मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
सागर चन्द काठमाडौं
२०७७ बैशाख १३ शनिबार ११:३३:००
Read Time : > 2 मिनेट
समाचार

फ्रन्टलाइनमा खटिएर काम गर्दै फोटो पत्रकार

आज ९३ औं राष्ट्रिय फोटो पत्रकार दिवस

Read Time : > 2 मिनेट
सागर चन्द, काठमाडौं
२०७७ बैशाख १३ शनिबार ११:३३:००

कोरोना संक्रमणको यो कहरमा पत्रकारहरू सक्रियताका साथ समाचार सम्प्रेषणमा लागेका छन् । आमनागरिकलाई सु-सूचित गराउन लागिपरेका पत्रकार पनि कारोनो संक्रमणबाट सुरक्षित भने छैनन् । छिमेकी देश भारतमा मात्र ५० भन्दा बढी पत्रकारमा कोरोना संक्रमण देखिएको छ । यस्तो अवस्थामा नेपाली फोटो पत्रकार कसरी काम गरिरहेका छन् त ?

‘मास्क, स्यानिटाइजरको प्रयोग र डिस्टेन्स मेन्टेन गर्दै काम गरिरहेका छौँ,' फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्की भन्छन् । करिब दुई दशकदेखि फोटो पत्रकारिकतामा सक्रिय कार्की नेपाली पत्रकार संक्रमणको उच्च जोखिममा रहेको बताउँछन्। किनकि कतिपय साथीहरूसँग पर्याप्त राम्रो मास्क, पञ्जा र स्यानिटाइजर समेत छैन।

पञ्जा र मास्कको अभाव खेपिरहेकी फोटो पत्रकार सुनिता डंगोलले लकडाउनको एक महिनापछि मात्र मास्क, पञ्जा र स्यानिटाइजर पाइन् । डंगोल सुनाउँछिन्, ‘मसँग पञ्जा र मास्क अभाव थियो । हिजो मात्र पिजे क्लबले ती सामग्री उपलब्ध गराएको छ ।’ अधिकांश सञ्चारमाध्यमले वर्क फ्रम होमको नीति लिएका छन् । तर, फोटो पत्रकारलाई भने वर्क फ्रम होम असम्भव छ । अस्पताल, क्वारेन्टाइन तथा संक्रमित भएको स्थानमा फोटो खिच्न जाने पत्रकारले मानसिक दबाब पनि महसुस गरेको सुनाउँछन् फोटोपत्रकार  ।

मास्क, स्यानिटाइजर र पञ्जाको भरमा फिल्डमा खटिरहेका फोटो पत्रकार चन्द्र आलेलाई लकडाउनको पहिलो हप्तामा खुबै डर लागेको थियो । आठ वर्षदेखि फोटो पत्रकारिकता गरिरहेका आले भन्छन्, ‘महामारीमा पत्रकारिताको यो पहिलो अनुभव हो । सुरुसुरुमा त डर लाग्यो नि, अहिले अब डर लाग्न छाड्यो,' उनी भन्छन् । फोटो खिच्दा दूरी कायम गर्ने, मान्छेहरूको सम्पर्कमा नआउने, मास्क, पञ्जा र स्यानिटाइजरको निरन्तर प्रयोग गरेपछि आफ्नो डर कम भएको आलेकाे भनाइ छ।

१३ वर्षदेखि फोटो पत्रकारिता गरिरहेका रोशन सापकोटालाई महामारीको समयमा पत्रकारिता गर्न युद्धमैदानमा गएको सिपाहीजस्तै लागेको छ । सापकोटा भन्छन्, ‘अहिले त हामी युद्धमा गएजस्तै भएका छौँ । जताततै जोखिम छ ।’

‘अरूवेलाको भन्दा यो ऐतिहासिक काम हो । यस्तो समयमा हामी थप जिम्मेवार बन्नुपर्छ,’ आले भन्छन् । सामान्य सुरक्षा सामग्रीको अभावमा फिल्डमा खटिएका फोटो पत्रकारहरू आफूलाई संक्रमणको डरले निद्रासमेत लाग्न छाडेको बताउँछन् । 

‘अस्पताल र र्‍यापिड गरेको ठाउँमा जानुपर्छ । हरेक साँझ घर फर्केपछि केही भइहाल्छ कि भनेर कहिलेकाहीँ त निद्रा पनि लाग्दैन,’ फोटो पत्रकार अंगद ढकाल भन्छन् ।

घन्टैपिच्छे परिवर्तन भइरहने मौसमले ल्याउने मौसमी फ्लुले पनि पत्रकारलाई तर्साउँछ । ‘घाम, पानी, हावाले गर्दा सामान्य रुघा, खोकी लाग्दा पनि तनाव हुन्छ, ’ सुनिता डंगोल भन्छिन् ।

सही सूचना सम्पेषण गर्ने, संक्रमणबाट जोगिने पिरसँगै फोटो पत्रकारले पारिवारिक दबाबकाे पनि सामना गरिरहेका छन् । महामारीको समयमा दिनहुँ घरबाहिर निस्केर काम गर्दा अधिकांश फोटो पत्रकारका परिवारले चिन्ता गर्छन् । काम नगर्न पनि भन्छन् । 

‘परिवारले पनि सुरुसुरुमा त बाहिर नजाऊ, किनजानु पऱ्यो काम नगरे हुन्छ भनेका थिए,’ कार्की भन्छन्, ‘तर, अहिले हामी सुरक्षित भएर काम गर्छौं भनेपछि परिवारले मानेका छन् ।’

परिवारको चिन्ता र आफ्नो तनावका बाबजुद पनि आफ्नो पेसागत दायित्वमा खटिरहेका छन् फोटो पत्रकार ।‘ घरपरिवारको चिन्ता, आफ्नो तनावकाबीच पनि हामीले हाम्रो उत्तरदायित्व त निर्वाह गर्नैपर्छ,’ सापकोटा भन्छन् ।

संक्रमणबाट जोगिन फोटो पत्रकार फिल्डमा मात्र होइन, घरमा गएपछि पनि सचेत हुन्छन् । हरेक दिन फिल्डबाट घर गएपछि लगाएका कपडा बाहिरै राख्ने,  संक्रमणबाट आफू र आफ्नो परिवारलाई जोगाउन क्यामेरामा स्यानिटाइजर स्प्रे गर्ने, घाममा सुकाउने गर्ने गरेको बताउँछन् फोटो पत्रकार ।

यी तमाम सावधानीका बाबजुद पनि फोटो पत्रकारहरू हुलमुलमा गएर फोटो खिच्छन् । संक्रमणको उच्च जोखिम भएका बस्तीमा जान्छन् । संक्रमित मानिस राखिएका अस्पतालमा जान्छन् । दैनिक धेरै मान्छेको सम्पर्कमा आउँछन् । कोरोना महामारीबीच फोटो पत्रकार दिवसका दिन पनि फोटो पत्रकारहरू सूचना संकलन गर्नमै व्यस्त छन् ।

पिजे क्लबका सचिव ज्ञानेन्द्र कार्की भन्छन्, ‘कोरोनालाई मध्यनजर गरेर पिजे क्लबले फोटो पत्रकार र पत्रकारको परिवारलाई विशेष इन्सुरेन्सको व्यवस्था गरेको छ ।’  तस्बिर सौजन्य : पिजे क्लब