Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख १४ आइतबार ०७:५८:००
Read Time : > 10 मिनेट
मुख्य समाचार

परदेशमा नेपाली बिरामी, स्वदेशमा परिवार तनावमा

Read Time : > 10 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख १४ आइतबार ०७:५८:००

हो, नेपालमा कोरोना नियन्त्रित छ, तर विदेशमा रहेका नेपालीमा संक्रमण फैलिएको छ, मृतकको संख्या पनि बढिरहेको छ 

अमेरिका : कोरोनाको दोस्रो इपिसेन्टरमा नेपालीको बसोवास

१० को मृत्यु, एक हजारभन्दा धेरै संक्रमित

अमेरिकामा सक्रिय पत्रकार किशोर पन्थीका अनुसार कोरोनाको संक्रमणबाट अमेरिकामा १० नेपालीको मृत्यु भएको छ । न्युयोर्कमा मात्रै एक हजारभन्दा धेरै नेपाली कोरोनाबाट संक्रमित भएका छन् । उपचारपछि उनीहरू क्रमशः घर फर्कने क्रम भने जारी छ । 

धेरै नेपालीमा मार्चको अन्तिम साता कोरोनाको संक्रमण देखिएको हो । अधिकांशको मृत्यु पनि मार्चको अन्तिम र अप्रिलको पहिलो साता भयो । अमेरिकामा कोरोना संक्रमण उत्कर्षमा देखिएको पनि अप्रिलको पहिलो र दोस्रो साता नै हो । 

न्युयोर्कलाई कोरोनाको नयाँ इपिसेन्टर भन्न थालिएको छ । न्युयोर्कको क्विन्स इपिसेन्टरभित्रको पनि इपिसेन्टर हो । र, यहीँ नेपालीको बाक्लो बसोवास छ । न्युयोर्कमा मृत्यु हुने सबै नेपाली क्विन्स क्षेत्रमा बसोवास गर्ने हुन् । न्युयोर्क स्टेट डिपार्टमेन्ट अफ हेल्थका अनुसार क्विन्समा अहिलेसम्म संक्रमितको संख्या ४६ हजार नाघेको छ । जुन अमेरिकाका अन्य काउन्टी वा सिटीका तुलनामा सबैभन्दा धेरै हो । 

न्युयोर्कमा ५० हजारभन्दा बढी नेपालीको बसोवास रहेको अनुमान छ । त्यसमा पनि अधिकांशको बसोवास कोरोनाबाट सबैभन्दा धेरै प्रभावित ज्याक्सनहाइट, उडसाइड, सन्निसाइड, एल्महस्र्टलगायतका क्षेत्रमा छ । यी क्षेत्रमा मात्र नेपालीका डेढ दर्जनभन्दा बढी रेस्टुरेन्ट छन् । यस क्षेत्रलाई नेपालीहरूले मिनी नेपालका रूपमा चिन्छन् । 

सार्वजनिक यातायातको प्रयोग, भीडभाडयुक्त रेस्टुरेन्ट, क्याफे, बार र मनोरञ्जन स्थलहरू तथा विश्वभरका पर्यटकहरूको पहिलो गन्तव्य भएका कारण न्युयोर्कमा छिटो संक्रमण फैलिएको बताइन्छ ।  न्युयोर्क सिटीभित्रको झन्डै २ प्रतिशत जनसंख्यामा कोरोना संक्रमण रहेको पुष्टि भइसकेको छ । 

तीनप्रकारका नेपाली धेरै प्रभावित

कोरोना महामारीका कारण अमेरिकामा मुख्यतः तीन प्रकारका नेपाली सबैभन्दा धेरै प्रभावित भएका छन् । पहिलो, विद्यार्थी भिसामा रहेका नेपालीहरू । सरकारले दिने कुनै पनि राहत प्राप्त नगर्ने तथा निश्चित समयभन्दा धेरै कामसमेत गर्न नपाउने भएका कारण ठूलो संख्यामा उनीहरू मारमा परेका छन् । चर्को आर्थिक अभावको सामना पनि गर्नुपरेको छ । 

