१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ बैशाख १३ शनिबार २०:३२:००
Read Time : < 1 मिनेट
समाचार

रारा राष्ट्रिय निकुन्जभित्रको रिसोर्टमा आगलागी

Read Time : < 1 मिनेट
२०७७ बैशाख १३ शनिबार २०:३२:००

मुगुस्थित रारा राष्ट्रिय निकुन्जभित्र रहेको भिलेज हेरिटेज एण्ड रिसोर्टमा शनिबार दिउँसो २ बजेतिर एक्कासि आगलागी हुँदा दुईतले भवनसहित रिसोर्टमा रहेको सबै धनमाल नष्ट भएको छ ।

निकुन्जको कार्यालयभन्दा ५० मिटर टाढा रहेको रिसोर्टमा शनिबार दिउँसो २ बजेतिर एक्कासि आगलागी हुँदा दुईतले भवनसहित भवनभित्र रहेका सबै जिन्सी सामान जलेर नष्ट भएको रारा राष्ट्रिय निकुन्ज कार्यालयका निमित्त संरक्षण अधिकृत यज्ञराज रोकायाले टेलिफोनमार्फत जानकारी दिए ।

आगलागी भएलगत्तै नजिकै रहेको श्रीदल गुल्मका सेना र निकुन्जका वनरक्षकहरूको टोली घटनास्थलमा पुगेका थिए । रिसोर्टमा लागेको आगो निकुन्जको वन क्षेत्रमा नसल्कियोस् भनेर सुरक्षाकर्मीले अग्निरेखा हालेर वन जोगाए पनि भवन पूर्ण रूपमा खरानी भएको छ । आगलागी करिब एक घन्टामा नियन्त्रणमा आए पनि भवनको धेरैजसो संरचना काठले निर्माण भएकाले जलेर खरानी भएको हो ।

नेपालकै ठूलो ताल प्रमुख पर्यटकीय स्थल रारा घुम्न आउने आन्तरिक ताथ बाह्य पर्यटकका लागि निकुन्जभित्र रहेका डाँफे होटेल र भिलेज हेरिटेज एण्ड रिसोर्टले बस्न र खान सेवा दिँदै आएका छन् । हेरिटेज रिसोर्टका सञ्चालक राजु कार्की हुन् । सदरमुकाम गमगढीबाट गएको प्रहरी घटनास्थलमा पुगेपछि विस्तृत अध्ययन हुने बताइएको छ ।

बिजुलीको तार सर्ट भएर आगलागी भएको भन्ने बताइए पनि प्रहरीले स्थलगत मुचुल्का तयार पारेपछि मात्र क्षतिको यकिन विवरण आउने प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए । गत बुधबार मात्र पनि छायानाथ रारा नगरपालिका– १४ बाम गाउँको एक घरमा आगलागी भएको थियो ।