मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ बैशाख ११ बिहीबार १७:२८:००
Read Time : < 1 मिनेट
समाचार

नेपालगन्ज र सुर्खेत एयरपोर्ट आसपासका होटेलमा दुई सय हुम्ली अलपत्र

Read Time : < 1 मिनेट
२०७७ बैशाख ११ बिहीबार १७:२८:००

सिमकोट गाउँपालिका– ५ का शिव रोकाया लकडाउनसँगै नेपालगन्जमै ‘लक’ भएका छन् ।

नेपालगन्ज एयरपोर्टनजिकैको एक होटेलमा बसेका उनी लकडाउन खुल्ला र घर जाउँला भन्दै बसे । ‘तर, महिना दिन भइसक्यो । लकडाउन खुल्ने छाँट छैन,’ उनले भने, ‘खर्च सबै सकियो । अब के गर्ने सोच्न पनि सकेको छैन ।’

रोकायाका अनुसार जिल्ला फर्कन भन्दै नेपालगन्ज र सुर्खेत आइपुगेका करिब दुई सयजना अलपत्र परेका छन् । उनीहरू सबै नेपालगन्ज र सुर्खेतको एयरपोर्टआसपासका होटेलमा छन् । काठमाडौं, बुटवल, पोखरालगायतका स्थानबाट जिल्ला फर्कने क्रममा रहेका उनीहरू लकडाउनका कारण जहाज बन्द भएपछि अलपत्र परेका हुन् ।

‘महिना दिनसम्म होटेलमा बस्दा पैसा सकिएर समस्या हुन थालेको छ,’ रोकायाले भने, ‘कसैले पनि उद्धारमा चासो देखाएनन् ।’ सिमकोट– ६ का जगदीश रावतको गुनासो छ, ‘अन्य जिल्लाका जनप्रतिनिधिले आफ्ना नागरिकको उद्धार गरिसके, तर हामी महिना दिनसम्म अलपत्र हुँदा पनि कतैबाट उद्धारको पहल नहुनु अत्यन्तै दुःखद कुरा हो ।’

जिल्ला प्रशासनमा निवेदन, तर सुनुवाइ भएन
नेपालगन्जमै अलपत्र परेका हुम्ली बालबालिकाको उद्धार गर्न आफन्तहरूले जिल्ला प्रशासन कार्यालयमा तीनपटक निवेदन दिइसकेका छन् । तर, प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले अहिलेसम्म उनीहरूलाई कुनै ठोस जवाफ दिएकी  छैनन् । उनी भन्छिन्, ‘उहाँहरू दिनहुँजस्तो आउनुहुन्छ । तर, के गर्ने कुनै टुंगो लाग्न सकेको छैन ।’

नेपालगन्जमा अलपत्र परेकाहरूका आफन्तहरूले स्थानीय तहहरूमा पनि पटक–पटक उद्धारका लागि आग्रह गरिसकेका छन् । तर, स्थानीय सरकारले पनि उद्धारका लागि पहल गरेको छैन । ‘एकातिर उद्धारको कुनै टुंगो छैन, अर्कोतिर आफूसँग भएको पैसा पनि सकिएर बेखर्ची भइसक्यौँ,’ शिव रोकायाले भने, ‘ऋणको भारी बोकेर जिल्ला फर्कनुपर्ने अवस्था आएको छ ।’