Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ बैशाख १२ शुक्रबार ०७:१२:००
Read Time : > 1 मिनेट
समाचार

पाँच हजार पाँच सय ९८ विद्यालय पुनर्निर्माण

Read Time : > 1 मिनेट
२०७७ बैशाख १२ शुक्रबार ०७:१२:००

विनाशकारी भूकम्पबाट भत्किएकामध्ये पाँच हजार पाँच सय ९८ अर्थात् ७४ प्रतिशत विद्यालय पुनर्निर्माण सम्पन्न भएको छ । निर्माण गर्नुपर्ने कुल पाँच हजार पाँच सय ५३ मध्ये अहिले एक हजार चार सय ९२ निर्माणाधीन छन् भने चार सय ६३ विद्यालय पुनर्निर्माणका लागि छनोट मात्र भएका छन् ।

चालू आर्थिक वर्षमा निर्माणाधीन एक हजार चार सय ९२ विद्यालयमा कतै लकडाउनका कारण र कतै निर्माण सामग्री नहुँदा काम रोकिएको छ । पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का आयोजना उपनिर्देशक ई. दिलीपशेखर श्रेष्ठले लकडाउनले १८ चैतदेखि विद्यालय पुनर्निर्माण ठप्प भएको बताए । भारतबाट आएका कामदार फर्किएको र निर्माण सामग्रीसमेत पाउन छाडेपछि पुनर्निर्माण ठप्प भएको उनले बताए । स्थानीय सरकारले अनुमति दिएका नुवाकोट, धादिङ, रामेछाप र दोलखामा केही ठाउँमा काम पछिसम्म भए पनि सामग्री अभावले रोकिएको बताए ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का अनुसार १२ वैशाख ०७२ को भूकम्पबाट ३१ जिल्लामा सात हजार नौ सय २३ विद्यालयमा क्षति पुगेको थियो । ती विद्यालयको २१ हजार एक सय ६९ कक्षाकोठा पूर्ण रूपमा, १२ हजार पाँच सय २२ कक्षाकोठा अधिक र १५ हजार नौ सय ९० कक्षाकोठा आंशिक क्षति पुगेको थियो । भूकम्पले भत्किएकामध्ये केही विद्यालय मर्ज भइसकेका छन् भने तीन सय ५० विद्यालयसँग भवन निर्माणका लागि पर्याप्त जग्गा छैन । एकदमै न्यून संख्या भएका विद्यालयसमेत पुनर्निर्माणको प्राथमिकतामा छैनन् । अब पुनर्निर्माण गर्नुपर्ने कुल विद्यालयको संख्या चार सय ६३ छ । विद्यालय पुनर्निर्माणमा केही चुनौती भए पनि थोरै समयमा धेरै काम गर्न सफल भएको पुनर्निर्माणका अधिकारीले दाबी गरेका छन् । केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का आयोजना उपनिर्देशक श्रेष्ठले छोटो समयमा गुणस्तरीय पुनर्निर्माण गर्नुपर्ने जिम्मेवारी पूरा गरेको बताए । भूकम्प गएको एक वर्षपछि मात्र विद्यालय पुनर्निर्माण सुरु भएको थियो ।

सबैभन्दा बढी काम विद्यालय व्यवस्थापन समितिमार्फत

निर्माणसम्बन्धी सबैभन्दा धेरै काम विद्यालय व्यवस्थापन समितिमार्फत भएका छन् । पाँच हजार पाँच सय ९८ मध्ये विद्यालय व्यवस्थापन समितिमार्फत चार हजार पाँच सय ५३ विद्यालय बनेका छन् । यसैगरी, ठेकेदारमार्फत चार सय ११ र गैरसरकारी संस्थामार्फत ६ सय ३४ पुनर्निर्माण सम्पन्न भइसकेका छन् । निर्माणाधीन विद्यालय पनि व्यवस्थापन समितिमार्फत नै धेरै छन् । समितिमार्फत एक हजार दुई सय २०, ठेकेदारमार्फत एक सय ९१ र गैरसरकारी संस्थामार्फत ८१ विद्यालय निर्माण भइरहेका छन् । विद्यालय व्यवस्थापन समितिमार्फत काम गर्न तीन सय ६५, ठेकेदारमार्फत ८९ र एनजिओमार्फत निर्माणका लागि छनोट भएका छन्, तर सुरु भएको छैन ।

विदेशबाट फर्केका २० हजारलाई विद्यालय निर्माणमा लगाइँदै

कोरोना भाइरस संक्रमणका कारण विदेशमा रोजगारी गुमाएका नेपालीलाई पुनर्निर्माणमा लगाउने तयारी भएको छ । खाडी मुलुकसहितका देशबाट फर्किएका करिब २० हजारलाई तीन सय ६५ दिन नै विद्यालय पुनर्निर्माणमा काम दिन सक्ने उपनिर्देशक श्रेष्ठले बताए । सीप भएका र नभएका दुवै किसिमका कामदार गरी करिब २० हजारलाई काम दिन सक्ने आकलन गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा जानकारी गराएको उनले बताए । उनले भने, ‘बजेट हुनुपर्‍यो, जनशक्तिका कारण पुनर्निर्माणलाई असर पर्दैन ।’ विद्यालय व्यवस्थापन समितिमार्फत हुने काममा धेरै अवसर रहेको उनले बताए । निर्माण गर्नुपर्ने विद्यालयमध्ये ७४ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ भने २० प्रतिशत निर्माणाधीन छन् । ६ प्रतिशत विद्यालयको निर्माण सुरुसमेत भएको छैन ।