दोश्रो, अमेरिकामा रहेका कागजपत्रविहीन नेपालीहरू चर्को मारमा परेका छन् । उनीहरू पनि सरकारबाट पाउने आर्थिक सुविधाबाट वञ्चित छन् । सन् २०१५ भन्दाअगाडि अमेरिका आएका कागजपत्रविहीन नेपालीलाई टिपिएसले समेटेको छ, तर त्यसपछि कागजपत्रविहीन हुनेहरू आर्थिक मारमा छन् । कागजपत्रविहीनहरूका लागि केही गैरनाफामूलक संस्था र न्युयोर्क, क्यालिफोर्नियाजस्ता उदार राज्यमा स्थानीय सरकारले प्याकेजहरू ल्याए पनि त्यति प्रभावकारी छैनन् । 

तेश्रो, विभिन्न भिसामा आएका तर, कोरोनाका कारण फर्कन नसकेका नेपालीहरू समस्यामा परेका छन् । उनीहरूले एकातिर आर्थिक अभाव झेल्नुपरेको छ भने अर्कातर्फ भिसा थपका लागि सरकारले खास व्यवस्था गरेको छैन । उनीहरूले चार सय ५५ डलर  तिरेर नियमित प्रक्रियाबाटै भिसा थप्नुपर्ने वा परिवर्तन गर्नुपर्ने हुन्छ । 

युएईमा कोरोना संक्रमित श्रमिकको उद्धार भएन

दोलखाकी २५ वर्षीया सबिना तामाङ वैदेशिक रोजगारीका लागि युएईको आबुधाबी पुगेको सात वर्ष भयो । उनी आबुधाबीको ट्रयाफुक फ्यासिलिटी म्यानेजमेन्ट कम्पनीमा क्लिनरको काम गर्छिन् । उनीसँगै सिन्धुपाल्चोककी २७ वर्षीया सरिता रसाइली र सोनु तामाङ पनि कम्पनीले दिएको होस्टलको एउटै कोठामा बस्छन् 

अप्रिलको सुरुवातमै सबिना बिरामी भइन् । खोकी, ज्वरोसँगै शरीर दुख्ने लक्षण देखिएपछि उनी आबुधाबीस्थित निजी हस्पिटल अल आलियामा परीक्षणका लागि गइन् । त्यसको दुई दिनमा सबिनालाई जस्तै सरितामा पनि लक्षणहरू देखियो । उनी पनि सोही हस्पिटलमा गइन् । परीक्षणको सात दिनपछि ९ अप्रिलमा सबिनाको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखायो । त्यसलगत्तै १२ अप्रिलमा सरिताको रिपोर्ट पनि पोजेटिभ देखायो । त्यसपछि हस्पिटलले आफ्नो कोठामा सुरक्षित रहन सल्लाह दिँदै थप उपचारका लागि सरकारी हस्पिटलमा रिफर गरिदियो । उनीहरूले सरकारी हस्पिटल खलिफामा फोन गरे । हस्पिटलले लिन आउँछु त भन्यो, तर हालसम्म सम्पर्क नगरेको सरिताले फोनमार्फत नयाँ पत्रिकालाई जानकारी दिइन् ।

तीन वर्षअघि आबुधाबी पुगेकी सरिता रसाइली जताजतै कोरोनाले मानिसहरू मृत्यु भएको खबर सुन्दा आफूलाई चाहिँ नलागोस् भनेर प्रार्थना गर्थिन् । ‘तर, १२ अप्रिलमा अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि आजसम्म कहिल्यै राम्ररी सुतेको छैन,’ उनले फोनमा भनिन् । सरिताले घरमा आमाबुबालाई कोरोना पोजेटिभ भएको सुनाएकी छैनन्, तर दिदीहरूलाई भने जानकारी दिइन् । उनी भन्छिन्, ‘कमसेकम नेपालमा बिरामी भए पनि आफ्नो मान्छेको माझमा हुने थिएँ । यो बिरानो ठाउँमै मरिन्छ कि भन्ने चिन्ता लाग्छ ।’ काममा आउँदा–जाँदा प्रयोग गर्ने सार्वजनिक सवारीसाधनबाट कोरोना सरेको हुन सक्ने उनीहरूको आंशका छ । 

कोरोना पोजेटिभ देखिएको १७ दिन भइसक्दा पनि उनीहरूको उपचारका लागि कम्पनी, युएई सरकार तथा नेपाल सरकारले चासो देखाएका छैनन् । कोरोना संक्रमण देखिएपछि उनीहरू काममा गएका छैनन् । संक्रमण नदेखिएकी एक साथी पनि उनीहरूसँगै बस्छिन् । उनीहरूले युएईस्थित नेपाली दूतावासमा पनि खबर गरेका थिए । तर, दूतावासले लिन आउँछु भनेर केही खबर नगरेको सरिताले बताइन् । 

