सहकारीले १५ दिनसम्म कर्मचारी जगेडामा राख्न पाउने
बचत तथा ऋण सहकारी संस्थाहरूले अधिकतम १५ दिनसम्म कर्मचारी जगेडामा राख्न पाउने भएका छन् । कोरोना संक्रमणका कारण संस्थाले नयाँ कार्यक्रम सञ्चालन गर्न नसक्ने भएमा १० जनाभन्दा बढी कर्मचारी भएको संस्थाले कर्मचारी जगेडामा राख्न पाउने भएका हुन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन)ले महामारीमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न र जनशक्तिको व्यवस्थापनलाई सरलीकृत गर्न सहकारी संघसंस्थाहरूमा जनशक्ति तथा सुशासन व्यवस्थापन मार्गदर्शन– २०७७ जारी गर्दै उक्त व्यवस्था गरेको हो । मार्गदर्शनअनुसार महामारीको समयमा काम गर्ने जनशक्तिहरूका लागि आवश्यक आधारभूत स्वास्थ्य सुरक्षा (पिपिई, स्यानिटाइजर, मास्क, चस्मा, सुरक्षित कार्यस्थल)को प्रबन्ध गर्नुपर्नेछ ।
महामारीको समयमा कार्यस्थलमा नियमित खटिने कर्मचारीहरूको थप बिमा, प्रोत्साहन भत्ता, यातायात साधन, आवागमन अनुमति प्रबन्ध, आवश्यक सञ्चार खर्चजस्ता न्यूनतम व्यवस्था गर्नुपर्नेछ । गर्भवती महिला, नियमित औषधि सेवन गरिरहेका जनशक्तिहरूलाई महामारीको समयमा परिचालन गर्न पाइनेछैन ।
नियमित काममा रहेको समयमा कर्मचारीहरूमा स्वास्थ्य समस्या देखिएमा सो समस्या समाधान गर्दा भएको खर्च संस्थाले नै व्यहोर्नुपर्नेछ । संस्थाको दैनिक क्रियाकलापलाई नियमित गर्न मुख्य जिम्मेवारीमा रहेका व्यक्तिहरू कार्यालयमा उपस्थित हुन नसक्ने अवस्थामा अख्तियारी प्रत्यायोजन गर्नुपर्नेछ ।
बचत तथा ऋण सहकारी संस्थाहरूको बचत लकडाउनका कारण ऋणात्मक भएमा कर्मचारीको सुविधा कटौती गर्न पाउने भएका छन् । नेफस्कुनले जारी गरेको मार्गदर्शनका अनुसार कर्मचारीहरूको आधारभूत तलबमान (तलब स्केल र ग्रेड)बाहेक अन्य सुविधाहरू पुनरावलोकन गर्न सकिनेछ ।
महामारीको अवस्था, सरकारको निर्देशन, स्थानीय तह र प्रशासनले जारी गरेका निर्देशनहरू, सहकारी सञ्जालको मार्गनिर्देशन नियमित अध्ययन र विश्लेषण गरी आवश्यक समन्वयमा सेवा प्रवाहका विधि तय गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।