मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख १३ शनिबार १०:५५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कोरोना कहरले निम्त्याएको अनिद्रा समाधान गर्न अपनाऔँ यस्ता उपाय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख १३ शनिबार १०:५५:००

लकडाउनको समयको ठूलो समस्या बनेको छ, अनिद्रा । बढी फुर्सदले गर्दा मानिसको शारीरिक परिश्रम शून्यप्रायः छ । जसले गर्दा उनीहरूमा थकान र त्यसपछिको मीठो निद्रा भागेको छ । अनिद्राको समस्या समाधान गर्न अपनाउनुहोस् यस्ता उपाय :

सुत्ने र उठ्ने रुटिन मिलाउने

कोरोना भाइरस (कोभिड–१९)को महामारीअघि सामान्य तालिकामा जीवन चलिरहेको थियो । बिहान उठ्यो, खाना खायो, अफिस गयो आदि । थकानले गर्दा साँझमा चाँडै निद्राले च्याप्थ्यो जुन अहिले उल्टिएको छ । विनाकुनै काम बिहान उठ्ने, खाना खाने र सुत्ने आराम यी सबैले रातको निद्रालाई बिथोलिएको छ । यसको समाधानका लागि उठ्ने र सुत्ने तालिका व्यस्थापन गर्न आवश्यक छ ।

दिउँसो सकेसम्म घरायसी काममा संलग्न रहनु उचित हुन्छ । पसिना निस्कने गरी व्यायाम गर्ने तथा दिनको समयमा सकेसम्म नसुत्दा राति निद्रा सहज रूपमा लाग्न सक्छ । बिहान उठ्ने र राति सुत्ने तालिका दैनिक पालन गर्न सके अझ प्रभावकारी हुन्छ । 

घाममा बस्ने

हाम्रो शरीरमा ‘मेलाटोनिन्’ भन्ने तत्व हुन्छ जसले निद्रा लगाउँछ । जति ‘मेलाटोनिन्’को मात्र बढी हुन्छ उति नै बढी निद्रा लाग्छ । तर, उज्यालोमा यो मात्रा घट्ने गर्छ । लकडाउनको यस अवधिमा घरभित्रै रहँदा घामको प्रकाशबाट वञ्चित भइन्छ । यसले ‘मेलाटोनिन्’को मात्रालाई यथावत् राख्छ । यसले गर्दा दिउँसो पनि निद्रा लाग्न सक्छ । दिउँसो केही समय घाम ताप्ने गरेमा ‘मेलाटोनिन्’को मात्रा घट्छ । यसरी दिउँसोको छोटो निद्राबाट टाढा रहँदा राति अनिद्राको समस्या हुने सम्भावना कम हुन्छ । 

अनिद्राबाट बच्न घरायसी काममा संलग्न रहने वा पसिना निस्कने गरी व्यायाम गर्ने गर्नुपर्छ । दिनको समयमा सकेसम्म नसुत्दा राति निद्रा सहज रूपमा लाग्न सक्छ । 

त्यस्तै, राति सुत्ने वेलाको समयमा मोबाइल र बत्तीको किरणले ‘मेलाटोनिन्’मा असर गर्छ । सुत्ने समय मोबाइल कम चलाउने वा मोबाइलको ब्राइटनेस कम गर्ने गर्नुपर्छ, साथै अनिद्रा भगाउन बत्ती बालेरभन्दा अँध्यारोमा सुत्नु उपयुक्त हुन्छ । 

तनाव नलिने

अहिलेको समयमा धेरैलाई फेक न्युज तथा सामाजिक सञ्जालमा आउने अफवाहले असर गर्छ । जसले गर्दा, दिक्दारी र अनावश्यक तनाव पैदा हुन्छ । यी पनि अनिद्राका प्रमुख कारण हुन् । हालको अवस्थामा तनाव हुनु स्वाभाविकै पनि हो । तर, सुत्ने समयमा यस्ता तनावलाई सामान्य ढंगमा लिनुपर्छ र दिमागलाई आराम दिनुपर्छ । जसबाट मीठो निद्रा सम्भव हुन्छ । 

दिउँसो बेडमा कम समय बिताउने

फुर्सदको समयमा धेरैलाई दिउँसोे निद्रा लाग्ने र सुत्ने बानी हुन थालेको छ । दिउँसोको छोटो निद्राले पनि रातमा अनिद्रा हुन सक्छ । सकेसम्म, दिउँसो नसुत्ने र ‘बेडरुम’बाट टाढै रहने । कारण, सुत्नेकोठा वा ‘बेड’को ‘साइकोलोजिकल’ प्रभाव निद्रासँग जोडिएको हुन्छ, बरु घर वा कोठाका अन्य कुनै स्थानमा समय व्यतित गर्नु उचित हुन्छ । 

घरबाटै कार्यालयका काम गर्नेका लागि कुन स्थानमा बसेर काम गर्दै हुनुहुन्छ त्यसले प्रभाव पार्छ । ‘बेडरुम’बाट केही खुला स्थानमा बसेर काम गर्नु उपयुक्त हुन्छ । 

मद्यपानको लतबाट टाढा रहने

लामो समयदेखि मद्यपान निद्राका लागि एक विकल्पका रूपमा प्रयोग हुँदै आएको छ । थोरै मात्रामा मद्यपानले निद्रालाई जगाउन सक्छ । यद्यपि, निद्रा लगाउनकै लागि मद्यपान गर्नाले भने विस्तारै जुन प्रणालीमा शरीर र सुत्ने सिस्टम चलेको छ, त्यसमा नकारात्मक प्रभाव पार्न थाल्छ । यसकारण, निद्रा लगाउनकै लागि मद्यपानको बानी पार्नुहुन्न । 

(एजेन्सीको सहयोगमा)