१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कृष्ण रिजाल काठमाडौं
केदार दाहाल काठमाडौं
२०७७ बैशाख १२ शुक्रबार ०६:२८:००
Read Time : > 3 मिनेट
अर्थ

 कोभिड–१९ को असर : १० खर्ब लगानी भएको होटेल व्यवसायले ९० प्रतिशत आम्दानी गुमाउने, बैंकको १ खर्ब कर्जा जोखिममा

Read Time : > 3 मिनेट
कृष्ण रिजाल, काठमाडौं
केदार दाहाल, काठमाडौं
२०७७ बैशाख १२ शुक्रबार ०६:२८:००

भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर नेपालमा होटेल क्षेत्रमा ठूलो लगानी आयो, मारियट, अलफ्टजस्ता चेन नेपाल भित्रिए, सेराटन, हिल्टनजस्ता ठूला होटेल निर्माणाधीन छन्, तर कोरोना महामारीले होटेल व्यवसायले ९० प्रतिशत आम्दानी गुमाउनेछ, बैंकबाट लिएको १ खर्ब रुपैयाँभन्दा बढी कर्जा होटेल व्यवसायीले बुझाउन सक्नेछैनन्, जसले बैंकिङ क्षेत्रलाई पनि प्रभावित गर्नेछ।

...............................

कोभिड–१९ को असरका कारण होटेल व्यवसायमा लगानीकर्ताको १० खर्ब लगानी मात्रै होइन, बैंकको १ खर्बभन्दा बढी कर्जा पनि जोखिममा पर्ने भएको छ । भ्रमण वर्ष २०२० लाई समेत लक्ष्यित गर्दै उत्साहित भएर लगानीकर्ताले गरेको ठूलो लगानी कोरोनाका कारण जोखिममा परेको हो । सन् २०२० मा होटल व्यवसायको ९० प्रतिशत आम्दानी गुम्ने आँकलन व्यवसायीहरूको छ । एक वर्षमा होटल व्यवसायीहरूले करीब १ खर्ब आम्दानी गुमाउने होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले बताए । यो क्षेत्रमा करिब १० खर्ब रुपैयाँ लगानी छ । त्यसमध्ये १ खर्ब ६ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको ऋण लगानी छ । 

‘अहिलेको अवस्थामा पनि ९० प्रतिशत आम्दानी घटेको अवस्था छ,’ शाहले भने, ‘सरकारले जोखिम आकलन गर्न नसके धेरै होटेल बन्द हुन्छन् ।’  

‘कोरोनाको असर रहिरहे होटेल व्यवसायीले कर्मचारीलाई तलब दिन नसक्ने मात्र होइन, बैंकको ऋणसमेत तिर्न नसक्ने जोखिम बढेको छ,’ अलफ्ट काठमाडौंका प्रवद्र्धक सुमन पाण्डेले भने । सार्स संक्रमणको जेखिमका कारण सन् २००३ देखि २००५ सम्म संसारभरका पर्यटन क्षेत्रमा असर गरेको थियो । नेपालमा पनि होटेल क्षेत्रको ५० प्रतिशत आम्दानी घटेको थियो । त्यसवेला नाम चलेका होटेल सार्सकै असरबाट प्रभावित भएर बन्द गर्नुपर्ने अवस्था आएको थियो । 

‘त्यसवेला पनि आम्दानी घटेको र कर्मचारीको व्यवस्थापन गर्न नसकेपछि आधा दर्जन ठूला होटेल बन्द भएका थिए,’ हानका प्रथम उपाध्यक्ष शाहले भने । त्यसवेला ३० वर्ष पुराना होटेल नारायणी, ब्लुस्टार, शेर्पा, उडल्यान्डलगायत बन्द भएका थिए । कर्मचारी व्यवस्थापनकै चुनौतीका कारण होटेल बन्द गर्नुपरेको थियो । ‘अहिलेको अवस्थामा पनि ९० प्रतिशत आम्दानी घटेको अवस्था छ,’ शाहले भने, ‘सरकारले जोखिम आकलन गर्न नसके धेरै होटेल बन्द हुन्छन् ।’  

