मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १२ शुक्रबार १४:२४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

कोरोना महामारी नियन्त्रणमा मात्रै ध्यान केन्द्रित गर्न राष्ट्रिय सभा दिगो विकास समितिद्वारा सरकारलाई निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १२ शुक्रबार १४:२४:००

राष्ट्रिय सभाको दिगो विकास समितिले कोरोना महामारी नियन्त्रणमा मात्रै ध्यान केन्द्रित गर्न सरकारलाई निर्देशन दिएको छ । विश्वमहामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) संक्रमणको जोखिम रहेका वेला महामारी नियन्त्रणका लागि अन्यत्र ध्यान नदिन समितिले निर्देशन दिएको हो । अहिलेको समयमा सबै एकजुट भएर काम गर्नुबाहेक अन्य विकल्प नभएको समिति सभापति तारादेवी भट्टले बताइन् । 

सरकारको ध्यान कोभिड– १९ मा मात्रै हुनुपर्ने उनकाे भनाइ छ ।  संविधान र जनताको इच्छाविपरीत जाने अधिकार कसैलाई पनि नभएको उल्लेख गर्दै समिति सभापति भट्टले सरकारलाई कोरोना नियन्त्रणमा मात्रै ध्यान केन्द्रित गर्न निर्देशन दिइन् । उनले भनिन्, ‘एकजुट भएर काम गर्ने वेला हो । यसको अरू विकल्प नै छैन । एउटा मात्रै हाम्रो फोकस कोभिड– १९ हो । यस्तो वेलामा गुट, टुटफुटको अवस्था हुनुहुँदैन भन्ने ध्यानाकर्षण गराउँछु । यस्तो वेलामा एकजुट हुनैपर्छ । संविधानको मर्म र जनताको इच्छाविपरीत जाने अधिकार कसैलाई पनि छैन भन्ने कुरामा सरकारको ध्यानाकर्षण पनि गराउँछु ।’

शुक्रबार बसेको समिति बैठकमा सांसद दीनानाथ शर्माले सीमानामा रहेका नागरिकहरूलाई सुरक्षित रूपमा देश भित्र्याउन माग गरे । जनताको भोट र नोट (रोमिट्यान्स) लिने सरकारले उनीहरूको जीवनमाथि खेलवाड गर्न नहुने उनले बताए । सीमापारि रहेका नागरिकको भोटबाट जितेका स्थानीय तहका प्रतिनिधिहरू नागरिकप्रति गैरजिम्मेवार हुन नपाउने उनले बताए । ‘सीमापारि रहेका नेपालीलाई भित्र्याउनुपर्छ । उनीहरूको भोट र नोट मिठो हुने । ती नागरिकहरूलाई हामीले सुरक्षित रूपमा लिएर उपचार गरी राख्ने व्यवस्था गर्नुपर्छ । हामी आफ्ना नागरिकप्रति गैरजिम्मेवार बन्यौँ ।’

सांसद शारदा भट्टले महामारीको समयमा राहत वितरणमा पक्षपात भएको र कुहिएको चामल वितरण भएका खबर आएकाले यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताए । अहिलेको समयमा नेपाली दाजुभाइ मिलेर एक–अर्कालाई सहयोग गर्ने वेला भएकाले जुटेर कोरोनाका सामना गर्नुपर्ने उनले बताए । सांसद गंगाकुमारी बेल्बासेले विश्वका अरू देशको अवस्था हेर्दा नेपालमा कोरोना नियन्त्रणको अभ्यास र प्रयास राम्रो भएको बताइन् ।  विश्वका शक्तिशाली मुलुकहरूमा भयावह अवस्था हुँदा नेपालमा त्यस्तो अवस्था नभएकाले सबैलाई आत्मबल मिलेको उनले बताइन् । 

सांसद विमला राई पौडेलले लकडाउनका कारण अत्यावश्यक काममा हिँडेका सर्वसाधारणलाई समस्या भएको बताइन् । समितिले सुदूरपश्चिमका विकट जिल्लाहरूमा किटको अभाव भएको, स्वास्थ्यकर्मीहरूका लागि अति आवश्यक स्वास्थ्य समग्रीको अभाव भएको बताएको छ । सरकारले सुदूरपश्चिममा ३३ जना चिकित्सक पठाए पनि बाजुरामा एकजना चिकित्सक पनि नपुगेकोप्रति समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

योभन्दा पहिले बाजुराका विकट गाउँपालिकामा नियुक्ति लिएका चिकित्सक पनि त्यहाँ जान नमानेकोप्रति समितिले सरकारको ध्यानाकर्षण गराएको हो । स्थानीय तहका अस्पताल र अन्य स्वास्थ्य संस्थाहरूको भौतिक संरचना पर्याप्त नभएको र केही स्थानीय तहले  कुहिएको खाद्यान्न वितरण गरेको तथा कम तौल भएका खाद्य पदार्थ वितरण गरेको गुनासोहरू आएकोप्रति पनि समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।