१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १२ शुक्रबार १४:१७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

भूकम्पको पाँच वर्ष पूरा : पुनर्निर्माणको काम भने अझै बाँकी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १२ शुक्रबार १४:१७:००

०७२ सालमा गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पको पाँच वर्ष पूरा भएको छ । गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भएर ०७२ साल वैशाख १२ गते आजकै दिन ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी देशभर आठ हजार सात सय ९० मानिसको मृत्यु भएको थियो । यस्तै २० हजारभन्दा बढी नागरिक घाइते भएका थिए । भूकम्पका कारण गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर गरी १४ जिल्लामा सबैभन्दा धेरै क्षति भएको थियो । भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो । 

भूकम्पबाट मानवीय क्षतिसँगै घर, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सार्वजनिक भवन, सडक, खानेपानीलगायतका पूर्वाधारमा खर्बौं रुपैयाँबराबरको क्षति भएको थियो । भूकम्पबाट आठ लाखभन्दा बढी निजी घर, सात हजार पाँच सय ५३ विद्यालय, एक हजार एक सय ९७ स्वास्थ्य संस्था, नाै सय २० सम्पदा, चार सय १५ सरकारी भवन, दुई सय १६ वटा सुरक्षा निकायका संरचना, सात सय ६२ किलोमिटर सडक र एक हजारभन्दा बढीको संख्याका खानेपानी आयोजनामा क्षति पुगेको थियो । खर्बौंको नोक्सानी हुने गरी क्षति भएका भौतिक संरचनाहरूको पुनर्निर्माणको काम भूकम्प गएको पाँच वर्ष पुग्दासमेत सम्पन्न हुन सकेको छैन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अहिले सम्म ४ लाख ९४ हजार ४४ निजी आवास निर्माण भइसकेको र १ लाख ९० हजार एक सय ४५ पुनर्निर्माणको चरणमा रहेको गरी ८८ प्रतिशत प्रगति भएको जनाएको छ । तर, अझै पनि करिब ७० हजार निजी आवासको प्रबलीकरणको काम भने बाँकी छ । यस्तै, अहिलेसम्म ७४ प्रतिशत विद्यालय अर्थात् पाँच हजार पाँच सय ९८ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको र एक हजार चार सय ९२ विद्यालय पुनर्निर्माणको क्रममा रहेको प्राधिकरणले जनाएको छ । 

एक हजार एक सय ९७ क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये अहिलेसम्म ६ सय ६९ वटाको पुनर्निर्माण सम्पन्न भएको छ भने एक सय ४५ पुनर्निर्माणको चरणमा छन् । ३२ जिल्लामा क्षतिग्रस्त नाै सय २० सम्पदामध्ये चार सय दुईवटाको मात्र पुनर्निर्माण सम्पन्न भएको छ भने एक सय ४१ पुनर्निर्माणको चरणमा छन् । तर, महत्वपूर्ण धरोहरहरू धरहरा, रानीपोखरी, काष्ठमण्डप, सिंहदरबार, नुवाकोट दरबारलगायतका सम्पदाहरूको पुनर्निर्माणको काम भने अझै बाँकी छ । 

चार सय १५ सरकारी भवनमध्ये तीन सय ४९ वटाको पुनर्निर्माण भएको छ । ४९ वटा पुनर्निर्माणको चरणमा छन् । यस्तै, एक सय ९४ सुरक्षा निकायका संरचनाको पुनर्निर्माण सम्पन्न भइसकेको र २२ वटा पुनर्निर्माणको चरणमा छन् । यस्तै, सात सय ६२ किलोमिटर सडक पुनर्निर्माण गर्नुपर्नेमा अहिलेसम्म चार सय ४३ किलोमिटर सडकको पुनर्निर्माण सम्पन्न भइसकेको छ । यस्तै, खानेपानीतर्फ एक हजार खानेपानी योजनाको पुनर्निर्माण सम्पन्न भएको छ भने एक सयवटा पुनर्निर्माणको चरणमा रहेको प्राधिकरणले जनाएको छ ।