दूतावासले समन्वय गर्ने हो : प्रवक्ता दाहाल

दूतावासले संक्रमित नेपाली श्रमिकका लागि समन्वय मात्रै गर्न सक्ने युएईस्थित नेपाली दूतावासकी प्रवक्ता रीता दाहालले बताइन् । उनका अनुसार संक्रमित भएका कोही श्रमिकको सूचना आएमा दूतावासले सम्बन्धित स्थानको प्रहरी, स्वास्थ्य मन्त्रालय र श्रम मन्त्रालयमा खबर गरी समन्वय गर्ने काम गर्छ । तर, युएई सरकारको व्यवस्थाअनुसार संक्रमण देखिएमा सुरुमा आफैं कोठामा सेल्फ आइसोलेसनमा बस्नुपर्छ । आइसोलेसनमा रहँदा पनि गाह्रो भएमा अस्पताल जानुपर्ने उनले बताइन् ।

स्वदेशमा रहेका आफन्तका पीडा

नातिको बिहेमा गएका बाग्लुङका कर्णबहादुरको बेलायतमा निधन 

बाग्लुङ : बेलायतबाट जेठा छोरा बुहारीले फोन गरे– नातिको विवाह आँटियो, बा–आमा आउनुपर्‍यो । नातिनी बुहारी भित्र्याउने शुभकार्य आँटेको सुन्नेबित्तिकै ७६ वर्षका कर्णबहादुर केसी र श्रीमती सरस्वतीको मन चङ्गा भयो । 

बाग्लुङ नगरपालिका–१२ अमलाचौरका केसी दम्पतीसँगै जेठी बुहारीका बा–आमा (सम्धी, सम्धिनी) पनि बिहेमा जाने सल्लाह भयो । साइँला छोरालाई घरको जिम्मा लगाएर १० फागुनमा बाग्लुङबाट निस्केका उनीहरू १४ फागुनमा काठमाडौंबाट बेलायत उडे । 

१९ फागनुमा नाति मनोजको बिहेमा सरिक भए । वृद्ध हजुरबा, हजुरआमा उपस्थित भएर नातिको बिहेमा शोभा बढाइदिए । बिहेपछि दुई महिना बेलायतमै घुमघाम गरेर फर्किने योजना केसी दम्पतीको थियो, केही दिन त घुमे पनि । उनीहरूको फर्किने टिकट १४ वैशाख अर्थात् आजकै लागि काटिएको थियो । तर, कर्णबहादुरका लागि यो १४ वैशाख कहिल्यै आउन पाएन । 

१७ चैतमा कर्णबहादुरको स्वास्थ्यमा गडबडी भयो । तर, उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको विगत नभएकाले शोक नै निम्तेला भन्ने परिवारले सोचेको थिएन । तर, कोरोनाको महामारी फैलिएका वेला भएकाले सोही दिन उनलाई लन्डनको नर्थविक पार्क अस्पताल भर्ना गरियो । परिवार त्यतिवेला आत्तियो जब डाक्टरले कर्णबहादुरलाई निमोनिया भएको पुष्टि गरे । १९ चैतमा भेन्टिलेटरमा राखेर उपचार भयो । तर, एक सातापछि २६ चैतमा बुबाको निधन भएको कर्णबहादुरका साइँला छोरा इन्द्रबहादुर केसीले बताए । 

‘बाबालाई कोरोना भएको दाजु–भाउजूले थाहा पाउनुभएको रहेछ । उहाँ २६ गते बिहानसम्म सामान्य बोल्नुहुन्थ्यो भन्ने कुरा आएको थियो । अस्पतालमा उहाँलाई भेट्न जाने अवस्था थिएन । पछि त नसोचेको खबर आयो,’ इन्द्रबहादुरले भने । कोरोनाले निमोनिया गराएको र मृत्यु भएको पुष्टि अस्पतालले गरेको खबर पाएको उनले बताए । तर, बुबाले नेपालमा कुनै दीर्घरोगको औषधि नखाएको उनको भनाइ छ । बेलायत जाँदा ट्रान्जिट वा बिहे भोजका वेला संक्रमण भएको आशंका परिवारलाई छ । तर, परिवारका अन्य सदस्यलाई संक्रमण देखिएको छैन ।

