१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७७ बैशाख १४ आइतबार १०:५६:००
Read Time : > 1 मिनेट
विश्व

ट्रम्पले रोके नियमित पत्रकार सम्मेलन

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ बैशाख १४ आइतबार १०:५६:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबारे ह्वाइटहाउसमा हुँदै आएको नियमित पत्रकार सम्मेलन रोकेका छन् । रिपब्लिकन तथा ह्वाइटहाउसका सल्लाहकारले मिडियामा नियमित उपस्थितिले आगामी निर्वाचनमा ट्रम्पलाई कमजोर बनाउन सक्ने भन्दै दैनिक पत्रकार सम्मेलन रोक्न सुझाब दिएका थिए । 

यही सुझाबअनुसार नै प्रेस ब्रिफिङ रोक्ने निर्णयमा ट्रम्प पुगेका हुन् । पत्रकार सम्मेलनका क्रममा ट्रम्पले बोलेका धेरै विषय आलोचित हुँदै आएका छन् भने उनले त्यहाँ उपस्थित पत्रकारसँग पनि विवाद गर्दै आइरहेका छन् । 

अमेरिकी सञ्चारमाध्यम पोलिटिकोले जनाएअनुसार कोरोना भाइरसको महामारीका विषयमा उनले लिएका गलत कदमको धेरै आलोचना भइरहेको छ र केही मुख्य राज्यमा उनको चुनावी स्थिति पनि खस्किरहेको छ । ट्रम्पका केही सहयोगीले दैनिक लामो ब्रिफिङ छोट्याउन र चिकित्सकीय सल्लाह दिने जिम्मेवारी विज्ञहरूलाई दिन आग्रह गरिरहेका थिए ।  

बिहीबार ट्रम्पले विनाआधार कीटनाशक औषधिले कोरोना भाइरसको उपचार गर्न सक्ने बताएपछि उनको विश्वभर नै आलोचना भएको थियो । क्लिनिङ उत्पादक तथा अन्य चिकित्साकर्मीले पनि राष्ट्रपति ट्रम्पको चर्को आलोचना गरेका थिए । 

यसको भोलिपल्ट ट्रम्पले आफूले गरेका दाबीहरू वास्तविक नभई ‘व्यंग्यात्मक’ भएको भन्दै आफ्नो बचाउ गरिरहेका थिए । शुक्रबार ट्रम्पले ३० मिनेटभन्दा थोरै समय बोले, त्यहाँ कुनै प्रश्न पनि सोधिएन । शनिबार ट्रम्पको अनुहार अँध्यारो थियो, उनले प्रेस ब्रिफिङ गरेनन्, तर ह्वाइटहाउसका टास्क फोर्ससँग निजी रूपमा भेटे । 

प्रेस ब्रिफिङ रुममा नदेखिए पनि उनी सामाजिक सञ्जालमा सक्रिय देखिन्थे । उनले ट्विटरमा जर्जियाका गभर्नरसँग खुसी नभएको भन्दै ट्विट गरेका थिए । गभर्नर ब्रायन केम्पले गत साताको अन्त्यबाट सैलुन, व्यायामशालालगायतका केही व्यवसाय खोल्न दिएका थिए । ट्रम्पले जर्जिया बन्द राख्न केम्पलाई सुझाब दिएका थिए । 

ट्रम्पले यो ब्रिफिङमा मिडियाहरू पूर्वाग्रही भएर प्रश्न गर्ने गरेको आरोप लगाए । उनले त्यस्ता मिडियाले सत्यतथ्य कहिले पनि प्रकाशित नगरेको र अमेरिकी नागरिकलाई सधैँ गलत समाचार मात्र सम्प्रेषण गर्ने गरेकाले प्रेस ब्रिफिङ रोक्नुपरेको भन्दै अर्को ट्विट गरेका थिए ।