मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ बैशाख १४ आइतबार १०:०५:००
Read Time : > 2 मिनेट
पालिका अपडेट

लकडाउनमा सडक बुझेका मनकारी पाइलट

Read Time : > 2 मिनेट
२०७७ बैशाख १४ आइतबार १०:०५:००

भीमसेनगोलास्थित काठमाडौं महानगरपालिका–३१ को कार्यालयअगाडि प्रहरीले मानिसको लाइन मिलाउँदै थियो भने अर्को हुललाई भगाउँदै थियो । लकडाउन लम्बिँदा भान्सा रित्तिएका मजदुर, सुकुमबासी र अतिविपन्नहरू राहत लिन यसरी लाइन लागेका थिए । घरैअगाडि देखिएको त्योे दृश्यले क्याप्टेन रमेश श्रेष्ठको ध्यान खिच्यो । भोजपुरको दावामा जन्मिएका श्रेष्ठ यती एयरलाइन्सको ‘एटिआर ७२’ जहाज उडाउँछन् । उनले भने, ‘सोधपुछ गर्दा थाहा पाएँ, त्यहाँ सीमित मान्छेलाई मात्रै राहत दिएको रहेछ । नपाउनेले विरोध गरेपछि प्रहरीले भगाएको रहेछ ।’

२० वर्षदेखि धेरै समय आकाशमै बिताउँदै आएका पाइलट श्रेष्ठलाई यो घटनाले खान नपाउनेहरूको दुःख महसुस गरायो । उनले ती परिवारलाई एक लाख रूपैयाँको खाद्यान्न सहयोग गर्ने वचन दिए र सूची तयार पार्न लगाए । तुरुन्तै एक सय ८० जनाको सूची पनि बन्यो । आफूले मात्रै दिँदा सबैलाई पर्याप्त सामग्री दिन नसकिने भएपछि उनले यो कुरा पाइलटहरूको भाइबर ग्रुपमा सेयर गरे । क्याप्टेन रमोद श्रेष्ठ र क्याप्टेन गौरव बोहराले तुरुन्तै साथ दिए । क्याप्टेन रिवाज प्रधानले एक लाख रूपैयाँ दिने घोषणा गरे । अनि त सहयोग गर्न चाहनेको लामो सूची नै बन्यो । उनले व्यक्तिगत रूपमा थालेको अभियान अहिले पाइलटहरूको साझा बनेको छ । अभियानमा ३५ जनाभन्दा बढी पाइलट सामेल छन् । 

क्याप्टेन श्रेष्ठ र केसी कहिले काठमाडौंको रिङरोड कुद्छन् त कहिले थानकोट र नागढुंगा पुग्छन् । पाइलटहरूले विपन्न परिवारलाई खाद्यान्न, भोकालाई खाजा–खाना र तिर्खाएकालाई पानी मात्रै पिलाएका छैनन्, रित्तो गोजीमै नागबेली सडक नाप्दै हिँडेकालाई बाटोखर्च पनि दिएका छन् । हरेक महिना आधाजति समय आकाशमै उड्ने पाइलटहरूले भुइँमान्छेको जीवन सायदै नियालेका होलान् । तर, संकटका वेला उनीहरूले चालेको सामूहिक कदमले गरिब, दुःखीलाई साँच्चिकै सहयोग पुगेको छ । यो अभियानमा पाइलट मात्रै छैनन्, देशविदेशका सहयोगी मन र स्थानीय किङ कम युवा क्लबका युवा पनि जोडिएका छन् ।

आधा महिना आकाशमा उड्ने पाइलटहरूले भुइँमान्छेको जीवन सायदै नियालेका होलान् । तर, संकटका वेला उनीहरूले चालेको सामूहिक कदमले गरिब र दीनदुःखीलाई साँच्चिकै सहयोग पुगेको छ ।

यसरी निस्किए सडकमा

लकडाउनको २४औँ दिन । मजदुरहरू सडकमा पैदल हिँडेर घर जान थालेको थाहा पाएपछि क्याप्टेन रमेश श्रेष्ठ श्रीमती लीला मास्के र क्याप्टेन केसीलाई साथ लिएर सडकमा निस्किए । बानेश्वरबाट धुलिखेलसम्म पुगे । जाँदै गर्दा सूर्यविनायक नगरपालिका–९, नालिञ्चोकमा सप्तरीका धुना यादव भेटिए । काठमाडौंको हिमशिखर फर्निचरमा काम गर्ने उनी खाने–बस्ने पैसा नभएपछि पैदलै जान थालेका रहेछन् । उनको झोलामा केही खानेकुरा, मुखमा मास्क र हातमा पन्जा त थिए, तर गोजीमा ५० रुपैयाँ मात्रै थियो । श्रेष्ठ भन्छन्, ‘उनी कसरी घर पुग्थे होला भन्ने सोचेर झसंग भयौँ ।’ श्रेष्ठले यादवलाई दुई हजार रुपैयाँ बाटोखर्च दिए । र, अघि बढे । 