केसी परिवारमा बिहेसँगै भित्रिएको खुसी एक महिनामै कर्णबहादुरको मृत्युसँगै धमिलिएको छ । परिवार शोकमा छ । सबैभन्दा विक्षिप्त त वृद्धा सरस्वती छिन्, जो नातिनीबुहारी भित्र्याउन श्रीमान्सँगै बाग्लुङबाट बेलायत पुगिन्, अब श्रीमान्विना गाउँ फर्किनुपर्नेछ । 

कर्णबहादुरको मृत्युमा गाउँ पनि शोकमा छ । भारतीय सेनाका रिटायर्ड उनी राजनीतिसँगै समाजसेवामा थिए । ०४९ को स्थानीय तह निर्वाचनमा एमालेबाट टिकट पाएर उनी तत्कालीन अमलाचौर गाविसको उपाध्यक्षमा निर्वाचित भएका थिए । पछिल्ला दिन नेकपा ज्येष्ठ कम्युनिस्ट मञ्चका जिल्ला सदस्य पनि थिए । समाजसेवालाई प्राथमिकतामा राखेर राजनीति गर्ने स्वभावका कारण गाउँमा उनको प्रतिष्ठा थियो । उनले स्थानीय लक्ष्मीनारायण आधारभूत विद्यालयको शैक्षिक उन्नयनमा योगदान गरेको प्रधानान्यापक हरि लामिछाने बताउँछन् । ‘उहाँ विद्यालय व्यवस्थापन समितिको सल्लाहकार हुनुहुन्थ्यो । हामीले सामाजिक क्षेत्रमा ठूलो धरोहर गुमाएका छौँ,’ लामिछानेले भने, ‘अघिल्लोपटक बेलायत जाँदा उहाँले विद्यालयका लागि आर्थिक संकलन गरेरसमेत ल्याउनुभएको थियो । उहाँको योगदान यो समाजले कहिल्यै भुल्नेछैन ।’ कर्णबहादुरका कान्छो छोरा जापान छन् भने माइला छोरा नेपाल आर्मीका रिटायर्ड हुन् । साइँला छोरा गाउँमै कृषि र व्यापार गर्छन् । चार छोरा र दुई छोरी सबैको विवाह भइसकेको छ । 

‘बेलायतमा कोरोनाले दाइ लग्यो, अनुहार पनि हेर्न पाइएन’ 

संखुवासभा : बेलायतमा कोरोनाबाट निधन भएका भूपू गोर्खा सैनिक लीलाबहादुर राईको स्थायी घर संखुवासभाको खाँदबारी नगरपालिका–१० पहिरेमा छ । श्रीमती, कान्छा छोरा र बुहारीसहित उनी बेलायतको ह्यारो सहरमा बस्दै आएका थिए । जेठा छोरा जीवनका परिवार, छोरी दिनु राईका परिवार र दाइभाइ खलक सबै नेपालमै छन् । जीवनका परिवार इटहरीको जुट विकासमा बस्छन् । 

६६ वर्षका लीलाबहादुरको ५ चैतमा नर्थविक पार्क अस्पतालमा निधन भएको थियो । उतै अन्त्येष्टि भइसकेको छ । उता मृत्यु भयो, यता परिवार र आफन्त शोकमा छन् । लकडाउनका कारण विदेशमा मृत्यु भएका सबैको शव उतै रोकिएको अवस्थामा कोरोनाले मृत्यु भएका व्यक्तिको त ल्याउने कुरै थिएन । 

‘दाइलाई मधुमेह र उच्च रक्तचापको समस्या थियो । दुई वर्षअघि मिर्गौला पनि प्रत्यारोपण गरेको थियो,’ कान्छा भाइ मानबहादुरले भने, ‘भतिजोसँग कुरा हुँदा नियमित जाँचका क्रममा कोरोना सरेको भन्थ्यो । केही दिनपछि त मृत्युको खबर आयो । अरूवेला भए त शव ल्याउने कुरा हुन्थ्यो होला, तर कोरोनाले गर्दा दाइको अनुहार पनि हेर्न पाइएन ।’

लीलाबहादुर विद्यालय तहसम्म पढेर लाहुरे भएका थिए । लाहुरे बनेपछि इटहरीमा घरजग्गा जोडेका थिए, जेठा छोराको परिवार त्यहीँ बस्छन् । पहिरेमा पनि पैतृक सम्पत्ति छँदै छ । आफू र माइला दाइ चित्रबहादुर पहिरेमै रहेको मानबहादुले बताए । 