होटेल क्षेत्रमा भएको लगानीको अहिले मूल्यांकनमा १० खर्ब लगानी रहेको अनुमान गरिएको छ । ‘देशभर होटेलमा भएका पुराना र नयाँ सबै गर्दा १० खर्ब लगानी भएको हाम्रो तथ्यांक हो,’ शाहले भने । सन् २०२१ सम्म पर्यटक प्रभावित हुने भएपछि होटेल क्षेत्रको मात्रै १ खर्बभन्दा बढी गुम्ने अनुमान गरिएको शाहको भनाइ छ ।  

नयाँ लगानीकर्ता मारमा

पछिल्लो समय नयाँ होटेलमा लगानी ह्वात्तै बढेको थियो । पछिल्लो समयमा मात्रै काठमाडौंमा होटेल मारियट, होटेल अलफ्टलगायत ठूला होटेल सञ्चालनमा आएका थिए । निर्माणका चरणमा रहेका शेराटन, डबल ट्री बाइ हिल्टनलगायत होटेलहरू थप अन्योलमा परेका छन् । ‘नयाँ लगानीकर्ता झनै मारमा परेका छन्,’ अलफ्ट होटेलका प्रवद्र्धक पाण्डेले भने, ‘निर्माणका चरणमा रहेका लगानीकर्ता अन्योलमा छन् ।’ सन् २०२० भित्रै २० वटा पाँचतारे होटेल सञ्चालनमा आउने गरी निर्माणको अन्तिम चरणमा थिए ।  

कर्मचारी व्यवस्थापन मुख्य चुनौती

होटेल क्षेत्रको सबैभन्दा बढी खर्च कर्मचारीमा हुने गरेको छ । व्यवसायीका अनुसार होटेल क्षेत्रको आम्दानीको ४० प्रतिशत खर्च कर्मचारी व्यवस्थापनमा हुन्छ । अन्य खर्च भनेको कर, ऋणको ब्याज, विद्युत्, फोहोर व्यवस्थापनलगायत मर्मत खर्चमा जान्छ । ‘कम्तीमा पनि ७ देखि ८ महिना कर्मचारीलाई तलब खुवाउन नसक्ने देखियो, यसको व्यवस्थापनमा सरकारले चासो दिएको छैन,’ उपाध्यक्ष शाहले भने । चैतसम्मको तलब खुवाएको र अब वैशाख महिनाको तलब खुवाउन नसक्ने भएकाले तत्काल सबै निकायको समन्वयमा निर्णय हुनुपर्ने उनको भनाइ छ । 

११ लाख मजदुर होटेल क्षेत्रले मात्रै धानेको उल्लेख गर्दै जनशक्ति व्यवस्थापन नै मुख्य समस्या देखिएको हो । विश्व पर्यटक काउन्सिलको तथ्यांकअनुसार नेपाली पर्यटनमा अन्तर्राष्ट्रिय पाहुनाको हिस्सा ३५ प्रतिशत छ । ‘आन्तरिक पर्यटकले खासगरी काठमाडौंबाहिरका होटेललाई सहयोग गर्ने भए पनि काठमाडौंलाई छुँदैन,’ होटेल संघ नेपाल (हान)का द्वितीय उपाध्यक्ष प्रवीण पाण्डेले भने । काठमाडौंमा मात्रै पाँचतारे होटेल १० वटा छन् । नयाँ ठूला होटेलसमेत आउने क्रममा छन् । 

