मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन झा काठमाडौं
२०७७ बैशाख १३ शनिबार १७:१०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

यसरी ‘सेटअप’ मिलाउँदै छ जनता समाजवादी पार्टी 

नवगठित जनता समाजवादी पार्टी, नेपाल मुख्य चुनौती रहेको नेतृत्व व्यवस्थापनसँगै पार्टी संरचना मिलाउन जुटेको छ । शीर्ष नेतालाई फरक–फरक समितिको नेतृत्व, ५१ सदस्यीय पदाधिकारी समिति र सात सय वा आठ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने तय गरेको छ । 

Read Time : > 2 मिनेट
नवीन झा, काठमाडौं
२०७७ बैशाख १३ शनिबार १७:१०:००

राजपा र समाजवादी पार्टीबीच १० वैशाख मध्यराति एकाएक एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन भएसँगै नेतृत्व व्यवस्थापन पहिलो खुट्किलो बनेको छ । त्यससँगै पार्टी संरचना मिलाउन नयाँ पार्टी जसपालाई अर्को चुनौती रहेको छ । तथापि, जसपा नेताहरूले गृहकार्य सुरु गरेका छन् । टुटफुटका लागि बदनाम मधेसकेन्द्रित दलका नेताहरू पछिल्लो समय एकीकरणका लागि तल्लीन हुँदै आएका छन् ।

राजपा र समाजवादीबीचको एकीकरण त्यसैको पछिल्लो कडी हो, जसका लागि दुई वर्षदेखि गृहकार्य भइरहेको थियो । तर, नेतृत्व व्यवस्थापन नमिल्दा मूर्तरूप लिन सकिराखेको थिएन । पार्टी फुटाउन सजिलो हुने गरी सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै दबाब महसुस गरेका दुवै पार्टीले मध्यराति एकीकरण गरे ।

पार्टी फुट्नै लाग्दा भएको एकीकरणले तराई–मधेसमा उत्साह त थपेको छ, तर नेतृत्वदेखि कार्यकर्तासम्म व्यवस्थापनको जोखिम पनि उत्तिकै छ । समाजवादी फुटको प्रयास गरेका असन्तुष्ट नेता, एकीकरणमा मौन बसेका राजपा अध्यक्षमण्डलका सदस्य, दुवैतिरका शीर्ष नेता, नयाँ पार्टीको सचिवालय गठन, केन्द्रीय समितिको संख्यागत आकार, समाजवादी पार्टीले प्रयोग गरिरहेको संघीय परिषद्, संसदीय दलको नयाँ व्यवस्थापन र पार्टीका प्रदेश, जिल्ला, क्षेत्र तथा स्थानीय तहसम्मको संरचना समायोजन तदारुकतासाथ गर्नुपर्ने चुनौती जसपा नेताहरूको बुझाइ छ । 

कस्तो हुन्छ पार्टी संरचना ? 
समाजवादी पार्टीको केन्द्रीय समिति चार सय ३१ सदस्यीय र राजपा नेपालको सात सय ९४ सदस्यीय छ । राजपाको पदाधिकारी संख्या एक सय ३४ छ भने समाजवादीको २५ छ । अब जसपाको केन्द्रीय समिति, पदाधिकारीसहित अन्य संरचना कस्तो र कति संख्याको बन्ने भन्नेमा अहिलेको सहमति मौन छ । दुवै पार्टीको एकीकरण समान हैसियतमा हुने उल्लेख छ । त्यही भएर नयाँ पार्टीको चुनाव चिह्न राजपाको छाता लिइएको छ भने समाजवादीको झन्डा । 
नयाँ पार्टीको संरचनाबारे सहमतिमा केही उल्लेख नभए पनि यसअघि बनेका दुवैतिरका वार्ता समितिले धेरै विषय टुंग्याएका थिए । शीर्ष नेताको व्यवस्थापन र वरीयता नमिल्दा मात्रै एकीकरण प्रक्रिया अघि बढेको थिएन । 