दाइको मृत्युको खबरले शोकसँग रहेका मानबहादुरलाई नेपालमा कोरोना फैलिँदै गरेको खबरले पनि झस्काउँछ । ‘हाम्रो गाउँघरमा पनि अहिले कोरोनाको त्रास बढेको छ । सुरक्षित भएर बस्न छोराछोरी, वडाअध्यक्षहरूले भनिरहेका छन् । साबुनपानीले हात धुन सम्झाइरहेका छन्,’ उनले भने, ‘रेडियोले छिमेकी जिल्ला भोजपुरमा पनि संक्रमित भेटिएको भन्छ । उता दाइको ज्यान लियो, कतै हामीलाई पनि नछाड्ने त होइन भन्ने डर लाग्छ ।’ 

‘दसैँमा परिवार लिएर आउँछु भनेर निस्केको छोरो कहिल्यै नआउने भयो’

चितवन : चितवनको भरतपुर महानगरपालिका–११ बसेनीका ४० वर्षीय प्रशान्त अर्याल फगुनको दोस्रो साता नेपालमै थिए । १० फागुनमा बेलायत प्रस्थानका लागि परिवार र काकाकाकीसँग बिदा हुँदा उनले आउँदो दसैँमा परिवारसहित घर आउने वचन छाडेका थिए । 

तर, प्रशान्तले त्यो वचन पूरा गर्न पाएनन् । लन्डन फर्किएको एक महिनामै कोरोनाले उनको निधन भयो । उपचारका क्रममा १० चैतमा उनको ज्यान गयो, तर अस्पतालले भने २९ चैतमा कोरोनाका कारण मृत्यु भएको प्रमाणित गरेर शव दिएको काका हीरालालले बताए । 

‘ऊ परिवारसहित लन्डनमा थियो । दुई महिनाअघि मात्रै बिदामा घर आएर फर्किएको हो । परिवारसमेत लिएर दसैँमा फेरि आउँछु काका भनेको थियो,’ हीरालालले भने, ‘तर, उ, गएको महिना दिनमै अप्रिय खबर सुन्नुप¥यो । ९ चैतमा बिरामी भएको भन्ने खबर पाएको थिएँ, १० गते त हामी सबैलाई छाडेर गएछ । पीडाले धेरै बोल्न मन पनि छैन ।’ 

प्रशान्त मधुमेहका बिरामी थिए । लन्डनमा उनकी श्रीमती, १३ वर्षीया छोरी र १० वर्षीय छोरा छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको खबर परिवारलाई छ । प्रशान्तका आमा र दिदी भने काठमाडौंमा छन् । यहाँ पनि परिवारले धर्म संस्कारअनुसार काजकिरिया गरिसकेको हीरालालले बताए । 

६९ वर्षीय यामबहादुर मल्लको बेलायतमा मृत्यु

स्याङ्जा : वालिङ नगरपालिका–९ का भूपूगोर्खा सैनिक ८६ वर्षीय यामबहादुर मल्लको पनि कोरोनाका कारण बेलायतमा ज्यान गएको छ । अघिल्लो शनिबार उनको निधन भएको वालिङ समाज युकेका अध्यक्ष धनुपुरन थकालीले बताए । 

स्वन्डनस्थित ग्रेट वेस्टर्न हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको हो । थकालीका अनुसार उनी सन् २००४ देखि छोराबुहारीसँगै बेलायतमा बस्दै आएका थिए । केही वर्षअघि उनको मुटुको अपरेसन गरिएको थियो । 

११ वर्ष परदेशमा पसिना, सपनाको तान बुन्दै गर्दा संघर्षमा पूर्णविराम

रूपन्देही : घरको आर्थिक अवस्था कमजोर थियो । त्यसैले, रूपन्देहीको देवदह नगरपालिका–५ प्रगतिबजारकी ४० वर्षीया बिनु पराजुली श्रीमान्लाई घरपरिवार जिम्मा लगाएर आफैँ दुबई हानिइन् । बिनु ११ वर्षदेखि वैदेशिक रोजगारीमा थिइन्, तैपनि घरव्यबहार चलाउन धौ–धौ थियो । 

