सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २३ मंगलबार
  • Tuesday, 07 July, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख १४ आइतबार १५:११:००
राजनीति

प्रधानमन्त्रीको प्रतिरक्षामा जुटे सहयोगी, सल्लाहकार थापा भन्छन् - षड्यन्त्र भयो, पूर्वमन्त्री बाँस्कोटा भन्छन् - गणितले फैसला गर्दैन

नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख १४ आइतबार १५:११:००
?>

नेकपाभित्र चुलिँदो शक्ति संघर्षसँगै प्रधानमन्त्री केपी ओली समूह प्रधानमन्त्रीको प्रतिरक्षामा जुटेको छ । प्रधानमन्त्री ओलीको प्रतिरक्षामा रहेका केही नेता रणनीति निर्माणमा जुटेका छन् भने केही नेता र सल्लाहकार सामाजिक सञ्जालमा सक्रिय भएका छन् । 

उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ रणनीति निर्माणमा जुटेका छन् । 

उनीहरूले ओली समूह मात्रै होइन, असन्तुष्ट नेताहरूसँग पनि लगातार संवाद गरिरहेका छन् । उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि ओलीनिकट नेताहरू सक्रियतापूर्वक प्रतिरक्षामा उत्रिएका हुन् ।  

ओलीनिकट मानिने नेकपाका एक स्थायी कमिटी सदस्यले आफूहरूबीच नियमित छलफल भइरहेको र अर्को पक्ष (पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूह) को गतिविधिमाथि नजर राखिएको बताए । 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारले त संकटविरुद्ध जुधिरहेको सरकारलाई घेराबन्दी गरिएको दाबी नै गरेका छन् । प्रधानमन्त्री ओलीका सल्लाहकारको यो दाबीसँगै नेकपाभित्र ठूलै तनाव भएको स्पष्ट संकेत आएको त छ नै प्रधानमन्त्रीका सहयोगीहरूको प्रतिरक्षाको रणनीति पनि उजागर भएको छ ।प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाका नाममा स्थिरताविरुद्ध चलखेल भएको पनि दाबी गरेका छन् ।

‘हङ पार्लियामेन्ट भयो भनेर नेपाली जनताले दुईतिहाइ संख्यामा नेकपालाई जिताइदिए, नांगो भागबन्डाले त हङ पार्टी पो भएछ ! जनमतको घोर अपमान, भागबन्डाको स्वाभाविक परिणाम । पार्टी एकता र त्यसपछिका सहमतिविपरीत षड्यन्त्र र छलछामहरू गर्ने सिलसिलाको पराकाष्ठा । कोरोनाका कारण उत्पन्न राष्ट्रिय संकटविरुद्ध जुधिरहेको र सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर स्थिरताविरुद्ध जारी चलखेल, नेकपाको नाममा’ थापाले आइतबार फेसबुकमा लेखेका छन् ।

उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन सुझाएको भोलिपल्ट प्रधानमन्त्रीका प्रेस सल्लाहकारको यस्तो टिप्पणी आएको हो । जसले नेकपाभित्र गहिरिँदो शक्ति संघर्षलाई उजागर गरेको छ ।

उता प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिने पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि पार्टीभित्र बहुमतको अंकगणितको कुनै सान्दर्भिकता नरहेको भन्दै प्रधानमन्त्रीको प्रतिरक्षामा उत्रिएका छन् । बाँस्कोटाले भनेका छन्- गणितले राजनीतिको होइन, राजनीतिले गणितको फैसला गर्छ ।

नेकपामा बहुमत स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गरेको तथा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीको राजीनामा मागेकै वेला ओलीनिकट नेता बाँस्कोटाले पार्टीभित्रको अंकगणितको कुनै अर्थ नरहेको बताएका हुन्।उनले नेकपामा ओलीविनाको चित्र कस्तो होला भनेर ओलीबाहेक अन्य समूहका नेताहरूलाई प्रश्न गरेका छन्। 

उनले सामाजिक सञ्जालमा आइतबार लेखेका छन्, ‘ओली नभएको नेकपाको कल्पना गर्ने पनि नेकपामा छन् भने तिनीहरूले चाहेको सबल नेकपाको चित्र कस्तो होला त ? गणितले राजनीतिको होइन, राजनीतिले गणितको फैसला गर्छ। तिनाउको किनारमा रामापिथेकसको नलीहाड खोजेर बसेको भए मञ्जुश्रीले काठमाडौंमा बस्ती नै बसाउन सक्ने थिएनन्।’

बाँस्कोटाकाे स्टाटसमा बहुमतको निर्णय मान्न प्रधानमन्त्री ओली बाध्य नहुने संकेत छ । नेकपामा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहको बहुमत छ । 

संसदीय दलमा पनि प्रचण्ड र नेपाल पक्षकाे बहुमत छ । यही अंकगणितको चर्चा–परिचर्चा भैरहदा ओलीका विश्वासपात्र मानिने बाँस्कोटाले गणितले राजनीतिको होइन, राजनीतिले गणितको फैसला गर्ने अर्थपूर्ण टिप्पणी गरेका हुन् ।