१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
वाङ वेनवेन
२०७७ बैशाख ११ बिहीबार ०७:३२:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

दोषारोपणको अमेरिकी–नीति अख्तियार गर्दै अस्ट्रेलिया

Read Time : > 1 मिनेट
वाङ वेनवेन
२०७७ बैशाख ११ बिहीबार ०७:३२:००

अमेरिकाको नक्कल गर्नु अस्ट्रेलियाका लागि सजिलो त होला, तर यसले उसको आफ्नै एसिया–नीति धर्मराएको छ

रुदेखि नै चिनियाँ प्रविधिको अग्रणी हुवेईको फाइभ–जी नेटवर्कको सफलतालाई चीनको बढ्दो विश्वव्यापी प्रभावसँग जोडियो । अमेरिका र पश्चिमाको प्रभावमा धेरै मुुलुकमा यसलाई प्रतिबन्ध गर्ने काम भइरहेको छ । ताकि यसले चीनको राजनीतिक प्रभावमा असर पुर्‍याओस् । अहिले पछिल्लो समय कोभिड–१९ संकट दौरान अस्ट्रेलियाले पनि आफ्नो स्वतन्त्र अन्तर्राष्ट्रिय नीतिलाई तिलाञ्जली दिँदै अमेरिकाको दोषारोपणको नीति अवलम्बन गरेको छ ।

विश्व कोरोना महामारीबाट गुज्रिरहेको छ । यस्तो समयमा समेत अस्ट्रेलियाले अमेरिकाको इसारा र समर्थनमा काम गर्न छाडेको छैन । अमेरिकाले पटक–पटक चीनले कोरोना भाइरस फैलाएको आरोप लगाउँदै आएको छ । र, यही अमेरिकी आरोपलाई मलजल गर्दै अस्ट्रेलियाका परराष्ट्रमन्त्री म्यारिस पायनेले यही आइतबार भाइरसको विषयलाई लिएर चीनको पारदर्शितामाथि प्रश्न उठाएकी थिइन् । चीनमा भाइरस कसरी उत्पन्न भयो भन्ने विषयमा अन्तर्राष्ट्रियस्तरबाट छानबिन गरिनुपर्ने माग उनले गरेकी थिइन् । उनको अन्तर्राष्ट्रियस्तरबाट छानबिन गरिनुपर्ने माग कुनै नौलो विषय थिएन, किनकि चीनले यही कुरो भाइरस संकटको सुरुदेखि अहिलेसम्म अमेरिकी राष्ट्रपति र अन्य राजनीतिक नेताबाट पटक–पटक सुन्दै आइरहेको छ । 

अस्ट्रेलियाले अमेरिकी स्वार्थको कठपुतली बन्नुको साटो एसिया प्यासिफिक क्षेत्रको सामूहिक हितको नेतृत्व लिनुपर्छ । अहिलेको टड्कारो आवश्यकता भनेको कोरोना भाइरसविरुद्धको सामूहिक प्रयास हो । यो अमेरिका र यसका सनकी राष्ट्रपतिको दोषारोपणको राजनीतिलाई मलजल गर्ने समय होइन ।

अमेरिकाको नक्कल गर्नु अस्ट्रेलियाका लागि सजिलो त होला, तर के उसको आफ्नै एसिया नीति अझ भनौँ, चीनप्रतिको द्विदेशीय सम्बन्धचाहिँ केही पनि होइन ? अस्ट्रेलिया एसिया–नीतिलाई पुनः सशक्तीकरणतिर डोर्‍याउन खोजिरहेको थियो । तर, यो असफल भएजस्तो छ । चीनसँको रणनीति नै अस्ट्रेलियाको मुख्य एसिया रणनीति हो । चीनसँगको सम्बन्ध र रणनीतिमुताबिक नै सिंगो एसियासँगको यसको रणनीति निर्भर रहन्छ । त्यस्तै चीन अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापार साझेदार मात्र होइन, सबैभन्दा अत्यधिक विदेशी पर्यटकको स्रोत मुलुक पनि हो । त्यसैले चीनलाई अलग्याएर लिइने उसको कुनै पनि विदेश–नीति खासै अर्थपूर्ण देखिँदैन ।

यद्यपि पछिल्ला वर्ष अस्ट्रेलियामा चीनको परिचर्चा आकासिएको छ । अस्ट्रेलियामाथि चुनौती त सिर्जिदैन भनेर चीनलाई त्यत्तिकै सशंकित ढंगले हेर्ने पनि गरिएको छ । त्यसैले पनि अस्ट्रेलियन राजनीतिज्ञहरू चीनबाट अलग्गिँदै अमेरिकी स्वार्थअनुकूल नीति अवलम्बन गर्दै छन् । यदि अस्ट्रेलियाले स्वविवेक प्रयोग नगरी स्वतन्त्रसँग चीन–अस्ट्रेलिया सम्बन्धलाई प्राथमिकता दिँदैन भने ऊ आफैँ अमेरिकी स्वार्थको सिकार बन्नेछ ।

चीन र अस्ट्रेलियाबीच परस्पर समझदारीको अभाव छ । एसिया प्यासिफिकको एउटा हिस्सा भएको नाताले अस्ट्रेलियाले एक कदम अघि बढेर चीनसँग नजिकिँदै एसियन मामलामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । तर, अहिले पनि ऊ अमेरिकाको एसिया नीतिकै पछि लागिरहेको छ । र, यसैको प्रभावका आधारमा अस्ट्रेलिया चीनप्रति सदैव सशंकित देखिँदै आएको छ ।

केहीको तर्क छ, अमेरिका स्वार्थी मुलुकको नाइके बन्दै छ । यदि अस्ट्रेलिया पनि तिनीहरूमध्ये एउटा हिस्सा भइहाले पनि निश्चय नै अमेरिका कहिल्यै अस्ट्रेलियन स्वार्थअनुसार चल्नेछैन । बरु चीनले एसिया प्यासिफिक क्षेत्रमा दबदबा कायम गर्नुको साटो यहाँको सामूहिक समुन्नतिमा जोड दिँदै आएको छ । अस्ट्रेलियाले पनि अमेरिकी स्वार्थअनुकूल रणनीतिको कठपुतली बन्नुको साटो यस क्षेत्रको सामूहिक हितको नेतृत्व लिनुपर्छ । अहिलेको टड्कारो आवश्यकता भनेको कोरोना भाइरस संक्रमणविरुद्धको सामूहिक प्रयास हो । यो अमेरिका र यसका सनकी राष्ट्रपतिको दोषारोपणको राजनीतिलाई मलजल गर्ने समय होइन ।

(वेनवेन लेखक तथा ग्लोबल टाइम्सकी संवाददाता हुन्)
ग्लोबल टाइम्सबाट