घरमा बाआमा र १४ वर्षीया छोरी छाडेर श्रीमान् डोलराज पनि दुई महिनाअघि दुबई गए । परदेशमा दुईजनाले चार पाखुरी बजार्दा केही पैसा जोगिएला, राम्रै होला भन्ने सपनाको तान बुन्न थालिसकेका थिए । तर, अफसोच ! केहीदिनमै बिनुको संघर्षको यात्रामा पूर्णबिराम लाग्यो । 

घरेलु कामदारका रूपमा कार्यरत थिइन् बिनु । २१ चैतमा कोरोनाका कारण उनको मृत्यु भयो । ‘त्यस दिन बुहारीलाई पेट दुखेको रहेछ । समस्या सुनाएपछि मालिकले बेसारपानी खानू भनेछ । तर, राति सुतेकै अवस्थामा अचेत भइछन्, बिहान अबेरसम्म नउठेपपछि हेर्दा अचेत भेटिएर अस्पताल लगेको रहेछ,’ ससुरा चुरामणिले भने,’ ‘अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेछन् । पछि कोरोनाकै कारण मृत्यु भएको खबर आयो ।’ 

छोरा दुबईमै छन् । ९ कक्षामा पढ्ने छोरी र बाआमा यता शोकमा छन् । काजकिरिया गरेर धार्मिक जिम्मेवारी पूरा गर्ने सोचमा चुरामणि छन्, तर बुहारीको अन्त्येष्टि भयो÷भएन नै थाहा छैन । ‘परदेशमा पसिना बगाएर हामीलाई पाल्ने बुहारी उमेरमै गइन् । संसार सुनसान लागेको छ,’ उनले भने, ‘काजकिरिया गरेर उम्किन पाए मनमा थोरै भए पनि शान्ति मिल्थ्यो । तर, दाहसंस्कार भयो कि भएन पनि थाहा छैन । केही दिनअघि छोरासँग कुरा हुँदा स्पष्ट कुरै गरेन । ऊ झन् कति पीडामा होला ?’ 

अमर अल्पायुमै ढले, परिवार राख्न बनाउँदै गरेको घर कसरी ठडिएला ?

सुनसरी : परिवारको लालनपालनका लागि धरान उपमहानगरपालिका–११ कल्याण चोकका अमर राईले पनि १२ वर्षदेखि दुबईमा पसिना बेचे । तर, उनको श्रमसंघर्ष पनि कोरोनाले अन्त्य गरिदिएको छ । 

अमर गत फागुनमा छुट्टी लिएर घर आउने कुरा थियो । २८ चैतपछि १४ दिनका लागि कम्पनीले उनलाई छुट्टी दिएको थियो । २८ चैतसम्म उनले कम्पनीमै काम गरे । तर, कोरोना महामारीकै कारण घर आउने योजना रद्द भयो । दुर्भाग्य, उनको घर फर्किने योजना कहिल्यै पूरा हुन पाएन । एक साताअघि निधनको खबर पाएको श्रीमती हरिमायाले बताइन् । 

परिवारका अनुसार ३० चैतमा हल्का टाउको दुख्ने र ज्वरो आउने भएपछि १ वैशाखमा उनी अस्पताल गए । २ वैशाखदेखि क्वारेन्टाइनमा बस्न रेफर गरिदियो । ४ वैशाखमा पुनः अस्पतालमै भर्ना भएको खबर श्रीमतीलाई सुनाएका अमरले त्यसपछि कहिल्यै बोली मिसाउन पाएनन् । ‘४ वैशाखमा अस्पताल भर्ना भएको खबर गर्नुभयो । त्यसअघि क्वारेन्टाइनमा रहेको पनि थाहा थियो,’ हरिमायाले भनिन्, ‘यत्रो परिवार पाल्न गरेको दुःख देखेर पनि भगवान्ले हेर्लान् भन्ने आशा थियो, तर नसोचेको खबर आयो । ६ वैशाखको राति १२ः४२ मा उहाँ त हामीलाई छाडेर जानुभएछ । यस्तो खबर म कसरी सुनाउँ ?’ 