त्यसपछि उनीहरू धुलिखेलमा रोकिए । त्यहाँ १२ मजदुरको समूह थियो । ‘उनीहरूसँग पनि कुरा गर्‍यौँ, सुन्यौँ,’ श्रेष्ठ भन्छन्, ‘उनीहरूमा एकतमासको निराशा थियो । भन्थे, ‘यहाँ बसे पनि भोकै, हिँडे पनि भोकै, बरु केही दिन दुःख गर्दा घर पुगियो भने बाँचिएला भनेर हिँड्यौँ ।’ पाइलट श्रेष्ठले उनीहरूलाई खानेकुरा र नगद सहयोग गरे । साँझ फर्किंदा, जगातीमा एक हुल इँटाभट्टाका मजदुर जम्मा भएका रहेछन् । ‘काम नपाएको आठ दिन भयो । भएको खाद्यान्न खाइसक्यौँ, अब घर पुगे जे होला भनेर हिँडेको,’ एक श्रमिकको भनाइ पाइलट श्रेष्ठले सम्झिए । सल्यान र दाङका उनीहरू डेढ, दुई र चार वर्षे बच्चासहित ११ जना थिए । उनीहरूको आग्रह थियो, दाङसम्म भए पनि हामीलाई गाडीको टिकट मिलाइदिए हुने थियो भन्ने । उनीहरूलाई पाइलट श्रेष्ठले एक–एक हजार थपिदिए । 

आठ सय ५० परिवारलाई राहत

क्याप्टेन श्रेष्ठले आठ सय ५० परिवारलाई राहत दिइसकेका छन् । खान नपाएको भन्दै माग्न आउने सबै परिवारलाई एक हजार रुपैयाँको प्याकेज उपलब्ध गराएको श्रेष्ठले बताए । ‘सुरुमा यहीँबाट राहत बाँडियो, अहिले भीड लाग्न थालेपछि पहिले नाम टिप्ने, अनि घरमै पुर्‍याइदिने गरेका छौँ,’ श्रेष्ठले भने । ‘राहत वितरण गरेकोबारे वडालाई जानकारी दिएका छौँ, वडाबाट नपाएकाहरूले पनि यहाँबाट चित्त बुझाएर गएका छन्,’ उनले भने । राहत लिनेमध्ये काठमाडौं पुरानो बानेश्वर, बानेश्वर, भीमसेनगोला, सिनामंगल, गौशाला, बत्तीसपुतली, तीनकुने, कोटेश्वरका धेरै छन् । आफूले सुकुमबासी बस्तीसम्म पुगेर पनि राहत वितरण गरेको उनले बताए । 

यी हुन् सहयोगी पाइलट

क्याप्टेन श्रेष्ठलाई राहत वितरणका लागि देश–विदेशमा रहेका पाइलट र अन्य सहयोगी व्यक्तिहरूले सघाएका छन् । ‘मैले एक्लैले थालेको थिएँ, पछि त्यही आधारमा सबै साथीहरूले विश्वास गरेर पैसा पठाउनुभयो, अनि राहतको भोल्युम पनि बढ्दै गयो,’ उनी भन्छन् । अहिले त चिन्दै नचिनेका मान्छेले पनि फेसबुकमा लाइभ हेरेर सहयोग गरेको उनी बताउँछन् । त्यसमध्ये टोकियोबाट ताराबाबु श्रेष्ठ (५० हजार), कोलम्बसबाट राम थापा (पाँच सय डलर), क्यानडाबाट अनिल माजू (दुई सय डलर) आदि छन् । यस्तै, युकेबाट मधु गुरुङ, काठमाडौंबाट बसोदा गुरुङ र पाइलट सुदीप रिजालको नाम उनी सम्झिन्छन् । 

उनको अभियानमा पाइलटहरू आरके सिद्धि, सराहाङ बान्तावा, सौरभ ढुंगाना, नाम्गेल लामा, समार्थरत्न तुलाधर, नारायण थापा, बन्द शेर्पा, शिव पौडेल, जेके निरौला, पवनसिंह नगरकोटी, एनयु शेख, सोनाछुकी शेर्पा, लेखनाथ पोखरेल, सुदन केसी, हरिबाबु दाहाल, सुदीप रिजाल, लेविस चन्द, प्रदीप मल्ल, रितेश कर्ण, अञ्जु खतिवडा, प्रभाकर घिमिरे र ज्ञानेन्द्र गौचनलगायतले साथ दिएका छन् । ‘परिवारका सदस्य, साथीभाइ, इष्टमित्र, छिमेकी र फेसबुकका साथीहरूले पनि स्वस्फूर्त सहयोग गर्नुभएको छ,’ उनले सुनाए ।