समाजवादीका तर्फबाट राजेन्द्र श्रेष्ठ र राजपाका तर्फबाट राजेन्द्र महतोको नेतृत्वमा बनेको समितिले नयाँ पार्टीको केन्द्रीय सदस्य संख्या सात सय वा आठ सय ५० हुने तय गरेको स्रोतले बतायो । त्यस्तै, पदाधिकारी ५१ सदस्यीय बनाउने मोटामोटी सहमति भएको थियो । अहिले भएको सहमतिअनुसार वरीयतामा महन्थ ठाकुरलाई एक नम्बरमा राख्न दुवै पक्ष सहमत भएका छन् । त्यस्तै, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई दोस्रो, उपेन्द्र यादव तेस्रो र राजेन्द्र महतो चौथो वरीयतामा छन् । ठाकुरलाई राष्ट्रिय अध्यक्ष कि सर्वोच्च नेता राख्ने भन्नेमा छलफल जारी छ । 

दुवै पक्ष एउटा समितिमा एउटा अध्यक्ष राखेर शीर्ष नेतालाई व्यवस्थापन गर्ने बताउँछन् । ठाकुरको नेतृत्वमा राष्ट्रिय समितिहरू रहनेछन्, जसमा ११ प्रदेश (जसपाले विभाजन गरेको)का पदाधिकारी रहनेछन् । त्यस्तै, अहिले एक हजार सदस्यीय संघीय परिषद् दुई हजारसम्म बनाइने र त्यसको नेतृत्व डा. भट्टराईले गर्ने तयारी चलिरहेको छ । 

उपेन्द्र यादव अध्यक्ष रहने केन्द्रीय समिति सात सयदेखि आठ सय ५१ सदस्यीय हुन सक्ने नेताहरूको भनाइ छ । समाजवादी पक्षले सात सय र राजपाले आठ सय ५१ सदस्यीय प्रस्ताव गरेको छ । समाजवादीको हाल रहेको चार सय ३१ र त्यही बराबर राजपाका तर्फबाट सदस्य तय हुनेछन् । यसो गर्दा राजपाका केही केन्द्रीय सदस्य कटौतीमा पर्नेछन् । उनीहरूलाई संघीय परिषद्मा पठाउन दुवै पक्ष सहमत छन् । त्यस्तै, उपेन्द्र यादवको नेतृत्वमा कार्यकारी केन्द्रीय समिति रहेमा संसदीय दलको नेता राजपा पक्षलाई दिने सहमतिमा दुवै पक्ष देखिन्छन् । जसको नेतृत्व राजेन्द्र महतोले गर्नेछन् । 

त्यस्तै, पदाधिकारीमा दुवै पक्षबाट २५ र २६ राखिने भएको छ । समाजवादीमा २५ सदस्य भएकाले समस्या छैन भने राजपाले एक सय ३४ सदस्यबाट छनोट गर्नेछ । योभन्दा माथि एक सयदेखि एक सय ५१ सदस्यसम्म राजनीतिक समिति बनाउने कि भन्नेमा दुवै पक्षबीच छलफल चलिरहेको छ । केन्द्रमा व्यवस्थापनपछि प्रदेश, जिल्ला, क्षेत्र र स्थानीय तहमा समायोजन गरिने जसपा नेताहरू बताउँछन् । अन्य प्रदेशभन्दा पनि प्रदेश २ मा समायोजन गर्न चुनौती रहेको छ, जहाँ दुवै पार्टी बलियो स्थितिमा छन् । 

लकडाउनपछि केन्द्रीय समिति बैठक 
जसपाले सबैभन्दा पहिले दुवै पक्षको केन्द्रीय समिति बैठक बोलाउनु पर्नेछ । अहिले आवश्यक कागजात मिलाउने काम भइरहेको र लकडाउन खुकुलो हुनेबित्तिकै केन्द्रीय समिति बैठक बोलाउने तयारी भइरहेको छ । निर्वाचन आयोगसँग छलफलमा रहेका जसपा नेताहरू भिडियो कन्फरेन्सका माध्यमबाट बैठक गर्दा मान्यता मिल्यो भने त्यही गर्ने सुरसारमा छन् । ‘आठ सयलाई एक ठाउँमा राखेर बैठक गर्दा भिड हुने भएकाले हामी आयोगसँग यसबारेमा छलफल गरिरहेका छौँ,’ राजपाका महासचिव केशव झाले भने ।

आयोगको सल्लाहपछि के गर्ने भन्ने निष्कर्ष निकालिने झाले बताए । त्यस्तै, समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पनि लकडाउन खुकुलो भएपछि मात्रै नयाँ पार्टीको अन्य काम अगाडि बढ्ने बताए । श्रेष्ठले भने, ‘अहिले केही गर्न सक्ने अवस्था नै छैन । केही कागजी काम आपसी सल्लाहमा अहिले गरिरहेका छौँ ।’