४४ वर्षका राई एक वर्षअघि नेपाल आएर पुनः फर्किएका थिए । पेट्रोलियम पदार्थ बिक्री गर्ने कम्पनी इनोकका सेल्स वर्कर थिए । ८ वर्षदेखि धरानमा डेरामा बस्दै आएका श्रीमती, छोरी र बुबालाई बसाउन धरान–११ मै घर बनाउन सुरु गरेका थिए । तर, घरमा कमाइ गर्ने एक मात्र अमर ढले, अब परिवार राख्न बनाउँदै गरेको घर कसरी ठडिएला ? शोकसँगै परिवारमा आर्थिक संकटले पेल्न थालेको छ । ‘कमाउने शरीर ढल्यो, अब कसरी परिवार चलाउने ?’ हरिमायाले भनिन् । गम्भीर समस्यामा परेको परिवारलाई अमरले काम गरेको कम्पनीबाट क्षतिपूर्ति दिलाइदिन आफन्त बुद्धिराज राईले माग गरेका छन् । 

गोपाल राईका एक्ला छोरा हुन् अमर । भोजपुर आचोक पुख्र्यौली घर । छोरो विदेशमा घोटिएर भए पनि परिवारलाई हाँसीखुसी राखेकोमा ७७ वर्षीय गोपालको मनमा हर्ष भरिँदै थियो । तर, एकाएक आँखाबाट आँसु बनेर बगेको छ । ‘एक्लो छोरोको मृत्युको खबर यो बुढोले कसरी सुनूँ ? गोपालले मलिन स्वरमा सोधे, ‘लास पनि हेर्न नपाइने हो ?’

उनको मृत्युको मेडिकल रिपोर्ट कम्पनीले पठाइसकेको वडा सदस्य कृष्णप्रसाद रिजालले बताए । ‘अमेरिकन अस्पतालले अमरको मृत्युको प्रमाणपत्र दिएको छ,’ उनले भने, ‘कोरोनाका कारण मृत्यु भएकाले दुबईमै अन्त्येष्टि गर्न स्वीकृतिको सिफारिस वडाले उपमहानगरमार्फत शुक्रबार नै परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।’ 

एक महिना होम क्वारेन्टाइनमा, अस्पताल जाँदा डाक्टरले जोगाउन सकेनन् 

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–६ रातढुंगाकी ४० वर्षीया लक्ष्मी भट्टचनको पनि नेदरल्यान्डमा कोरोनाका कारण मृत्यु भएको छ । श्रीमान् र छोराछोरीसहित नेदरल्यान्डमा रहेकी लक्ष्मीको ६ वैशाखमा निधन भएको हो । 

उनी १२ वर्षदेखि परिवासँग नेदरल्यान्डमा बस्दै आएकी थिइन् । स्वास्थ्यमा समस्या आएपछि डाक्टरको सल्लाहमा एक महिनासम्म होम क्वारेन्टाइनमा बसेकी उनलाई साह्रै भएपछि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको परिवारले जनाएको छ । उनको बिहीबार अन्त्येष्टि गरी परिवारले काजकिरिया गरिरहेको छ । यता काठमाडौंमा बसोवास गर्दै आएका जेठाजुसमेत किरिया बसेका छन् । 

‘उता नेदरल्यान्डमा छोरा किरिया बसेको छ, यता हामीले पनि संस्कार पूरा गर्न किरिया गरेका छौँ,’ आफन्त सरिता शेरचनले भनिन्, ‘सात दिनसम्म किरिया गर्ने परम्परा रहेकोमा लकडाउनका कारण पाँच दिनमै सक्ने तयारी छ ।’ 

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त भन्छन्– सात लाख नेपाली स्वदेश फर्किनुपर्ने हुन सक्छ

नेपालमा कोरोनाको कहर खासै नदेखिए पनि विदेशमा धेरै गैरआवासीय नेपाली यसको चपेटामा छन् । करिब अढाई हजार नेपाली संक्रमित भइसके । कतिपय संक्रमितले सूचना ग‍ोप्य राख्न चाहेकाले संक्रमितको संख्या अझ बढी छ । ४७ जनाको निधन भइसक्यो । अमेरिकामा धेरै संक्रमित छन् भने बेलायतमा धेरैको निधन भयो । स्पेन, इटाली र खाडी देशमा रहेका नेपाली पनि संक्रमित भइरहेका छन् । गैर आवासिय नेपाली संघको ८४ वटा देशका समन्वय समिति यतिवेला राहत र उद्धारमा सक्रिय छन् । अमेरिकाको न्युयोर्कमा अस्पतालमा बेड नभएर घरमै उपचार गर्नुपर्ने अवस्था आयो । संघले त्यस्तो परिवारमा औषधि पु¥याइदिने, अत्यावश्यक सामग्री जुटाइदिने गरेको छ । संक्रमितको संख्या अत्यधिक नभएका ठाउँमा उपचारमा धेरै समस्या छैन, त्यहाँको नागरिकसरह गैरआवासीय नेपालीले उपचार पाएको जानकारी पाएको छु । अवैध रूपमा रहेकाले पनि उपचार पाएका छन् । संघको स्वास्थ्य समितिले तथ्यांक संकलनका साथै उपचार, राहत, उद्धारमा समन्वय गरिरहेको छ ।