होटेलमा बैंकको लगानी 

चालू आर्थिक वर्षको आठ महिनासम्ममा होटेलमा बैंकिङ क्षेत्रको लगानी (कर्जा प्रवाह) १ खर्ब ६ अर्ब ९५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १७.१ प्रतिशत (१५ अर्ब ६५ करोड १६ लाख रुपैयाँ)ले बढी हो । गत आर्थिक वर्ष ०७५-७६ सम्ममा होटेलमा बैंकहरूको लगानी ९१ अर्ब ३० करोड रुपैयाँ थियो । जुन आव ०७४-७५ को भन्दा ३५.१ प्रतिशत (२३ अर्ब ७१ करोड)ले बढी भएको राष्ट्र बैंकको तथ्यांक छ ।  

यस वर्ष साढे ११ अर्बका ४६ होटेल दर्ता  

चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा उद्योग विभागमा ४६ होटेल तथा रेस्टुराँ दर्ता भएका छन् । दर्ता भएका होटेलको कुल लगानी ११ अर्ब ५६ करोड रुपैयाँ छ । यी होटेलले कुल १९ सय ९३ जनालाई रोजगारी दिने उल्लेख छ । दर्ता भएका होटेलमध्ये ६ वटा ठूला आकारका छन्, मझौला ३० वटा र साना १० वटा छन् । कुल होटेलमध्ये ३८ वटा होटेल शतप्रतिशत विदेशी लगानीका हुन् ।  

पूर्ण रूपमा पुनर्जीवित हुन २ वर्ष लाग्छ : शशिकान्त अग्रवाल सञ्चालक, मारियट होटेल 

कोरोना महामारीले सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन हो । यसमा पनि एयरलाइन्स, होटेललगायत क्षेत्रमा धेरै क्षति भएको छ । अझै कति प्रभावित हुने हो टुंगो छैन ।

समस्या चाँडै समाधान भए पनि यी क्षेत्रहरू पूर्ण रूपमा ‘रिभाइभ’ हुन २ वर्ष लाग्नेछ । विश्वव्यापी कोरोना महामारी पूर्ण रूपमा नियन्त्रण तथा रोकथाम नभएसम्म पर्यटन आगमन हुनेछैन । यसले गर्दा होटेल क्षेत्र अझ धेरै प्रभावित भइरहनेछ । हामीलाई बैंकको ऋण तथा ब्याज तिर्नसमेत समस्या छ ।

होटेल क्षेत्रको ब्याजलाई पुँजीकरण र साँवाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गरेर सहयोग गर्नेछौँ : भुवन दाहाल, अध्यक्ष
नेपाल बैंकर एसोसिएसन तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत

कोरोना महामारीका कारण मुलुकको पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ, अन्य उद्योग–व्यवसाय पनि प्रभावित भएका छन् । सबै क्षेत्रले अहिले बैंकबाट धेरै अपेक्षा गरेका छन्, तर बैंक आफैँ पनि समस्यामा छन्, बैंकलाई पनि जोखिम बढेको छ । चैतमा आउनुपर्ने ब्याज किस्ता असारमा आउनेछ, असारमा आउनुपर्ने साँवा–ब्याजको टुंगो छैन । बैंकमा खराब कर्जा (एनपिए) बढ्ने देखिन्छ । तर, यी सबै समस्याहरू हामीले मिलेर समाधान गर्नुपर्नेछ ।

राष्ट्र बैंकले अध्ययन गरिरहेको छ, हामी पनि त्यसमा सहभागी छौँ, त्यसले समस्या समाधानको उपाय खोजिनेछ । होटेललगायत क्षेत्रको रिभाइभ हुन एक–डेढ वर्ष लाग्ने नै छ । यस क्षेत्रलाई सकेसम्म कम ब्याजदरमा पुनर्कर्जा उपलब्ध गराउनुपर्ने हुन्छ । अहिले होटेललगायत अतिप्रभावित क्षेत्रलाई बैंकले ब्याजको पुँजीकरण तथा साँवाको पुनर्संरचना र पुनर्तालिकीकरण गरिदिएर मद्दत गर्ने हो । हामी यस क्षेत्रको कर्जा, त्यसको जोखिम र रिभाइभका विषयमा सचेत छौँ ।