतलाई बिर्सेर या सच्याएर अघि बढ्ने हो ? यो प्रश्न सबैतिर उठिरहेको छ । अब हामीले कुन बाटो अँगाल्ने हो ? देशलाई कता लाने हो ? अब हामीले यही व्यवस्थालाई राम्ररी चलाउने हो कि पुनः बन्दुकलाई आह्वान गर्ने हो ? संसदीय निर्वाचनमा राष्ट्रवादी सन्तनेता कृष्णप्रसाद भट्टराईको पराजय, समयअनुसार निर्णय गर्न सक्ने नेता मदन भण्डारीको रहस्यमय मृत्यु र राजा वीरेन्द्रको वंशविनाशजस्ता घटना अभैm अनुत्तरित नै छन् । तमाम आरोह–अवरोहको सामना गरेको कांग्रेसले सानो कचौरीमा दानाको गिन्ती गरेर आगामी चुनौतीको सामना गर्न सक्दैन । यस्तो कठिन समयमा विगत र वर्तमानको समीक्षा गर्दै प्रतिपक्षी दलले नेपालीको जनआवाजको प्रतिनिधित्व गर्दै जनतालाई विश्वास दिलाउन सक्नुपर्छ । 

प्रश्नको समाधान : त्यसो भए यसको समाधान के हो त ? हामीकहाँ व्यवस्था त परिवर्तन भयो । व्यवस्था नयाँ आए पनि नेतृत्व भने उही पुरानै दोहोरिइरह्यो । देशमा नयाँ संविधान आयो । नयाँ शासन प्रणाली पनि आयो । तर, नयाँ सोच बोकेको नयाँ नेतृत्व आउन सकेन । उत्तरदायित्वबोध गर्ने नेता देखिएनन् । ब्रह्मनालमा नपुगुन्जेल सत्ता नछाड्ने सत्तालिप्सा बोकेका नेता हिजो पनि थिए र तिनैको उत्तराधिकार बोकेर आज पनि देशको सत्तामा हालीमुहाली गरिरहेका छन् । नेतृत्वको समीक्षा गर्दा जसले शासन सत्ता चलाए, एकाधबाहेक धरैजसोको अनुहार भ्रष्टाचारको छिटाले कुरूप देखिएको छ । यसबाट देशको दुर्गतिमा व्यवस्थाभन्दा नेतृत्व कति जिम्मेवार हुँदो रहेछ भन्ने प्रस्ट भएको छ । त्यसैले अब हामीले नयाँ व्यवस्था होइन, नयाँ नेतृत्वको खोजी गर्ने समय आएको छ । यो नै आजको सबैभन्दा टड्कारो आवश्यकता हो । उसैले सबै प्रश्नको जवाफ दिन सक्छ ।
(डा. भण्डारी कांग्रेस केन्द्रीय सदस्य हुन्)