कोरोना महामारीका कारण धेरै नेपालीले रोजगारी गुमाउने अवस्था छ, खासगरी खाडी देशमा । रोजगारी गुमाउनेले स्वदेश फर्कनुपर्नेछ । युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडामा स्थायी बसोवास गरिरहेका फर्किंदैनन् । तर, विद्यार्थीहरू फर्किनुपर्ने हुन सक्छ । विद्यार्थी भए पनि काम गरेर पढ्ने खर्च जुटाउन पर्नेका लागि सजिलो हुनेछैन । करिब सात लाख नेपाली स्वदेश फर्किनुपर्ने हुन सक्छ । माल्टाजस्तो सानो टापुमा सात हजार नेपाली छन्, ती धेरै स्वदेश फर्किनुपर्ने अवस्था छ । पर्यटन व्यवसायमा रहेकाका नेपालीका लागि पनि अबको एक वर्ष चुनौतीपूर्ण छ । 

बेलायतमा पनि हजार नेपाली संक्रमित

बेलायतमा कार्यरत इन्जिनियर रामराज शर्माका अनुसार युरोपमा सबैभन्दा धेरै नेपाली बेलायतमा छन् । कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्या पनि यहाँ धेरै छ । शनिबारसम्म ३३ जनाको मृत्यु भएको छ भने एक हजार नेपालीमा संक्रमण देखिएको छ । 

कोरोना संक्रमणको आशंका लागे बेलायतमा फोनबाट डाक्टरसँग सल्लाह गर्ने गरिन्छ । सास फेर्न गाह्रो नहुने वेलासम्म अस्पताल लगिँदैन, घरमै आइसोलेसनमा बस्नुपर्छ । यस्ता बिरामीको आँकडा सरकारी तथ्यांकमा आउँदैन । त्यसैले बिरामी संख्या कम देखिएको अनुमान गरिएको छ । रेडिङ, प्लम्स्टिड, मेड्स्टोन, आसफोर्डलगायत क्षेत्रमा बसोवास गर्ने नेपाली संक्रमित रहेको, तर सरकारी तथ्यांकमा देखिएका छैनन् । 

संक्रमित व्यक्तिमा श्वास–प्रश्वासको समस्या देखिएपछि मात्रै एम्बुलेन्सले अस्पताल लैजाने गर्छ । त्यसपछिको उपचार भने निकै राम्रो छ । तर, घरमै बस्नुपर्ने हुनाले कतिपयलाई निकै सकस परेको छ । खास गरेर एकल व्यक्ति, बुढाबुढी र विद्यार्थी यस्तो समस्यामा परेका छन् । संक्रमित नेपालीमध्ये अधिकांश ज्येष्ठ नागरिक, लन्डनमा सार्वजानिक यातायात प्रयोग गर्ने, स्वास्थ्य सेवा र केयरहोममा काम गर्नेछन् । मृत्‍यु हुनेहरूमा एकजना ३२ वर्षकी युवती र एकजना ४५ वर्षका पुरुष छन्, बाँकी सबै ५५ वर्षभन्दा माथिका छन् । 

मृतक धेरैजसोको सरकारी तवरबाट नै अन्त्येष्टि गरिएको छ, केहीको मात्रै दुई–तीनजना आफन्तले लास बुझेर अन्तिम संस्कार गरेका छन् । परिवारको एकजनाको मृत्‍यु हुँदा अरू सबै आइसोलेसनमा बस्नुपर्ने नियमले गर्दा दाहसंस्कारमा समस्या देखिएको छ । 

बेलायतमा अहिलेसम्म करिब २० हजारजतिको अस्पतालमै मृत्‍यु भएको छ । त्यस्तै, रेसिडेन्सियल होम र केयरहोममा मृत्‍यु हुनेको संख्या एक हजार पाँच सय रहेको छ ।