ब्याज तिर्ने समय ६ महिना बढाउन अटोमोबाइल्स व्यवसायीको माग
अटोमोबाइल व्यवसायीहरूले कोरोना भाइरसबाट उत्पन्न परिस्थितिले अटो क्षेत्र ठप्प बनेको जनाएका छन् । यस क्षेत्रमा शतप्रतिशत असर परेको उनीहरूको भनाइ छ । लकडाउनपछि यो क्षेत्र पूर्णतया बन्द भएको र व्यापार पनि पूरै रोकिएको उनीहरूले जनाएका छन् । लकडाउन अझै लम्बेमा यो व्यवसाय धराशायी हुने चिन्तामा उनीहरू छन् ।
अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले दुई महिनादेखि उद्योग व्यवसाय र प्रतिष्ठानहरू पूर्ण रूपमा बन्द अवस्थामा रहेको बताए । राष्ट्र बैंकले बैंकको ब्याजदर २ प्रतिशतले घटाउनु सकारात्मक कदम भएको भन्दै उनले बैंकहरूले पनि त्यसमा अझ केही गर्न सक्छन् कि भनी हेर्न सुझाब दिए ।
यसबाहेक आगामी असार मसान्तसम्मको ब्याज तिर्ने समय थप ६ महिना दिनुपर्ने माग उनको छ । अध्यक्ष दुलालले सरकारले भ्याट विवरण बुझाउने समय थप गर्नुपर्ने, कर बुझाउने अन्तिम समय पनि पुस मसान्तसम्म पुर्याउनुपर्नेलगायतका व्यवस्था गरेमा केही राहत हुने बताए ।