मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७७ बैशाख १४ आइतबार ०६:५८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

ओम्नीसँग खरिद गरेका पोर्टेबल  मेसिनको गुणस्तरमा प्रश्न

गलत रिपोर्ट आएपछि प्रदेश २ ले बन्द गर्‍यो परीक्षण, अन्य तीनवटा प्रदेशमा पनि प्रयोगविहीन

Read Time : > 2 मिनेट
२०७७ बैशाख १४ आइतबार ०६:५८:००

कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि सरकारले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग खरिद गरेका पोर्टेबल पिसिआर मेसिनको गुणस्तरमा प्रश्न उठेपछि परीक्षण नै बन्द गरिएको छ । प्रदेश २ मा नमुना परीक्षणको रिपोर्ट नै गलत दिएपछि जनकपुर प्रादेशिक अस्पतालमा राखिएको मेसिन शुक्रबारदेखि बन्द गरिएको हो ।

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको एक व्यक्तिको नमुना सो ल्याबमा दुईपटकसम्म परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । तर, केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ल्याएर पुनः परीक्षण गर्दा पोजेटिभ आएपछि ओम्नीले ल्याएको पोर्टेबल पिसिआर मेसिनबाट परीक्षण नै बन्द गरिएको प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक रामविनय साहले बताए । 

‘एक युवकको आरडिटी परीक्षणमा कोभिड पोजेटिभ देखिएपछि गत बिहीबार जनकपुर प्रादेशिक अस्पतालको पोर्टेबल पिसिआर मेसिनमा परीक्षण गरियो । दुईपटक परीक्षण गर्दा पनि नेगेटिभ देखाएपछि शंका लागेर टेकु प्रयोगशाला पठायौँ,’ साहले भने, ‘टेकुको ल्याबले पोजेटिभ रिपोर्ट देखाएपछि पोर्टेबलको गुणस्तर छैन भनेर परीक्षण रोकेका हौँ ।’ सो मेसिनबाट प्रादेशिक अस्पतालमा अहिलेसम्म सयभन्दा बढीकोे स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । गुणस्तरहीन मेसिन भएकाले यसअघि गरिएका परीक्षण रिपोर्टमा शंका उब्जिएको साहले बताए । 

सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा र प्रदेश ५ को प्रदेश प्रयोगशालामा राखिएका पोर्टेबल पिसिआर मेसिन पनि बन्द भएका छन् । ठूलो पिसिआर मेसिन आएपछि पोर्टेबलबाट परीक्षण रोकिएको अस्पतालले जनाएका छन् । ठूलो पिसिआर मेसिन आएपछि तीन दिनदेखि पोर्टेबल मेसिन बन्द गरिएको प्रदेश ५ प्रयोगशाला प्रमुख राजेन्द्र गिरीले बताए । त्यस्तै, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको पोर्टेबल मेसिन पनि २० वटा परीक्षणपछि बन्द छ । 

कर्णालीको सुर्खेत अस्पतालमा मात्रै सञ्चालनमा छ । तर, प्रयोगशालाका स्वास्थ्यकर्मी नै परीक्षणमा भर नलागेको बताउँछन् । ‘विज्ञहरूले किनेर ल्याउनुभएको मेसिनमा हामीले बोल्न मिलेन,’ प्रयोगशालाका एक अधिकारीले भने, ‘त्यसैले हामीले गुणस्तरभन्दा पनि परीक्षणलाई ध्यान दिएर काम गरिरहेका छौँ ।’ 

चीनबाट ओम्नीमार्फत खरिद गरेर ल्याएका पाँच पोर्टेबल पिसिआर मेसिनको गुणस्तरसमेत नहेरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विमानस्थलबाटै पाँचवटा प्रदेशमा पठाएको थियो । एउटा मेसिनको २५ लाखका दरले चीनबाट खरिद गरिएको थियो । 

सरकारले कोरोनाको उपचारमा आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि २५ माघमा खोलेको टेन्डर करिब दुई महिनासम्म अलपत्र पारेर १४ चैतमा एकाएक रद्द गरी तीन घन्टामै ओम्नीलाई ठेक्का दिएको थियो । १५ चैतमा ओम्नीका लागि सरकारले नेपाल एयरलाइन्सकै जहाज चीन पठाएर १६ चैतमा काठमाडौंमा सामान ल्याएको थियो । 

तर, स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. खेम कार्की भन्छन्– ओम्नीले ल्याएको मेसिनको गुणस्तरमा प्रश्न उठाउनु नै गलत छ

परीक्षणमा नतिजा गलत दिएर प्रदेश २ ले बन्द नै गरेको अवस्थामा स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. खेम कार्की भने ओम्नीमार्फत ल्याएको पोर्टेबल मेसिनको गुणस्तरमा प्रश्न उठाउनु गलत भएको बताउँछन् । ‘पोर्टेबल पिसिआर मेसिनमा कसैले गुणस्तरको कुरा गर्छ भने त्यो गलत हो,’ उनले भने, ‘ठूलो मेसिन गएकाले बन्द गरिएको हो ।’

ठूला मेसिन हुँदाहुँदै अनावश्यक खर्च गरेर पोर्टेबल मेसिन किन खरिद गरियो त ? त्यतिवेला ठूला मेसिन भएको जानकारी कसैले नगराएकाले खरिद गरेको कार्की बताउँछन् । ‘हामीले खरिद गर्दासम्म कसैले पनि ठूला पिसिआर मेसिन छ भनेनन्, खरिद गरेर ल्याएपछि हामीसँग छ भन्नेहरू आए,’ उनले भने । सरकारले आफैँसँग भएका ठूला पिसिआर मेसिन खिया लागेर प्रयोगविहीन अवस्थामा थन्किएको समाचार नयाँ पत्रिकाले प्रकाशित गरेपछि मात्रै प्रदेशहरूमा पठाइएको थियो । 

प्रदेशले गलत रिपोर्ट दिएको भन्दै प्रश्न उठाएका पोर्टेबल मेसिन अहिले सबैभन्दा बढी संक्रमण देखिएको उदयपुरमा लैजाने तयारीमा सरकार छ । ‘यी बोकेर हिँड्न मिल्ने मेसिन हुन् । कुनै ठाउँमा तत्काल आवश्यक पर्‍यो भने लिएर जान मिल्छ । अहिले उदयपुरमा केस बढेको छ, त्यहाँ दुईवटा पठाउने भन्ने कुरा चलिरहको छ,’ कार्कीले भने । पोर्टेबल मेसिनले दैनिक १०–१५ र ठूला पिसिआर मेसिनले भने दिनमा सयभन्दा बढी नमुना परीक्षण गर्न सकिने उनले बताए ।